Breaking News

चितवनका कुमाल समूदायले भूँयर पूजा गरी वैशाख पूर्णिमा मनाए

Banner

प्रतिमा कुमाल

चितवन, जेठ २

चितवनको विभिन्न ठाउँमा छरिएर रहेका कुमाल समुदायले गाउँ पूजा अर्थात भूँयर पूजा गरेका छन् ।

प्रत्येक वर्ष वैशाख पूर्णिमाको दिन कुमाल समूदायले यस पूजा गर्ने गर्छन् । यस शुभसाइत कटेको खण्डमा त्यसको दुई दिन भित्र पूजा गर्नुपर्ने नेपाल कुमाल समाज सुधार समिति चितवनको भनाइ छ ।

यसदिन गाउँमा भएको ठूलो सिमलकोे रुख मूनि पूजा गरिन्छ । केही ठाउँमा मगर समुदायका पुजारी हुन्छन भने धेरै ठाउँमा गोर्खाली कुमाल पुजारी हुन्छन् । विशेष गरी वन देवतालाई खुसी पार्नका लागि यो पूजा गरिन्छ । प्रत्येक घरले आफूले सके अनुसार बुंगुर, पाठापाठी, कुखुरा, परेवा चडाउने गर्छन् ।

यस पूजा गरे गाउँमा अनिष्ट नहुने, खडेरीले बालीनाली नास नहुने, अन्नबालीमा रोग नलाग्ने, माहामारी जस्ता रोगले नसताउने कुमाल समूदायको विश्वास रहेको छ ।

यो पूजा गर्दा ‘पूर्वको पूर्व, पश्चिमको पश्चिम, दक्षिणको दक्षिण आकाश पाताल रोग बार बन्देज गरिदेऊ’ भनी पूजा गरिन्छ । यसलाई गाउँ बार्ना पनि भनिन्छ । यो गरिसकेपछि कुटानी पिसानी घाँस काट्न पाइँदैन र कसैले काटेको थाहा भएमा गाउँका गुरौ र अगुवाहरु मिली सो व्यत्तिलाई जरिवाना स्वरुप कुखुरा समाती ल्याउन भनिन्छ । यसको उजुर कही कतै नलाग्ने नेपाल राष्ट्रिय कुमाल सुधार समितिका उपाध्यक्ष राम सिंह कुमालले जानकारी दिए ।

साथै यस दिन कपाल कोर्न, बिस्कुन सुकाउन पनि नपाइने नियम रहेको छ । ‘पूजा गरिसकेपछि गुरौले गाउँमा प्रत्येक इनारमा ल्वाङ राखिदिने गर्छन् । यसो गरी सकेपछि कुनै पनि महिलाले पानी भर्न पाउँदैनन् । तीन दिनसम्म इनार वा घाराबाट पानी झिक्ने काम पुरुषले मात्रै गर्नु पर्छ । त्यति मात्र होइन महिलाहरु एक गाउँबाट अर्को गाउँ पनि जान दिइँदैन । तीन दिनपछि मात्र गुरौले पुनः भुँयरमा पूजा गरिसकेपछि गाउँ बारेको फुकेको मानिन्छ । यसपछि सामान्य अवस्थामा झै काम गरिन्छ,’ उनले भने ।

विगतमा रहेको यो चलनचल्ती भने अहिले परिवर्तन हुँदै आएको कुमालले जीकिर गरे । ज्ञानको विकास भएसँगै संस्कार र धर्ममा भएका केही नराम्रा पक्षहरु सुधार हुदै गएको उनको भनाइ छ । कुमाल जातीको यो विशेष पूजामा अहिले मिसिएर रहेका ब्राम्हण समुदायकाले पनि सहयोग गर्ने गरेको पाइन्छ । कुमाल समुदायको संस्कार भए पनि अन्य समूदायका व्यक्तिहरु पनि पूजामा सहभागी हुने र पूजामा भाग लिदा कुमाल समूदायका लागि खुसीको कुरा रहेको उपाध्यक्ष कुमालले बताए ।

तर, बाहिरी संस्कार संस्कृतिका कारण अहिले धेरै ठाउँका कुमाल समूदायले भूँयर पूजा गर्न छाडेको गुनासो उनको रहेको छ । चितवनको माडी क्षेत्र, भरतपुर महानगरपालिका ११, २७, २८ वडामा धेरै कुमाल समुदायको बसोबास रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>