गण्डकी

पर्यटन पूर्ववत् अवस्थामा फर्कने आशामा पोखराको पर्यटन

Banner

गण्डकी, असार २०-

“कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् ।
कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।।
कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल
नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जंगल ।।
सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा
तर सम्पूर्ण शोभाले परिपूर्णछ पोखरा ।।”

कवि मुकुन्दशरण उपाध्यायको वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भनेजस्तै पोखरा आफैँमा सबै किसिमले पूर्ण सहर हो । गण्डकी प्रदेशको राजधानीसमेत रहेको प्राकृतिक सौन्दर्यताको खानी पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाले सङ्घीय सरकारसँग माग गरिसकेका छन् ।

स्वदेशमा मात्र नभई विदेशमा पनि चासो र चर्चा कमाएको पोखराको प्रमुख आकर्षण भनेको पर्यटन नै हो । पर्यटन यहाँको प्रमुख व्यवसायका रुपमा स्थापित बनिसकेको छ । पर्यटनलाई लक्षित गरी पोखरामा ठूलो लगानी भइसकेको छ ।

कोरोना कहरका कारण शिथिल अवस्थामा पुगेको पर्यटनको विकल्प केवल पर्यटन नै हो भन्ने आत्मविश्वासका कारण ठूलै मारमा परेका यहाँका व्यवसायी आशा र विश्वासका साथ पर्यटनमा निरन्तर लागेका छन् । यसअघि सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्दा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भौतिक पूर्वाधारमा लगानी गर्न गरेको आग्रहलाई दृष्टिगत गरेर तत्कालीन समयमा उत्साहित बनेका यहाँका पर्यटन व्यवसायीले कोरोना पूर्वको बीचको समयमा पनि ठूलै लगानी गरे ।

गण्डकी प्रदेश सरकारको गण्डकी प्रदेश भ्रमण वर्ष जस्ता कार्यक्रमले पनि लगानी बढ्दै गएका अवस्थामा दुई वर्षयता देखिएको कोरोना कहरले भने यहाँका पर्यटन व्यवसायी नराम्रोसँग मारमा परेका छन् । कोरोनाले कतिपयलाई व्यवसाय नै परिवर्तन गर्नेतर्फ पनि सोच्न बाध्य बनायो ।

अधिकांशले कोरोनाविरुद्धको खोप लगाइसकेका अवस्थाका साथै पछिल्लो समयमा देखिएको पर्यटकको आगमनले पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने अपेक्षा गरिएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो । “आगामी दिनमा पर्यटन व्यवसाय पुनःफस्टाउने कुरामा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “यसबीचमा छिमेकी मुलुक भारत र देशकै विभिन्न स्थानबाट आएका पर्यटकका कारण यहाँको सम्भावना अझै छ भन्ने आत्मविश्वास जगाएको छ ।”

पोखरा दृश्यावलोकनसँगै साहसिक पर्यटनको पनि गन्तव्य हो । यहाँ सञ्चालन हुने प्याराग्लाइडिङ, बञ्जीजम्प, जीपलाइन आदिले स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउने गरेको छ । पोखराको आकाशमा फेवातालमाथि हावामा कावा खाँदै भरपुर मनोरञ्जन लिइने प्याराग्लाइडिङ होस् या यहाँ वरपर सञ्चालन भएका बञ्जीजम्प, जीपलाइन, स्वीङ आदिले पर्यटकलाई निकै आकर्षित गरेको छ ।

पछिल्लो समयमा विदेशी पर्यटक मात्र नभई आन्तरिक पर्यटक पनि साहसिक पर्यटनका गतिविधिमा आकर्षित बन्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समयमा वर्षात् सुरु हुनुअघि प्याराग्लाइडिङमा देखिएको आकर्षणले आफूहरू उत्साहित बनेको उहाँले बताउनुभयो ।
पोखरा महानगरपालिका–१८ स्थित सराङकोटको डाँडाबाट उडान भरेर फेवाताल

किनारमा अवतरण गरिने प्याराग्लाइडिङमा युवादेखि वयस्कसम्मको रुचि रहने गरेको छ । पछिल्ला वर्षमा प्याराग्लाइडिङ मनोरञ्जनको साधनसँगै खेलकूद विधाका रुपमा स्थापित भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङलाई समावेश गर्ने गरिएको छ ।

पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा रहेका छन् भने ३५० हाराहारीमा नेपाली पाइलट छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनका लागि सराङकोटबाट गर्दै आइएको प्याराग्लाइडिङ सार्नुपर्ने कुराले भने आफूहरू चिन्तित बनेको उहाँले बताउनुभयो । पोखरामा साहसिक पर्यटनको आकर्षणका रुपमा रहेको प्याराग्लाइडिङबारे राम्रोसँग सोच्नु जरुरी रहेको उहाँको भनाइ छ ।

पोखरामा पर्यटक लक्षित होटल तथा पूर्वाधारसँगै सुविधा सम्पन्न सवारी साधन पनि रहेका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटकलाई आवतजावत गराउने सुविधा सम्पन्न सवारीसाधन थपिनेक्रम पनि त्यहीअनुरुप बढेको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुभयो ।

उहाँका अनुसार पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन रु ३५ लाखका कारदेखि सुविधा सम्पन्न रु डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । स्वदेशी या विदेशी पर्यटक पोखरा र आसपासका पर्यटकीय गन्तव्य पुग्न सुविधासम्पन्न सवारीसाधन प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घसँग हाल विभिन्न क्षमताका ४०० पर्यटक सवारीसाधन आबद्ध छन् । कोरोना कहरले लामो समयसम्म थन्कनु परेका पर्यटक यातायातका साधनले पछिल्ला समयमा भने काम पाउन थालेका छन् । गत चैतयता झण्डै साढे दुई महिनासम्म पोखरामा भारतीय पर्यटकको राम्रो आगमन भएको होटल एलेगेन्ट, गौरीघाट लेकसाइडका सञ्चालकसमेत रहेका गुरुङले बताउनुभयो । “भारतीय पर्यटकको आगमनले पोखराको पर्यटनमा सकारात्मक सङ्केत दिएको छ”, गुरुङले भन्नुभयो, “आगामी सेप्टेम्बरपछि पोखरामा विदेशी पर्यटकको राम्रो आगमन हुने आशा एवं विश्वास जगाएको छ ।”

पोखरामा नेपाली नयाँ वर्षका अवसरमा पनि आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिएको थियो । पोखरामा पर्यटकको आकर्षणलाई कायमै राख्ने गरी यहाँका पर्यटन सम्बद्ध संस्थाले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएका छन् । सबै मौसममा पोखरा भन्ने नारालाई चरितार्थ पार्न पोखरा पर्यटन परिषद्ले बर्सेनि असार १५ गते गर्दै आएको असारे रोपाइँ महोत्सव हालै सम्पन्न भएको छ । पोखराको हेम्जामा आयोजित महोत्सवमा स्वदेशी एवं विदेशी पर्यटकको उल्लेख्य उपस्थिति थियो ।

एक साता घिसम्म छिमेकी मुलुक भारतबाट राम्रै सङ्ख्यामा पर्यटक भित्रिएको पश्चिमाञ्चल होटेल सङ्घ ९हान० पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । कोरोनाका कारण लामो समयसम्म सुनसान बनेका यहाँका होटलमा भारतीय पर्यटकको आगमनले क्षमताको झण्डै ५० प्रतिशत होटल भरिभराउ भएको उहाँले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार पोखरामा होटलमा मात्रै करिब रु पौने चार खर्ब बराबरको लगानी भैसकेको छ । पोखरामा पर्यटकस्तरीय होटलको सङ्ख्या एक हजार २०० को सङ्ख्यामा रहेको बताउँदै सुवेदीले लेकसाइड र ड्यामसाइड क्षेत्रमा मात्रै ७०० को सङ्ख्यामा होटल रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा पाँचतारे दुई वटा होटलसहित अन्य तारे होटलको सङ्ख्या १८ वटा रहेका छन् ।

पर्यटन व्यवसायीका अनुसार यसपटक नेपालको सीमा नजिकैको क्षेत्र उत्तर प्रदेश, विहारलगायतका क्षेत्रबाट ठूलै सङ्ख्यामा पर्यटक पोखरा आएका छन् । पोखरा आएका भारतीय पर्यटक यहाँको दृश्यावलोकनसँगै कतिपय मुक्तिनाथसम्म पुगेर फर्कने गरेको व्यवसायीले बताए ।

सन् १९६० देखि हिप्पी पर्यटकको आगमनबाट सुरु भएको पोखराको पर्यटनमा पछिल्ला वर्षमा पूर्वाधार थपिनेक्रम बढरहेको यहाँका व्यवसायी बताउँछन् । पूर्वाधार विकासकै क्रममा पछिल्ला समयमा पुम्दीकोटमा बनेको विशाल महादेव मूर्तिसहितका संरचना आदिले यहाँका गन्तव्यस्थलमा समेत वृद्धि भएको छ । पछिल्ला समयमा पोखराको सेदी–राङकोट केबुलकारसहित विभिन्न पूर्वाधारमा ठूलै लगानी भएको छ ।

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यको पोखरामा बास भएसँगै यो क्रमशः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको हो । इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेको र हिप्पी पर्यटकको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि विस्तारै फस्टाउन थालेको हो ।
पोखराको पर्यटनमा यसअघि भूकम्प, नाकाबन्दी, हुदहुद ९एक खालको हिमआँधी०, अन्नपूर्ण क्षेत्रका हिमपहिरोजस्ता विभिन्न चुनौतीको सामना गर्नुपरेका अवस्थामा पछिल्लो समयमा कोरोना भाइरसले नराम्रोसँग प्रभाव पारेको नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो ।

कोरोनाले थलिएको पोखराको पर्यटन गत चुनावका आसपासको समय निकै राम्रो देखिएको बताउँदै होटल एडमायर पोखरा, गैरीखेतमार्गका सञ्चालकसमेत रहेका पाण्डेले आगामी सेप्टम्बरपछि पोखराको पर्यटन पूर्ववत् अवस्थामा फर्कने अपेक्षा गरिएको बताउनुभयो ।

पोखरा आउने पर्यटकले फेवातालमा डुबुल्की मारेजस्तै देखिने माछापुच्छ«े हिमालसहितको दृश्य अवलोकनसँगै आसपासका लेखनाथ क्षेत्रका बेगनास, रुपालगायतका तालतलैयाको अवलोकन गर्ने गरेका छन् ।

त्यस्तै सराङ्कोटबाट सूर्योदयको अवलोकनसँगै प्याराग्लाइडिङ, जिपलाइन आदि गर्ने गर्दछन् । पोखराका प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल विन्दुवासिनी, तालबाराही, भद्रकाली आदिको दर्शनसँगै हालै पुम्दीकोटमा बनेको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपसँगै काहुँ धरहरा आदिको अवलोकन गर्दछन् । पोखराका पातले छाँगो, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा आदि यहाँका पर्यटकीय आकर्षण रहेका हुन् ।

माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकनसँगै साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकको रोजाइमा पोखरापर्ने गरेको छ । नयाँ वर्ष, चाडपर्व तथा लामो समयका बिदाका समयमा देशका विभिन्न भागबाट आन्तरिक पर्यटक दुई÷चार दिन पोखरा बिताउन आउनेक्रम पछिल्ला वर्षमा बढेको पाइन्छ । पोखरालाई मुख्य आधार बनाएर गरिने अन्नपूर्ण चक्रीय पदमार्ग, मर्दी हिमाल, पुनहिल आदि स्थानमा पदयात्रामा जाने पर्यटकले आउँदाजाँदा यहाँ केही दिन बिताउने भएका कारण पनि पोखरा पर्यटकको रोजाइमा पर्ने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>