देश/प्रदेश

सुर्खेतका स्थानीय तहमा मतगणना सुरु

Banner

कर्णाली, वैशाख ३१ –
सुर्खेतको सिम्ता गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ११ बजेदेखि मतगणना सुरु भएको हो । प्रारम्भिक मतगणनामा र वीरेन्द्रनगरको प्रमुखमा एमालेकी मोहनमाया ढकालले ११४, उपप्रमुखमा एमालेकै नीलकण्ठ खनालले १११ मतले अग्रता लिनुभएको छ ।

कांगे्रसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले ८५, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की शान्ति ढकालले ८४ र राप्रपाका प्रमुख पदका उम्मेदवार मुकुन्दश्याम गिरीले ४४ मत प्राप्त गर्नुभएको छ । वीरेन्द्रनगरमा प्रमुख र उपप्रमुखमा कांगे्रस र माओवादीबीच तालमेल छ ।

बराहताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ईश्वरभक्त सुनार, पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांगे्रसका लालवीर भण्डारी, चिंगाड गाउँपालिकाको अध्यक्षमा एमालेका बोधविक्रम जिसीले अग्रता लिनुभएको छ । भेरीगङ्गा, लेकबेँसी र गुर्भाकोट नगरपालिका तथा चौकुने गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

त्यस्तै सिम्ता गाउँपालिकाको वडा नं १ भगवती मावि केन्द्रमा शुक्रबार निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि तनाव उत्पन्न हुँदा निर्वाचन स्थगित गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.