राजनीति

गिरिजालाई मैले प्रधानमन्त्री बनाएँ, मलाई गिरिजालेः माधव नेपाल

Banner

रूपन्देही असार २५-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको बताएका छन् ।
उनलाई आफूले प्रधानमन्त्री बनाएपछि कोइरालाले इमानदारीसाथ पालो दिएको बताएका हुन् ।

‘जनआन्दोलनपछि म प्रधानमन्त्री हुने सहमति थियो । तर, मैले उहाँलाई बनाएँ । त्यसको गुण उहाँले मलाई प्रधानमन्त्री बनाएर दिनुभएको थियो’, बुटवलमा शनिबार आयाजित पत्रकार भेटघाटमा नेता नेपालले भने, ‘उहाँमा राजनीतिक इमानदारी थियो ।’उनले पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउँदै आगामी निर्वाचनमा त्यो निरन्तर रहने जनाए । अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।

एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनको भनाइ छ ।उनले भने, ‘स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ । महानगर र उपमहानगरसहित धेरै ठाउँमा विजयी भएको छ । हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं । अझै सफलता पाउनेछौं ।’

नेता नेपालले निर्वाचनमा आफूहरुमाथि षड्यन्त्र भएकोसमेत उल्लेख गरे । उनले भने, ‘हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं । गठबन्धन माध्यम थियो । निर्वाचनको सुरुदेखि नै षड्यन्त्र भयो । मतपत्रकै कारण धेरै मत बदर भए । हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>