Breaking News

भरतपुर अस्पतालको आईसीयूमा लामखुट्टे र कमिलाको आतंक

Banner

पूजा ढकाल,

चितवन,असार ३-

चितवनको भरतपुरमा रहेको केन्द्रीय स्तरको भरतपुर अस्पतालको आईसीयू शय्यामा व्यवस्थापनमा लापरवाही गरेको पाइएको छ । फितलो व्यवस्थापनको कारण अस्पतालका अन्य समस्या संगै विरामी र विरामीका आफन्तले लामखुट्टे र कमिलाको समेत समस्या झेल्न बाध्य भएका छन् ।

अस्पताल क्षेत्रमा राम्रो सरसफाइ नभएकोले बिरामी कुरुवालाई रातको समयमा लामखुट्टे र कमिलाको टोकाइले सताउने गरको छ । अस्पतालको शौचालय पनि व्यवस्थित नहुँदा झनै समस्या थपिएको बिरामीका आफन्तहरु गुनासो गर्छन् ।

अस्पतालको आईसीयू जस्तो संवेदनशील क्षेत्रमा बिरामीलाई सुतेको स्थानमै हात खुट्टा चलाउन नमिल्ने गरी कमिलाले टोक्ने गरेको छ । आईसीयू यस्तो संवेदनशिल ठाउँ हो जहाँ सुक्ष्म जिवाणु पनि भेटिनु हुँदैन । तर, पछिल्लो समय अस्पतालले बिरामीको स्वास्थ्य तथा सरसफाइमा ध्यान नदिएकै कारण कमिला र लामखुट्टेको आतङ्क बढेको छ । केही समयदेखि अस्तालमा बिरामी कुर्दै आएका एक बिरामी कुरुवाको अनुसार बिरामी सुतेको शय्यामै कमिला लाग्ने गरेको छ । उनले आइसियूका विरामीलाई कमिलाको हुलले टोकेको भिडियो नारायणी अनलाइनलाई पठाएका छन् ।

आफ्नो बिरामीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकोले भेट्ने समयमा कमिला मार्ने गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘बिरामी सुतेको ठाउँमा बिरामी चल्न नमिल्ने गरी कमिला हिँड्ने गर्छ ।’

गर्मी समय भएकोले झ्यालबाट आईसीयू वार्डमा कमिला पसेको हुन सक्ने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कृष्ण पौडेलले बताउनुभयो । तर, आईसीयू शय्यामै कमिला पसेको कुनै जानकारी आफूले प्राप्त नगरेको उहाँको भनाइ छ । उहाँका अनुसार आईसीयू दैनिक दुई पटक सफा गरिँदै आएकोे छ । तर, अब तत्कालै अस्पतालले यस क्षेत्रमा ध्यान दिने उहाँले बताउनुभयो । अस्पतालको आईसीयूमा बिरामी कुरुवाहरुको लागि महिला पुरुषले प्रयोग गर्ने एउटै शौचालय छ ।

विभिन्न रोगका समस्या बोकेर उपचारका लागि बिरामी सरकारी अस्पताल आउने गरे पनि यहाँ बिरामी कुरुवा तथा बिरामीले राम्रो सेवा पाउन सकेका छैनन् । गर्मी तथा बर्खाको समयमा पानी जम्ने गर्दा लामखुट्टे अत्यधिक लाग्ने गर्छ । लामखुट्टेको टोकाइबाट डेङ्गु, मलेरिया लाग्ने जानकारी सरकार तथा स्वास्थ्य कार्यालयले पटकपटक गराउँदै आएको छ । तर, अस्पताल जस्तो संवेदनशील क्षेत्रमा लामखुट्टे र कमिलाको टोकाइबाट बच्न सुरक्षाको मपदण्ड भने अपनाइएको छैन ।

अहिले विभिन्न रोगको समस्या लिएर १२ जना महिला तथा सात पुरुष गरी १९ जना बिरामी सरकारी अस्पतालको आईसीयू शय्यामा रहेका छन् । बिरामी कुर्न आउनुभएकी शारदा चौलागाईको अनुसार आईसीयू शय्यामा बिरामीको लागि शौचालय भए पनि बिरामी कुरुवाको लागि शौचालयको व्यवस्था छैन । उहाँ भन्नुहुन्छ, ‘आईसीयू शय्या क्षेत्रमै शौचालयको व्यवस्था नहुँदा अर्को भवनमा जानुपर्छ, कि तल झर्नु पर्छ, महिला पुरुषले प्रयोग गर्ने छुट्टाछुटै शौचालय नहुँदा प्रयोग गर्न समस्या भएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>