Breaking News

आगामी निर्वाचनमा माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने तयारी थालेको छु: दाहाल

Banner

पोखरा, जेठ २८ 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु हुने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पोखरामा शनिबार गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमूखीकरण कार्यक्रममा उनले निर्वाचन प्रणाली र शासकीय स्वरुप देश र जनताको हितमा नरहेको बताए ।

अहिले माओवादी केन्द्रबाहेक कांग्रेस, एमालेभित्रका नेताले पनि निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भएको, भ्रष्टचार नै त्यहींबाट सुरु हुन्छ भन्ने बहस थालेको उनले बताए । ‘यो विषयमा संविधान बनाउने बेलामा नै रिजर्भेसन राखेर निर्वाचन प्रणाली, शासकीय स्वरुप र पहिचानको मुद्दा ठीक ढंगले सम्बोधन भएको छैन, आउने दिनमा यसको निम्ति फेरि हामीले संविधान संशोधन, परिमार्जन गर्न जरुरी छ भनेर संविधानसभामा लिखित नोट अफ डिसेन्ट लेख्ने पार्टी हामी नै हो,’ उनले कार्यकर्तालाई भने, ‘हामीलाई नैतिक, राजनीतिक अधिकार छ लडाइँ लड्ने । विकृत पुँजीवादी निर्वाचन प्रणाली बदल्ने र जनताको पक्षमा निर्वाचन प्रणाली बनाउने र शासकीय स्वरुप पनि जनताले फैसला गर्ने बनाउने लडाइँ हामीले ढिलोचाँडो लड्नु छ । दिमागमा राखिराख्नुहोला ।’

माओवादी केन्द्रको नेतृत्वमा यही टिम रहे लडाइँ छिट्टै सुरु हुने र त्यो लडाइँ आफ्नो पार्टीले जित्ने उनको दाबी थियो । ‘हामी माओवादी सिधासिधा कुरा गर्न र आन्दोलन गर्न सिपालु छौं । आन्दोलन, क्रान्ति गर्ने भनेपछि तपाईं÷हामी सबैका आङ जिरिंग हुन्छ, जोश आउँछ । हिँडिहालौं, मरिहालौं जस्तो गर्नेका सन्तान प¥यौं हामी,’ उनले भने, ‘हामी जित्छौं । जित्ने मैले पक्का देखेको छु । जितियो भने हामी अर्को हाइटमा पुग्छौं ।’

उनले आगामी संसदीय निर्वाचनमा माओवादी केन्द्रलाई दोस्रो पार्टी बनाउने गरी तयारी थालेको बताए । प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अहंकार बढ्न नदिने गरी ठिक्क ठाउँमा राख्न गठबन्धनका दलबीच छलफल भइरहेको बताउँदै उनले त्यसो गर्दा माओवादी केन्द्र दोस्रो पार्टी हुने सम्भावना रहेको उल्लेख गरे । ‘माओवादी केन्द्र दोस्रो हुने भनेको कम्युनिस्ट आन्दोलनको पहिलो हुने हो । माओवादी केन्द्र पहिलो हुनेवित्तिकै हाम्रो नेतृत्वमा कम्युनिस्ट आन्दोलन पुनर्गठन हुन्छ,’ उनले भने, ‘एमालेका सबै यहीं हुन्छन् । त्यसपछि खुरुखुरु समाजवादको यात्रामा लिएर जान सकिन्छ ।’ स्थानीय तहको निर्वाचन परिणाम सोचेजस्तो नभए पनि माओवादी आन्दोलनको मुख्य शक्ति माओवादी केन्द्र नै भएको तथ्य स्थापित गरेको उनको भनाइ थियो ।

उनले माओवादी केन्द्रले जितेका १२२ पालिकामा फागनु १ मा बिदा दिएर विशेष पर्वका रुपमा मनाउन सके जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रुपमा स्थापित गरेर देशैभरि बिदा दिन सरकारलाई दबाब दिन सकिने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.