खैरहनी

ठुला दलहरु असफल भैसकेः पूर्वमन्त्री विक्रम पाण्डे

Banner

चितवन, वैशाख २५-

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले ठुला भनिएका दलहरु असफल भैसकेको बताउनुभएको छ । उहाँले देशलाई संकटमुक्त बनाउन ठुला भनिएका दलहरु असफल बनेको जिकिर गर्नुभएको छ । खैरहनी नगरपालिकाको पर्सा बजारमा आयोजित चुनावी कोणसभामा बोल्दै उहाँले देशलाई विकासको गतीमा लैजान छाडेर राजनीतिक किचलोमा फस्ने गरेको आरोप लगाउनुभएको छ ।

“जनअपेक्षाका विकास, निर्माण गर्न छाडेर राजनीतिक भागबण्डामा सक्रिय हुँदा देशले निकास पाउन सकेन”, उहाँले भन्नुभयो, “३२ वर्ष शासन चलाएका दलहरु असफल भैसकेका छन्, अब जनताले सोच्नुपर्ने बेला आएको छ ।” उहाँले यो वा त्यो पार्टी भनेर पार्टीको पक्षमा लाग्न छाडेर राष्ट्रवादी दललाई जिताउन लाग्नुपर्ने बताउनुभयो । “ऋण काढेर विदेश जानुपर्ने अवस्था हटाउनुपर्छ, स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बन्द भएका उद्योग, कलकारखानाहरु सञ्चालन गर्नुपर्छ, लगानीमैत्री वातावरण बनाउन लाग्नुपर्छ ।”

उहाँले स्थानीय सरकारबाट भनसुन विनानै सेवा पाउनुपर्ने अवस्था बनाउन राप्रपाले स्थानीय तहमा उम्मेदवारी दिएको बताउनुभयो । “जनताले कल्पना गरेको जस्तो नगरपालिका र वडा कार्यालयहरु बनाउन राप्रपाले उम्मेदवारी दिएको छ”, उहाँले भन्नुभयो, “जनतासँग निकट रहेर घरदैलोमै पुगेर सेवा दिन सक्ने जनप्रतिनिधि रोज्नुपर्छ, जनताले अबको चुनावमा सहि उम्मेदवार छनौट गर्नुपर्नेछ ।” उहाँले राप्रपाले विकासप्रेमी र वडाका समस्याहरु बुझेका र समस्या समाधान गर्नसक्ने क्षमता भएकाहरुलाई उम्मेदवार बनाएकाले यसपाली राप्रपाले धेरै स्थानीय तहमा जित हासिल गर्ने दाबी गर्नुभयो । खैरहनी नगरपालिकाका १३ वडाहरुका विभिन्न ठाउँमा आयोजना भएका कोणसभालाई पूर्वमन्त्री पाण्डेले सम्बोधन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>