चितवन विशेष

‘नेपो मसंग जब फेयर’ असार २८ मा हुँदै, एक हजार सहभागि हुने अपेक्षा

Banner

चितवन, असार २६–

चितवनमा निजी क्षेत्रबाट पहिलो पटक आयोजना हुन लागेको ‘नेपो मसंग जब फेयर–२०२२’ (रोजगार मेला)मा एक हजार जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।
आयोजक मसंग जबले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै ७ सयदेखि एक हजार जनाको सहभागिता रहने जानकारी दिएको हो ।

यस मेलामा चितवनका विद्यार्थी तथा उचित कामको खोजीमा रहेका सम्पूर्ण व्यक्तिहरुको उपस्थिति रहने मसंग जबका प्रमुख पवन थापाले जानकारी दिए । ‘हामीले चितवन भित्र रोजगारीका लागि विशेष प्राथमिकता दिएर यो मेला गरेका हौं, आशा छ एक हजार भन्दा बढीले मेलास्थलमै अन्तरवार्ता दिएर जागिरका लागि बाटो खोल्नुहुनेछ’–थापाले भने ।

नेपो फिनिसिङ इण्डष्ट्रीजको प्रायोजनमा यही असार २८ गते भरतपुरस्थित सिजी फर्न रिसोर्ट सिजी ल्याण्डमार्क एक दिने ‘नेपो मसंग जब फेयर–२०२२’ हुन लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपो फिनिसिङ इण्डष्ट्रीजका कार्यकारी प्रमुख नारायण कंडेलले चितवनमा रोजगारीको अवसर सिर्जना गर्न मेला गर्न लागिएकोले सहकार्य गरिएको बताए । चितवनमा अझै पनि दक्ष कामदारको अभाव रहेको भन्दै यस मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुलाई जोड्ने पुलको काम गर्नेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नेपोकै अर्का कार्यकारी प्रमुख सूर्य कंडेलले यस्ता कार्यक्रमहरुले रोजगारीका लागि कोही पनि भौतारिन नपर्ने बताए ।

मेला विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म संचालन हुनेछ । यस रोजगार मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कम्पनीहरु नेपो फिनिसिङ इण्डष्ट्रीज, सिजी हस्पिटालिटी, क्लासिक टेक नेटवर्क, मनकामना ग्रुप, माई स्पेस, दि कार्पेन्टर, रोयल पेन्ट्स, सुबिसु, रिजाल फूड जस्ता चितवनलगायत देशभरका १८ वटा कम्पनीहरुको प्रत्यक्ष सहभागि रहने थापाले जानकारी दिए ।

चितवन लगायत देशका विभिन्न ठाउँहरुमा रोजगारीको अवसर खोजि रहेका नवप्रवेशी लगायत उपयुक्त कम्पनीको खोजीमा रहेको सम्पूर्ण व्यक्तिहरुलाई ‘नेपो मसंग जब फेयर–२०२२’ (रोजगार मेला) एक कोसे ढुङ्गा साबित हुने आयोजकले अपेक्षा गरेको छ । । यस मेलामा प्रवेश निःशुल्क गरिएको छ । जागिरको खोजीमा रहेकाहरुले तत्कालै निश्चित प्रक्रिया पुरा गरि सोही ठाउँमै अन्तरवार्ता दिन सक्ने छन् । कम्पनीको आवश्यकता अनुसार सबै कुरा मेल भएमा त्यतिबाट आवश्यक कर्मचारी छनोट समेत गरिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>