Breaking News

भरतपुर महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपना

Banner

प्रतिमा कुमाल

चितवन, चैत १७ –

भरतपुर महानगरपालिका क्षेत्रमा ५५ प्रतिशत माटोमा अम्लियपनाको समस्या रहेको देखिएको छ ।

माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाले महानगरसँग समन्वय गरेर सञ्चालन गरेको तीन दिने माटो परीक्षण शिविरको नतिजामा यस्तो देखिएको हो ।

तीन दिनसम्म चलेको शिविरमा महानगरका विभिन्न वडाबाट संकलित २४१ वटा नमुना परीक्षण भएको थियो । सो परीक्षणको नतिजा अनुसार यहाँको माटोमा ५५ प्रतिशत अम्लियपन देखिएको प्रयोगशालाका प्रमुख डा. जनार्दन खड्काले जानकारी दिए । साथै उनले प्राङ्गारिक पदार्थको मात्र माटोमा ४० प्रतिशत रहेको बताए ।

मुख्य समस्याको रुपमा रहेको अम्लियपन हटाउन कृषि चुनको प्रयोग गर्न उनले आग्रह गरेका छन् । प्राङ्गारिक पदार्थको प्रयोग बढाउने खालका कार्यक्रमहरु महानगर कृषि शाखालाई सुझाव दिएको उनले बताए । उनले भने, ‘गोठ सुधार कार्यक्रमहरु र प्राङ्गारिक मलको गुणस्तर अभिवृद्धि गर्नको लागि जैविक मलको प्रयोग प्राविधिक सल्लाह हामीले माटो परीक्षणकर्ताहरुलाई दियौं । यसैको आधारमा शाखाले काम गर्नुपर्छ भनेर सुझाव दिएका छौँ ।’

के कारण बढ्दै छ अम्लियपन ?

माटोमा अम्लीयपन बढ्नुको प्रमुख कारण अत्यधिक मात्रामा प्रयोग गरिने रासायनिक पदार्थ भएको विज्ञहरु बताउँछन् । किसानहरूले माटो परीक्षण नै नगरी रासायनिक मलको प्रयोग गर्दा माटो बिगार्ने काम गरिरहेको छ । किसानहरु रासायनिक मलमा पनि युरिया धेरै नै प्रयोग गर्छन् । पोटास, डीएपीको मात्रा मिलाइँदैन, यसले गर्दा अम्लियपन बढेको विज्ञहरुको निष्कर्ष छ । वर्षमा एउटै मात्र बाली लगाउँदा पनि अम्लिय बढ्ने गर्दछ ।

अम्लियपन बढे उत्पादन स्वतः घट्ने माटो विज्ञको भनाइ छ । अम्लीयपनको मात्र यसरी नै बढे तरकारी, फलफूललगायत बाली उत्पादन केही वर्षमा नै शून्यमा झर्ने सम्भावना रहन्छ । जमिन ५.५ देखि ६.५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । ४.५ देखि ५.६ सम्म पीएच हुँदा चिया खेती गर्न सकिने जनाइएको छ । तर, ५.५ देखि तल गएपछि क्रमशः उत्पादन घट्दै जान्छ । र, माटोलाई सुधार्नु पर्ने हुन्छ ।

अम्लीयपन घटाउन के गर्ने ?

माटोमा अम्लीयपन घटाउन चक्रीय प्रणालीअनुरूप बाली लगाउनुपर्ने हुन्छ । सिजनअनुसार धान, गहुँ रोपेपछि तरकारी, फलफूल, कोषे बाली लगाउनुपर्ने विज्ञहरु बताउँछन् । मास, मुग दाल जस्ता बाली लगाउनाले जमिन उर्वर हुने र अम्लीयपन घट्न जान्छ । पराल, मकैकोे ढोडलगायत बस्तुलाई खेतमा जलाउँदा माटोमा रहेको प्राङ्गारिक पदार्थ जल्न जान्छ । मानिसलाई खानाको जती आवश्यक पर्छ बिरुवाका लागि पनि त्यति नै आवश्यक तत्व माटोमा हुन्छ । बिरुवाले ६५ प्रतिशत बढी आवश्यक पदार्थ माटोबाट र अन्य हावाबाट लिने गर्छ । कृषि विकास मन्त्रालयले माटो सुधारका लागि थप कार्यक्रम तय गर्न आवश्यक रहेको विज्ञहरु बताउँछन् । तर, बिडम्बना नेपाली बजारमा कृषि चुनको सधै अभाव हुने गर्छ । सरकारले अनुदानमा कृषकलाई चुन उपलब्ध गराउन आवश्यक रहेको कृषक बताउँछन् । कृषकलाई माटो परीक्षणका बारेमा सचेत गराई सुधार्ने उपाय बारे पनि अवगत गराउनुपर्ने र सहजरूपमा कृषि चुन पाउने व्यवस्था मिलाउनुपर्ने चितवनका किसानहरुको माग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>