चितवन विशेष

भरतपुरको ग्लोरियस स्कूलका विद्यार्थीलाई निर्वाचन शिक्षा, विद्यालय नेता छान्न मतदान

Banner

चितवन,असार १०-

चितवनको एक स्कूलमा राष्ट्रिय निर्वाचनको झल्को दिने गरी आज (शुक्रबार) निर्वाचन गरिएको छ । विभिन्न सदनका लागि छुट्टाछुट्टै लाइन, मतदाता नामावली, निर्वाचन अधिकृतको कार्यालय, मतपेटिका, गोप्य मतदान गर्ने स्थान तथा मतदाताको नामावली रुजु गर्ने अधिकारीहरू पनि भएको राष्ट्रिय निर्वाचनको जस्तै संरचना र तयारी गरिएको थियो ।

भरतपुर महानगरपालिका–४ स्थित ग्लोरियस एकेडेमीका विद्यार्थीहरू निर्वाचनमा भाग लिइरहेका थिए । निर्वाचन अधिकृत, मतदाता, पर्यवेक्षण र प्रतिवेदन तयार पार्ने जिम्मा पनि विद्यार्थीलाई दिइएको थियो । विभिन्न समूहमा विभाजित भएर विद्यार्थीले निर्वाचनका लागि गर्नुपर्ने सबै भूमिका निर्वाह गरिरहेका देखिन्थे ।

सामाजिक शिक्षामा पढेको निर्वाचन शिक्षालाई प्रयोगात्मक रूपमा बुझाउनुको साथै विद्यार्थीलाई निर्वाचन र मतदानको प्रत्यक्ष अनुभव गराउने उद्देश्यले राष्ट्रिय निर्वाचनकै जस्तै गरी निर्वाचन गराइएको स्कूलकी प्रिन्सिपल सारदा ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘मतको कति महत्व छ भन्ने कुरा सानैदेखि सिकाउने उदेश्यले स्कूल निर्वाचन गराएका हौं,यसअघि पनि हुने निर्वाचन कार्यक्रम यसपटक परिमार्जन सहित गरेका छौं ।’ उहाँले यसपटक निर्वाचन आयोगले गर्ने आम निर्वाचन जसरी स्कूल निर्वाचन गरिएको बताउनुभयो । ‘निर्वाचन मार्फत हरेक विद्यार्थीलाई मतको महत्व वुझाएका छौं । उनिहरु मार्फत अभिभावक पनि मतदानबारे जानकार हुनेछन, मत बदर नहुने गरी मतदान गर्न सिकाएका छौं’,उहाँले भन्नुभयो ।

शुक्रबारको मतदानका लागि एक साता अघिदेखि विद्यार्थीहरू निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । समर्थक र प्रस्तावकसहित विद्यार्थीले असार १ गते उम्मेदवारी दिएका थिए । ३ गते उम्मेदवारी फिर्ता, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ६ गते चुनाव चिन्ह वितरण, ६ गतेदेखि ८ गतेसम्म चुनाव प्रचार प्रसार अभियान, ९ गते मौन अवधि र १० गते मतदानको कार्यक्रम सार्वजनिक गरिएको थियो । निर्वाचन प्रक्रियाबाट कुनै पनि पदमा चयन हुँदा विद्यार्थीले निर्वाचन शिक्षाको व्यवहारिक ज्ञान पाउनुको साथै स्वच्छ प्रतिष्पर्धा प्रणालीको अनि अभ्यास हुने विश्वास स्कूलले लिएको स्कूल संचालक समितिका अध्यक्ष तोरण ढकालले जानकारी दिनुभयो । विद्यालयमा अनुशासन कायम गराउँदै अतिरिक्त क्रियाकलापमा सहभागिताका लागि स्वःजिम्मेवार महशुस गराउने उद्देश्यसाथ सृजना गरिने विभिन्न पदमा शिक्षकले नाम तोक्नुभन्दा निर्वाचन पद्धतिबाट चयन गर्दा स्वतन्त्र,पारदर्शी हुनुको साथै विद्यार्थीले निर्वाचन शिक्षाको व्यवहारिक ज्ञान पनि लिन पाउनेछन्,ढकालले भन्नुभयो ।

अभिभावकले मात्रै निर्वाचनमा मत खसाल्ने गरेको अनुभव लिएका विद्यार्थी मत खसाल्दा दंग भएका थिए । निर्वाचन शिक्षाको प्रयोगात्मक अभ्यास गर्न पाउँदा उनिहरु खुसी छन् ।

विभिन्न पदका लागि कक्षा ३ देखि कक्षा १० सम्मका करिब ३३ विद्यार्थीले १० पदका लागि उम्मेदवारी दिएका छन् । विद्यालय नेताको एक पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् भने विद्यालय उपनेताको १ पदका लागि पनि ५ जनालेनै उम्मेदवारी दिएका छन् ।

यस्तै पहेलो सदनको नेता पदका लागि ४ जना र उपनेता पदका लागि २ जनाले उम्मेदवारी दिएका छन् । रातो सदनको नेताका लागि ४ र उपनेताका लागि २ जना,हरियो सदन नेताका लागि ४ र उपनेताका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । निलो सदनको नेताका लागि २ र उपनेताका लागि २ जनाले उम्मेदवारी दिएको ग्लोरियस एकेडेमिका मिडिया व्यवस्थापक अमृत ढकालले जानकारी दिनुभयो । सवै सदनको नेता र उपनेता एक÷एक जना निर्वाचित हुने उहाँले बताउनुभयो ।

कुल मतदाता संख्या ५४१ मध्ये पहेंलो सदनमा ११२, रातो सदनमा १४४, हरियो सदनमा १३५ र निलो सदनमा १५२ जना विद्यार्थी सहभागी छन् । २०६६ सालमा स्थापना भएको स्कूलले यसबर्षदेखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराउने तयारी गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.