Breaking News

चितवन प्रशासनको राहदानी शाखामा दिनभर इन्टरनेट नचल्दा सेवाग्राहीलाई सास्ती

Banner

चितवन, असार ७-

जिल्ला प्रशासन कार्यालय चितवनको राहदानी शाखामा दिनभर इन्टरनेट नचल्दा सेवाग्राहीले सास्ती पाएका छन् ।

आज बिहान ७ बजे देखि नै कार्यालयमा पासपोर्ट बनाउन र नविकरण गर्न लाइनमा बसेका सेवाग्राहीको दिनभर कुर्दा पनि काम हुन नसक्दा समस्यामा परेका हुन् ।

भरतपुर महानगरपालिका–१० त्रिचोकबाट नयाँ पासपोर्ट बनाउन पुगेका सबिन भट्टराईले इन्टरनेट नचलेको भनेर दिनभर बसेर कुर्दा पनि पासपोर्ट बनाउन नसकेको बताए । उनी बिहान ७ बजे नै प्रशासनको राहदानी शाखामा आइपुगेका थिए । त्यसैगरी सौराहाबाट बिहान सबेरै राहदानी नविकरण गर्न आएका मायाराम चौधरीले पनि इन्टरनेट नचल्दा सेवा लिन पाएनन् । उनले भने, ‘घरको इन्टरनेट बिग्रिएमा पाँच मिनेटमा नै बन्छ तर जिल्ला प्रशासन कार्यालयको इन्टरनेट दिनभरमा पनि बन्न नसक्नु अचम्म नै हो ।’ साउदीमा १० वर्ष बसेर नेपाल फर्किएका उनी फेरि विदेश जाने सोचमा पासपोर्ट नविकरण गर्न आएका हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज दिनभर वल्र्डलिङ्कको सर्भर डाउन भएकोले पासपोर्टको काम हुन नसकेको बताए । उनले भने, ‘ यो हाम्रो तर्फबाट भन्दा पनि राहदानी विभागकको नै सर्भरमा समस्या आएको हो । म अहिले मुग्लिनमा छु । बनिसकेको भन्ने सूचना पाएको छु ।’

प्रशासनकै राहदानी शाखामा कार्यरत खरिदार अमृत अधिकारीले आज दिनभर काम नभएपछि लाइनमा बसेका सेवाग्राहीलाई भोलिको पालो लगाइएको बताए । उनले लाइनमा ३० जना जति रहेको जानकारी दिए । प्रशासनको राहदानी शाखा बाहेक अन्य शाखामा भने इन्टरनेट दिनभर सञ्चालन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>