Breaking News

भरतपुर महानगर युवा उद्यमीसँग विकासका लागि सहकार्य गर्न तयार छ: मेयर रेनु दाहाल

Banner

चितवन, असार १-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन् ।

नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा गरेको उद्यमशिलतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा औल्याएकी हुन् ।

मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरिन् । ‘निजी क्षेत्रसँग सधै हातेमालो गर्न तयार छौ’ उनले भनिन् ,‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन । निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधै सकारात्मक छ ।’

चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाइन्सचोकमा बहुउद्देश्यीय व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरु भइरहेका छन् । मेयर दाहालले निर्वाचनको घोषणापत्रमा ‘मेड इन भरतपुर’ कार्यक्रमलाई प्रथामिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गरिन् । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिकसम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चलाई समावेश गराइने बताए ।

त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने गरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष निर्देश सेढाईले उद्यमशिलताले मात्र देश विकास सम्भव रहेको बताए । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले युवा उद्यमीहरुलाई विदेश जानबाट रोक्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र बलियो हुन नसक्ने भन्दै अधिकारीले युवा उद्यमीलाई स्वदेशमै रहन सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्वअध्यक्ष निरञ्जन न्यौपाने, दाताराम घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.