Breaking News

भरतपुरमा आफै हिँड्न सक्ने र देख्न सक्ने आमाबाबुको मतदान छोराले गरिदिए

Banner

कुलप्रसाद काफ्ले,

चितवन, वैशाख ३०

भरतपुर महानगरपालिका-७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको ‘ग’ मतदान केन्द्रमा छोराले आमाबाबुको मतदान गरेका छन् । भरतपुर-७ का वडा सदस्य राजेन्द्र तामाङले आमाबुबा आफै हिँड्न सक्ने र देख्न सक्ने हुँदा पनि आफू जनप्रतिनिधि पनि भएको भन्दै दुवैको मतदान उनैले गरेका हुन् ।

उनी आमा र बुबासँग मतदान केन्द्रमा पुगेका थिए । दर्ता कार्यमा खटिएका कर्मचारीले सुरुमा अरुले भोट हाल्न नमिल्ने बताएका थिए । त्यसपछि आफू जनप्रतिनिधि भएको भन्दै मतपत्र लिएर आमासँगै बुथतिर लागे । त्यहाँ पुगेर उनले मतपत्र भरे ।

मतपत्र उनकी आमाले मतपेटिका ल्याएर हालिन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरिन् । त्यसपछि उनले फेरि आफ्नो बुबाको मतपत्र भरिदिए । मतदान केन्द्र ‘ग’ की मतदान अधिकृतले भने चिट चोरेको भिडियो मिडियामा नल्याउन दबाब दिइन् । चिट चोर्न नमिल्ने भएरै आफूले चिट जफत गरेको बताउँदै उनले भनिन्, ‘मैले जफत गरिदिसके । मिडियामा नल्याउनू । मिडियाबाजी किन गर्नु ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारीले पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफै हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने बताए । ‘हिँड्न सक्ने र देख्न सक्नेले सहयोगी राख्न पाउनुहुन्न’, उनले भने, ‘सहयोगी नै चाहिने भएमा पनि मतदान अधिकृतसँग जानुपर्छ ।’ चिट चोरेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने उनले बताए ।

गठबन्धनले चिट चोर्न सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केही मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहीले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>