चितवन विशेष

भोलि क्याम्पाचौरमा हुने एमालेको चुनावी सभाको तयारी पूरा

Banner

चितवन,बैशाख २४-

नेकपा एमाले चितवनको आयोजनामा भोलि (आइतबार) हुने चुनावी सभाको तयारी पूरा भएको छ । नारायणगढको क्याम्पाचौरमा भोलि दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो । आज आयोजित पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान गठबन्धनले स्थानीय निर्वाचन सार्न खोजिरहेको अवस्थामा एमाले र जनदबाबका कारण वैशाख ३० मा निर्वाचन हुन सम्भव भएको बताउनुभयो । अहिलेको पाँच दलीय गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको भन्दै थापाले यो गठबन्धनबाट देशको विकास र समृद्ध नेपाल सुखी नेपालीको सपना शाकार नहुने बताउनुभयो ।

यो गठबन्धनले स्थानीय निर्वाचनमा धाँधली गर्नसक्ने, मतपत्र च्यात्न सक्ने भन्दै एमालेले त्यस्ता क्रियाकलाप रोक्नका लागि विशेष निर्देशन दिएको थापाले बताउनुभयो । “स्थानीय निर्वाचनमा कसरी धाँधली गर्ने र चुनाव जित्ने भन्ने रणनीतिमा उनीहरु लागेका छन्” थापाले भन्नुभयो, “हामीले उनीहरुको यो षडयन्त्र अहिलेको निर्वाचनमा मतपत्रको कसरी सुरक्ष ागर्ने भन्ने विषयमा पार्टीले एउटा विशेष योजना बनाएको छ ।”
पत्रकार सम्मेलनका क्रममा नेकपा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले चितवनका सातै पालिकामा सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । भरतपुरमा पाँच दलीय गठबन्धनबाट राज्यसत्ताको दुरुपयोग गर्दै चुनाव जित्न अनेक कामहरु भइरहेको भन्दै सचेत मतदाताहरु चनाखो हुनुपर्ने न्यौपानेले बताउनुभयो । कार्यक्रम नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख रविकिरण पौडेलको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?