Breaking News

भरतपुर महानगरलाई अहिलेसम्मकै ठूलो सफलता, अरबौं मूल्यको जग्गा प्राप्त

Banner

चितवन, असार ९–

भरतपुर महानगरपालिकाले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ । चितवनको मुटु भरतपुरमा रहेको अरबौं मूल्यको जग्गा महानगरले प्राप्त गर्न सफल भएको छ ।

भरतपुर–१० स्थित हाईटमा नेपाल नेत्रज्योति संघ, चितवनले भोगचलन गर्दै आइरहेको एक बिघा ७ कठ्ठा १५ धुर मध्ये भरतपुर महानगरपालिकाले एक बिघा १५ धुर जग्गा प्राप्त गर्न सफल भएको हो । आज महानगरपालिकामा आयोजित एक कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र नेपाल नेत्रज्योति संघ, चितवनका अध्यक्ष कृष्णराज धरेलले जग्गा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा नेपाल नेत्र ज्योति संघ अन्तरगत संचालित भरतपुर आँखा अस्पताल चिजकुमार विष्णुकुमारी बहिरङग सेवा विभागको भवनको स्थान समेत हुने गरि उत्तम पश्चिम तर्फबाट ७ कठ्ठा जग्गा भने संघकै दर्ता भोग रहने गरि सहमति पत्रमा उल्लेख छ । तर कुनै कारणले सो जग्गा नेपाल नेत्रज्योति संघको नाममा दर्ता हुने अवस्था नभएमा समेत संघले अस्पताल र सो सम्बन्धी परियोजना संचालन गर्न पाउनेमा महानगरपालिकाले मञ्जुरी दिएको छ ।

यस्तै सम्झौता पत्रमा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको सेवा सञ्चालन गर्न आवश्यक पर्ने अस्पताल भवन २०४० साल माघ ३ गतेको मन्त्रीपरिषद्को निर्णयबाट उपलब्ध गराईएको जग्गामा निर्माणका लागि संघले डीपीआर तयार गरि महानगरपालिकाबाट स्वीकृत गराई सोही डीपीआर अनुसार अस्पताल निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक स्रोत व्यवस्थापन गर्न महानगरपालिका पूर्ण रुपमा मञ्जुर रहेको छ । साथै महानगरपालिकाले उक्त भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गर्ने उल्लेख छ ।

यस जग्गा प्राप्त गर्नु भरतपुर महानगरपालिकाको अहिलेसम्मकै ठूलो सफलता भएको मेयर रेनु दाहालले बताइन् । ‘मुख्य राजमार्गमै रहेको बिघौं जग्गा प्राप्त गर्नु ठूलो सफलता हो, यसले महानगरको प्रशासनिक क्षेत्र फराकिलो र आकर्षित हुनेभयो’-मेयर दाहालले भनिन् । उनले जग्गा दिन मञ्जुरी दिने नेपाल नेत्रज्योति संघ चितवन शाखा परिवारलाई धन्यवाद समेत ज्ञापन गरिन् ।

सम्झौता पत्रमा रोहबरको रुपमा उपमेयर चित्रसेन अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, महानगरका उपसचिव सुकदेव लम्साल, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य चिजकुमार मास्के, चितवन शाखाका कोषाध्यक्ष तेजेन्द्र खड्का, सह–सचिव केशवप्रसाद अधिकारी र अधिवक्ता गोपीलाल देवकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएपछि अब सो जग्गा भरतपुर महानगरपालिकाको नाममा लालपूर्जा बनाउने प्रक्रिया अघि बढ्ने महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए । उनका अनुसार महानगरले आफ्नो नाममा जग्गा दर्ताका लागि सरकारसंग सिफारिस गर्ने र सो अनुसार सरकारले उक्त महानगरपालिकाको नाममा दर्ता गर्ने प्रक्रिया रहन्छ । सो जग्गामा महानगरपालिकाले निर्माण गर्न लागेको एक अर्बको अत्याधूनिक प्रशासकीय भवन समेत विस्तार हुनेछ । ‘महानगरपालिका लागि भवन निर्माण, पार्किङ र समग्र रुपमा सेवा प्रवाहका लागि हामीलाई राम्रो ठाउँ प्राप्त भएको छ, जनसंख्या वृद्धि हुँदै जाँदा पछिसम्मलाई सेवा विस्तार गर्न यसले धेरै ठूलो सहयोग पुर्‍याउँछ’–प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने ।

महानगरपालिकाले प्राप्त गरेको जग्गामा आइसल्याण्ड जंगल रिसोर्ट संचालनमा रहेको थियो । सो रिसोर्टको सम्झौता सकिएपछि अहिले खाली अवस्थामा रहेको छ । सो जग्गा युनाईटेड स्टेट अफ अमेरिका एजेन्सी फर इन्टरनेशनल डिभलपमेन्ट मिसन टु नेपाल (युएसएड) का नाउँमा फिल्ड बुक दर्ता कायम रहेको भरतपुर १०/ङ कि.नं.२९ को ज.वि.१–७–१५ (एक बिघा ७ कठ्ठा १५ धुर) जग्गा सन् १९९० जनवरी १० तद्अनुसार (वि.सं.२०४६ पुस २६ गते) गतेको युएसएडको निर्णयले उक्त जग्गा र सो जग्गामा रहेको भौतिक संरचनासहित नेपाल नेत्रज्योति संघलाई हस्तान्तरण गरेको थियो । सोही मितिदेखि नै सो जग्गा हालसम्म संघले हकभोग गर्दै आइरहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>