चितवन विशेष

चितवनमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

Banner

चितवन,असार २-

चितवनको भरतपुरमा कृषि विकास बैंकको वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम गरिएको छ । आईएफएडको अनुदान सहयोगमा कृषि विकास बैंकद्वारा सञ्चालित आरपिएसएफ/एपिआईएफ/भिटा कार्यक्रम अन्तर्गत किसान कल्याण दुग्ध उत्पादक सहकारी संस्था भरतपुर १५ फूलबारीमा बिहीबार कार्यक्रम गरिएको हो ।

कार्यक्रममा शनिश्चरे कृषक समूहमा आबद्ध किसानहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहभागीका लागि २२ दिनसम्म साक्षरता कार्यक्रम सञ्चालन हुने कार्यक्रमका आपूर्ति श्रृङ्खला सहजकर्ता नोमराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा वित्तीय शिक्षा अन्तर्गत बचत र रेमिट्यान्सबारे जानकारी प्रदान गरिनेछ भने व्यवसायिक साक्षरता अन्तर्गत कर्जा, व्यवसायिक योजना, रेकर्ड व्यवस्थापन, जोखिम व्यवस्थापन र बिमाबारे शिक्षा प्रदान गरिनेछ ।

यस्तै बैंकको डिजिटल शिक्षा अन्तर्गत किसान क्रेडिट कार्ड, किसान एप र कृषि ज्ञान केन्द्रका बारेमा सहजकर्ताहरुले तालिम प्रदान गरिनेछ । सहजकर्तालाई यसअघि नै तालिम प्रदान गरिसकिएको छ । यो कार्यक्रम भरतपुर महानगरपालिकाका विभिन्न वडाहरुमा लागू भएको छ । कार्यक्रममा भरतपुर १५ को जमरकट्टेल एग्रोभेटलाई एम्पस मेसिन र किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै कृषि विकास बैंक बागमती प्रदेश कार्यालय प्रमुख रघुनाथ न्यौपानेले किसानलाई व्यवसायिक बन्न सुझाव दिनुभयो । उहाँले किसानकै लागि लक्षित गरेर घरघरमा सेवा सुविधा ल्याएको भन्दै त्यसको भरतपुर उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सिकेका कुरा व्यवहारिक रुपमा लागू गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै भरतपुर शाखा प्रमुख दिनेशबाबु नेपालले बैंकले सेवा सुविधाहरु गाउँ केन्द्रित गरेको बताउनुभयो । उहाँले किसानका समस्यामा सधैँ कृषि विकास बैंक साथमा रहने प्रतिबद्धता जनाउनुभयो । किसानलाई पर्ने बैंकिङ समस्या समाधानका लागि बैंक सधैँ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा वडाध्यक्ष श्रीकृष्ण देवकोटाले बैंकले प्रयोगमा ल्याएको क्रेडिक कार्डको भरतपुर सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । उहाँले किसानले बजारमा सामान ल्याउँदा र उत्पादिन सामग्री बेच्दा कार्डको प्रयोगले सहज हुने बताउनुभयो । सधैं क्रेडिट कार्ड प्रयोग गर्ने बानी बसाल्नुपर्ने भन्दै उहाँले यसले पैसा बोकेर हिड्नुपर्ने झन्झटबाट मुक्त भइने धारणा राख्नुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>