Breaking News
गठबन्धनले अनधिकृत कब्जा गरिएका स्थानमा पुनः मतदान गर्नुपर्छः ओली

चितवन,बैशाख ३०-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले निर्वाचनमा अनुचित ढंगले हिंसा भड्काएको आरोप लगाएका छन्। स्थानीय निर्वाचन सम्पन्न भएपछि ओलीले विज्ञप्ति जारी गर्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन चाहेको भएपनि हुन नसकेको बताएका हुन्।
‘भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो’ ओलीले भनेका छन्, ‘तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजना पूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गन्यो।’
लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने पाँच दलीय सत्ता गठबन्धनबाट अधिनायकवादी कार्य भएको आरोप लगाएका छन्। स्वतन्त्र निर्वाचनका विरूद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति दुःख व्यक्त गरेका छन्।
स्वच्छ निर्वाचन विपरितका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरूलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरी समेत गरिएको उल्लेख गरेका छन्।