Breaking News

‘जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ’

Banner

आनन्द पोखरेल

चितवन, असार २–

‘जहाँ ढुङ्गा ढुङ्गामादेवताको बास छ,
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ, यो देश मेरो हो, यो देश मेरो हो…..’

साँच्चै नै गायक तथा सर्जक ओम गुरुङले गीतमा वर्णन गरेको जस्तै सुन्दर छ नेपाल । यहाँको भौगोलिक भू–बनावट तथा हावापानीले सबैको मन जित्ने गरेको छ । देशकै पर्यटकीय गन्तव्यमध्ये अधिकांश भूभाग बागमती प्रदेशका जिल्लाहरुमा रहेका छन् । तराईको चितवनदेखि हिमालको जिल्ला रसुवासम्म हावापानीसँगै हरेक कुरामा विविधता पाइन्छ ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० लाई ‘घुमफिर वर्ष’को रुपमा मनाउँदैछ । यसैको प्रवद्र्धन स्वरुप प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको संयोजनमा १३ वटै जिल्लाका पत्रकारहरु समेट्दै प्रदेशका महत्वपूर्ण पर्यटकीयस्थलहरुको अवलोकन गराएको छ । प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठसँग छलफल पश्चात अवलोकन भ्रमण सुरु भएको थियो ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षलाई बागमती प्रदेश सरकारले घुमफिर वर्षको रुपमा मनाउन लागेको जानकारी दिनुभयो । कोभिडका कारण पर्यटन क्षेत्र मारमा परेका उल्लेख गर्दै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि घुमफिर वर्ष मनाउन लागिएको श्रेष्ठले बताउनुभयो । प्रदेशका मुख्य–मुख्य पर्यटकीय क्षेत्रको बारेमा समाचार तथा लेखहरुमार्फत आममानिसलाई जानकारी गराउन समेत पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने मन्त्री श्रेष्ठको भनाइ छ ।

मन्त्री श्रेष्ठले हेटौँडाबाट बिदाइ गरेपछि पत्रकारहरुको टोली जिल्ला भ्रमणमा निस्किएको थियो । भ्रमणका क्रममा पत्रकारहरुले सिन्धुलीमा सुनकोशी मरिण डाइभर्सन तथा सिन्धुलीगढी, रामेछापको खाँडादेवी मन्दिर, रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ डाँडो, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा अवस्थित प्रदेश सरकारले निर्माण गरेको पौडी पोखरी तथा नुवाकोट दरवार क्षेत्रको अवलोकन गरेका छन् । सुनकोशीलाई डाइभर्सन गरेर विद्युत् उत्पादन गर्दै सिँचाईका लागि पानी उपयोग गर्नेगरी मरिण खोलामा झारिएको छ ।

युद्ध सङ्ग्राहलय सिन्धुलीगढी

रमणीय वातावरणका साथै सितल मौसमसँगै सिन्धुलीगढीको फरक विशेषता समेत रहेको छ । ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध सङ्ग्रहालयमा वीर गोर्खा फौज र अङ्ग्रेज सेनाबीच विक्रम संवत १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामग्रीहरु राखिएका छन् । तत्कालीन समयमा सो स्थानबाट गोर्खा फौजले इस्ट इन्डिया कम्पनीको अङ्ग्रेज फौजलाई पराजित गरेको थियो ।

तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित आएको दुई हजार ४०० को सङ्ख्यामा रहेको अङ्ग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिङ्गालको गोलाको मद्दत लिएर युद्धमा पराजित गरी धपाएका थिए । गोर्खाली फौजको नेतृत्व वंशु गुरुङले गरेको इतिहासमा उल्लेख छ । नेपालीहरुको वीरता र सुरताको गाधा बोकेको सिन्धुलीगढी युद्धका दस्तावेजहरु एकै स्थानमा सङ्ग्रहित गरिएसँगै तयार भएको नेपालको पहिलो युद्ध सङ्ग्रहालय हो सिन्धुलीगढी युद्ध सङ्ग्रहालय ।

सङ्ग्रहालयको डिजिटल बोर्डमा वीर योद्धाहरुको नामाङ्कन गरिएको छ भने यो सङ्ग्रहालयमा युद्धको झल्को दिने लोपोन्मुख सामग्रीहरु राखिएको छ । सङ्ग्रहालयमा राखिएका युद्धकालीन हातहतियार र दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने विश्वास गर्न सकिन्छ । सङ्ग्रहालयभित्र वृत्तचित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अङ्ग्रेज सेनाको पोशाक प्रदर्शनलगायत सङ्ग्रहित गरी राखिएको छ ।

सिन्धुलीगढी क्षेत्रमा पुग्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीति कस्तो हुने रहेछ भन्ने विषयमा जान्न पाइन्छ । नेपालको इतिहासमा महत्वपूर्ण दुई गढी मध्येको सिन्धुलीगढीका बारेमा विस्तृत जानकारी लिन चाहनेहरुका लागि हालै बनेको सङ्ग्रहालयसँगै पुरानो दरवार पनि महत्वपूर्ण गन्तव्य बन्न सक्छ । बुटवलको जितगढी जस्तै सिन्धुलीगढीको महत्व रहेको छ । नेपाल–अंग्रेज युद्धमा यी दुई गढीलाई जीवित दस्तावेजका रुपमा लिइन्छ । सिन्धुलीमा ठूलो र सानो गढी छन्, यीदुवैको महत्व नेपाल–अङ्ग्रेज युद्धसँग जोडिएको छ ।

पञ्चवली दिइने खाँडादेवी मन्दिर

खाँडादेवी मन्दिर रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय महत्वको स्थान हो । शक्तिपीठको रूपमा सदियौंदेखि भक्तजनहरूले मान्दै आएकी खाँडादेवीमा चैते दसैँ र बडादसैँका बेला ठूलो मेला लाग्ने गरेको छ । दसैँका बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी नेपालबाट मात्रै नभएर भारतबाट पनि भक्तजनहरु दर्शनका लागि पुग्ने गरेका छन् ।

खाँडादेवीसम्बन्धी स्थानीय भक्तजनमा धेरैखालका जनश्रुति र किम्वदन्तीहरु पाइन्छ । खाँडादेवी मन्दिरको पूजारी तामाङ जातिको हुनुले पनि खाँडादेवीलाई भिन्न र विशिष्ट पीठको रूपमा बुझ्न सकिन्छ । धार्मिक हिसावले मात्र नभई पर्यटकीय दृष्टिले पनि खाँडादेवीको डाँडो मनै लोभ्याउने खालको रहेको छ । रातै लाली गुराँस फुल्ने खाँडादेवीबाट दक्षिणतर्फ विशाल महाभारत पर्वत शृङ्खला, नागबेली परेको नीलो सुनकोशी नदी र नदी आसपासका टारहरू र खाँडादेवीबाट उत्तरतर्फ दोरम्बा र गाल्पाका पहाडी हरिया डाँडाले खाँडादेवीलाई मनमोहक बनाएको छ । खाँडादेवी वरपरका घना पहाडी बस्तीहरूको भ्रमणले पनि खाँडादेवीको यात्रालाई सार्थक नै बनाउँछ ।

खाँडादेवीको आसपासमै पवित्र धार्मिकस्थलहरु कुशेश्वर महादेव मन्दिर, मुकुटेश्वरी, सहस्रधारा, सुनापति, थानापति रहेका छन् । रामेछापको सदरमुकाम मन्थलीबाट २१ किलोमिटरको यात्रापछि खाँडादेवी पुग्न सकिन्छ । यसका साथै अन्यमार्ग हुँदै पनि खाँडादेवी मन्दिर पुग्न सकिने स्थानीय बताउँछन् । बडादसैँमा फूलपातीको दिन खाँडादेवीलाई केरा, उखु, अदुवाको बोट, माछा, छोकडा, जिर्मा, छ्याङ, राँगा, बोका, कुखुरा, हाँस, परेवा तथा कुमारीको सामग्रीहरू ऐना चुरा, धागो, सिन्दुर, टीका चढाउने गरिन्छ ।

खाँडादेवीको आसपासमा तीन देवीहरु रहेका छन् । सिद्धदेवी, सिद्धकाली र सिरहदेवीको थानमा पनि पूजाआजा भक्तजनको भक्तिरहेको पाइन्छ । खाँडादेवीको केही तल दुर्गा नदीको रूपमा पूजिने अर्को तीर्थ पनि रहेको छ । त्यहीँको जलले दिनहुँ खाँडादेवीलाई नुहाउने गरिन्छ ।

मनमोहक शैलुङ डाँडो

बागमती प्रदेशमा पर्ने रामेछाप र दोलखा दुवै जिल्लाको शिरको रुपमा रहेको डाँडो हो, शैलुङ । पानी ढोलोको आधारमा एकातिर पानी बग्ने भाग रामेछाप र अर्काेतिर पानी बग्ने जतिभाग दोलखामा पर्दछ । दोलखाका शैलुङ र मेलुङ दुई गाउँपालिका पानी ढोलोको एकातिर पर्छ भने रामेछापको दोरम्बा शैलुङ गाउँपालिका अर्कोतिर । यी तीन गाउँपालिकालाई अँगालेर आफ्नो बृहत् प्राकृतिक, जैविक र सांस्कृतिक पहिचानमा फैलिएको छ शैलुङ डाँडा ।

शैलुङ डाँडा दुई जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित छ । यो ठाउँ समुन्द्री सतहबाट करीब तीन हजार ४०० मिटर अग्लो स्थानमा अवस्थित छ । शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ, जहाँ जनैपूर्णिमा, बाला चतुर्दशी, बाह्रवर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ । साथै शैलुङ डाँडा यस अर्थमा पनि प्रख्यात छ कि, जुन डाँडा १०८ वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर बनेको छ ।

शैलुङ नाम तामाङ भाषाबाट राखिएको हो । जसको अर्थ तामाङ भाषमा ‘शै’ भनेको सय र ‘लुङ’भनेको थुम्काभन्ने बुझिन्छ । शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल, सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाललगायत काठमाडौँ उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको छ ।

यहाँ शैलुङ्गेश्वर महादेवको मन्दिर, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि अवस्थित छ । चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफे मुनाल, चौरी र विभिन्न जातजातिका चराचुरीङ्गी एवं जंगली जनावरहरूले शैलुङ डाँडा धार्मिक एवम् पर्यटकीय महत्व बोकेको स्थानको रूपमा चिरपरिचित रहँदै आएको छ । साथै थुम्कामा हिउँद महिनामा सेताम्मे हिउँ पर्ने भएकोले यसबेला हिउँप्रेमीहरूको धेरै भीड लाग्ने गर्दछ । त्यतिबेला हिउँमा खेल्नको लागि धेरै ठाऊँबाट पर्यटकहरू आई हिउँमा खेल्ने र सेताम्मे शैलुङको प्राकृतिक स्वाद लिने गर्दछन् ।

पुनःनिर्माणको पर्खाइमा नुवाकोट दरवार

पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई विसं १८१९ मा भव्य नौतले दरवार बनाउन लगाएका थिए । पछि ९० सालको महाभूकम्पले गर्दा दुई तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो । साततले दरवारलाई गृष्मकालीन दरवारका रूपमा उपयोग गरी अर्को शीतकालीन दरवारका रूपमा विसं १८२२ मा शेरा दरवारको निर्माण भएको थियो । सातौँ तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्ध बन्दीका लागि थुन्ने खोरका साथै दरवारको वास्तुकलालाई लिइन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय गर्नुअघि निकै शक्तिशाली राज्यका रुपले चिनिएको नुवाकोट इतिहासका विद्यार्थीहरुको खुल्ला सङ्ग्रहालय हो । इतिहासले भन्छ, कुनै बखत काठमाडौँ भन्दा शक्तिशाली थियो नुवाकोट । यो पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्नुअघिको कुरा हो । नुवाकोट दरवार परिसरमा धार्मिक हिसाबले महत्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् ।

मनोरम प्राकृतिक छटाहरुले भरिपूर्ण यो जिल्ला प्राचिन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । नुवाकोट दरवारदेखि १० मिनेटको यात्रा पश्चात पुग्न सकिन्छ, महामण्डला क्षेत्र । ऐतिहासिक तथा धार्मिक हिसाबले मण्डला क्षेत्र पनि उत्तिकै महत्वपूर्ण छ । तर, यी अब उस्तै छैनन् । सग्लो छैन । सुरक्षित छैन । वर्षौंवर्षको घामपानीले यसको स्वरुप जिर्ण मात्र बनाएको छैन, उचित रेखदेखको अभावमा खण्डहर बन्दै गएको छ । यी संरचनाको जिर्णोद्वार गर्न अत्यावश्यक भइसकेको छ ।
पृथ्वीनारायण शाहले १८०१ असोज १५ गते नुवाकोट टाकुरे माथि तेश्रो प्रयासमा विजय गरिसकेपछि सेनाद्वारा १८१६ सालमा साततले दरवार निर्माण गरेका थिए । गीर्वाणयुद्ध विक्रम शाहको पालामा २५ वर्षसम्म सोही दरवारबाट नेपालको शासनसत्ता सञ्चालन भएको थियो । भूकम्पले क्षति पु¥याएको राष्ट्रिय सम्पदामध्ये विदुर नगरपालिका वडा नं. २ नुवाकोटको पुरानो सदरमुकामस्थित बजारमा रहेको सदियौं पुरानो साततले दरवार पनि एक हो । यस दरवारको पुनर्निर्माण नहुँदा खण्डहर हुँदै गइरहेको छ ।

भूकम्पले नुवाकोट दरवार क्षेत्रको मुख्यआकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवीमन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको छ । अहिले साततले दरवार टेकोले धानेर अड्याइएको छ । आकर्षक तथा भीमकाय संरचना रहेको साततले दरवारलाई भूकम्पले क्षति पु¥याएपछि चारै तर्फबाट काठ र फलामको डण्डीले टेको लगाएर अड्याइएको छ । टेको लगाइएको ठाउँको पर्खालका इँट्टाहरु क्रमशःउप्किँदै जान थालेपछि झन् अर्को जोखिम देखा परेको स्थानीयवासी बताउँछन् ।

२०३८ सालसम्म नुवाकोटको सदरमुकाम रहेको सो साततले दरवारबाटै जिल्लास्थित मुख्य कार्यालयहरु जिल्ला प्रशासन, कारागार, अदालत, प्रहरी तथा मालपोत कार्यालय सञ्चालन भएका थिए । संग्रहालयमा परिणत गरिएको साततले दरवारमा पुराना र ऐतिहासिक सामग्रीहरुलाई सुरक्षित साथ राखिँदै आएको छ । भूकम्पका कारण भित्र पस्नै नमिल्ने भएको संग्रहालयमा राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका लुगाफाटा, पलङ, ओछ्यान, युद्धका सामग्रीहरु, पृथ्वीनारायण शाह र उनका रानीहरुको प्रतिमा, सुरक्षित गरिएको छ । दरवार नुवाकोटको सदरमुकाम विदुरदेखि सात किलोमिटर उत्तरपूर्वमा रहेको छ । जीर्ण र जेखिमयुक्त रहेका कारण पर्यटकहरु टाढैबाट दरवार हेरेर फर्कने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.