Breaking News

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बहुवर्षीय स्रोत सुनिश्तिता गरेर सम्पन्न गर्छौः राखेप सदस्य सचिव घिसिङ

Banner

चितवन, असार ३–

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

आज भरतपुर महानगरपालिकाले आयोजना गरेको आगामी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले बहुवर्षीय स्रोत सुनिश्तिता गरेर भएपनि रंगशालालाई सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता जनाए । ‘लाखौं जनताको पसिनाबाट रंगशाला निर्माण सुरु भएर अहिले अलपत्र अवस्थामा छ, यसलाई त्यतिकै रहन दिँदैनौं हामी निर्माण सम्पन्न गरेरै छाड्छौं, यो मेरो प्रतिवद्धता भयो’–घिसिङले भने ।

उनले खेलपूर्वाधार निर्माणका लागि राखेपलाई छुट्याईएको ८७ करोड बजेट मध्ये यस रंगशालाका लागि मात्रै २२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । ‘यति रकमले रंगशाला निर्माणका लागि प्रयाप्त त छैन, अलपत्र रंगशाला सम्पन्न गर्न आवश्यक थप रकम नेपाल सरकारलाई प्रस्ताव पेश गरेर बहुवर्षिय स्रोत सुनिश्चितता सहित सम्पन्न गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्दछु’–सदस्य सचिव घिसिङले भने ।

यस्तै सदस्य सचिव घिसिङले चितवनमा जल खेलकुदको प्रचुर संभावना रहेको बताए । यस प्रकारका खेलकुदका कार्यक्रम आयोजना गर्न स्थानीय सरकार महानगरबाट सहयोगको अपेक्षा गरे । उनले नारायणी नदीलगायतका नदी छेउछाउमा बीच खेलकुदको संभावना पनि राम्रो रहेको बताए । उनले यस प्रकारका खेलकुदका कार्यक्रमहरु राखेपले भरतपुरमै आयोजना गर्ने तयारी गरिरहेको बताए । यस्तै विश्व चर्चित हात्ती पोलो खेल पुनः संचालनका लागि राखेपले प्राथमिकताका साथ आफ्नो कार्यक्रममा राखेको बताए ।

घिसिङले चितवनमा रोड साइक्लिङको पनि राम्रो संभावना रहेको भन्दै चितवनमा यस प्रकारका खेल कार्यक्रम आउँदो वर्षभित्रमा आयोजना गरिने बताए । ‘चितवनमा समथर भू–भाग पनि प्रशस्तै छन्, यसका लागि उपयुक्त इभेन्ट भनेको रोड साइक्लिङ पनि हो’ घिसिङले भने ‘यहाँ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ, एउटा राष्ट्रिय प्रतियोगिताका लागि भए पनि राखेपले बजेट विनियोजन गरि सकेको छ ।’

यस्तै घिसिङले खेलाडी उत्पादनका लागि महत्वपूर्ण स्थल विद्यालय भएकाले विद्यालयस्तरमै प्रशिक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । उनले भरतपुर महानगरको ध्यानाकर्षण गराउँदै भने–‘स्कुल खेलाडी उत्पादन हुने थलो पनि हो, एक विद्यालय एक खेलकुद शिक्षक आवश्यक छ तर कम्तीमा एक वडा एक खेल शिक्षक नियुक्त गरेर भएपनि सबै विद्यालयमा प्रशिक्षण दिलाउने वातावरण तयार पार्नुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>