नवलपुर

गैँडाकोट बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

Banner

गैँडाकोट,असार १०-

गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । बिहीबार नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि तयार गरी भत्ता उपलब्ध गराइने गैँडाकोट नगरका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताए।

त्यस्तै नगरपालिकाले आमा घर कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । विशेषगरी गैँडाकोट ३ र १८ का गर्भवतीको सुविधाको लागि सुत्केरी हुने मितिभन्दा एकहप्ता पहिलेदेखि नै आमालाई त्यस्तो घरमा बस्ने व्यवस्था गरिने, सुत्केरी भएपछि पनि बस्न दिइने र पोषिलो खाना उपलब्ध गराइने छ । गैँडाकोट नगरपालिकाको नीति तथा कार्यक्रममा ‘सुत्केरी आमाः पोषिलो खाना’ कार्यक्रमलाई प्रभावकारी बनाउनाका साथै गर्भवती तथा सुत्केरीको स्वास्थ्य सेवामा पहुँच पुर्याउन प्रत्येक स्वास्थ्य संस्थाबाट गर्भवती र उत्तरप्रसूति सेवा प्रदान गरिने बताइएको छ ।

गर्भवतीको सुविधाको लागि नगरपालिकाको वडा नं ३ र १८ स्थित नगर अस्पतालमा आमा घर सञ्चालन गरी सेवा दिइने उल्लेख गरिएको छ । गैँडाकोट स्वास्थ्यचौकीलाई नगर अस्पतालको रुपमा स्तरोन्नतिका लागि पहल गर्ने र वडा नं १६ मा रहेको अमरापुरी स्वास्थ्यचौकीलाई स्तरोन्नति पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन गैँडाकोट स्वास्थ्यचौकीबाट बीमा सिफारिस कार्यक्रम अगाडि बढाउन पहल गरिने र नगर अस्पतालबाट प्रदान भइरहेको बाहिरङ्ग सेवा निःशुल्क गरी नगर अस्पतालमा टेलिमेडिसिन सेवा स्थापना गरिने, गर्भ परीक्षणमा लाग्ने शुल्क निःशुल्क गर्दै पायक पर्ने स्थानमा बर्थिङ सेन्टर सञ्चालन गरिने र नेपाल सरकारबाट तोकिएका सम्पूर्ण औषधि निःशुल्क वितरण गर्ने व्यवस्थालाई व्यवहारमा लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>