देश/प्रदेश

नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

Banner

वीरगञ्ज, २९ वैशाख-

वैशाख ३० गते स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारतसीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ ।

निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ । मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको छ । यसबारे जानकारी नपाएका कारण नेपाल आउन खोजेका भारतीय नागरिकलाई बुधबार सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले फिर्ता पठाइदिएका छन् भने नेपाली नागरिकको हकमा परिचय पत्र देखाएपछि आउन दिईएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिएको छ । मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले भारतीय समकक्षीसँगको समन्वयमा सीमा बन्द कडाइका साथ गरिरहेका छन् । सीमा क्षेत्रमा खटिएका उनीहरुले सर्वसारधणलाई आउन जान रोकेका छन् ।

मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका छन् । भारततर्फ सीमा नाका मात्रै हैन सीमा क्षेत्र नै खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ । देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज- रक्सौल नाका हुँदै बुधबार बिहान थुप्रै भारतीय नागरिक नेपाल छिर्न खोजेका थिए । वीरगञ्जलगायत नेपालका विभिन्न सहरमा कामका लागि आउन खोजेका उनीहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले फिर्ता पठाइदिएको छ ।

नेपाली सुरक्षाकर्मीको टोलीलाई भारतीय एसएसबी, भन्सार कार्यालय र सादा पोशाकमा खटिएका प्रहरीले पनि सघाएका छन् । उनीहरूले मितेरी पुलभन्दा उतैबाट मानिसहरूलाई नेपाल छिर्न दिएका छैनन् । नाका बाहेक अन्य क्षेत्रमा मोबाइल, गाडी गस्ती, पट्रोलिङ र संयुक्त गस्तीसमेत भइरहेको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका एक अधिकृतले जानकारी दिए । ‘सीमा नाकालाई प्रभावकारी रुपमा बन्द गर्न लागि परेका छौं । भारतीय समकक्षीहरूसँग मिलेर संयुक्त गस्तीसमेत गरेका छौं’ उनले भने ‘एम्बुलेन्स, इन्धन बोकेका सवारीसाधन बाहेक अन्य सवारी आवागमन समेत बन्द छ ।’

मोटरसाइकल, गाडी आउने नाकाहरूमा सशस्त्र प्रहरी नै बसेर नियमित ड्युटी गरिरहेका छन् । उनीहरूले मोटरसाइकल गाडी आउन रोक लगाएका छन् भने मानिस मात्रै आउन सक्ने क्षेत्रहरूमा संयुक्त र एकल गस्ती, पट्रोलिङ गर्नेजस्ता काम भइरहेको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । निर्वाचनका लागि पर्सामा मात्रै ८ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । इमर्जेन्सी परेकाहरुलाई सुरक्षाकर्मीहरूले सहजीकरण गरिरहेका छन् भने विवाहका सवारी साधनलाई जिल्ला प्रशासन कार्यालयको सिफारिसमा आउन जान दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area