चितवन विशेष

मूल्य श्रृंखला परियोजना ‘भिटा’ बागमती प्रदेशमा शुभारम्भ

Banner

चितवन,चैत ११-

कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) बागमती प्रदेशमा शुभारम्भ गरिएको छ । बिहिबार भरतपुरमा आयोजित कार्यक्रम मार्फत परियोजनाको शुभारम्भ गरिएको हो । ६ वर्षसम्म चल्ने यो कार्यक्रमका लागि नेपाल सरकार, अर्थ मन्त्रालय र आईएफएडीबीच २०७८ असोजमा सम्झौता भएको थियो ।
बागमती लुम्बिनी र मधेस प्रदेशका १ लाख २० हजार कृषकले लाभ पाउने उक्त कार्यक्रमको लागि ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष’ (आईएफएडीे) ले करीब १० अर्ब रुपैयाँ ९८० मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग गरेको छ ।

यस कार्यक्रम देशका ५ वटा प्रदेशको विभिन्न जिल्लाहरुमा आयात प्रतिस्थापन गर्न सकिने, निर्यात प्रर्वद्धन योग्य र केहि कृषि वस्तुमा मुलुकलाई आत्मनिर्भरता तर्फ लैजाने खालका १२ वटा बाली तथा पशुवस्तुमा सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका सचिव धनिराज शर्माले परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले कृषि विकास बैंक किसानबाटै टाढा भएको हो की भन्ने भान भएको वर्तमान परिवेशमा यस परियोजनाको माध्यमबाट फेरि किसानका माझमा आफ्नो पहिचानलाई प्रष्ट पार्ने अवसर पाएको विश्वास व्यक्त गरे ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भिटा कार्यक्रमले बजारको मागमा आधारित कृषि वस्तुको व्यावसायीकरणमार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा कृषिको व्यवसायीकरण, समावेशीकरण र प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको बताए ।
कार्यक्रमबाट प्रत्यक्ष रूपमा १ लाख २० हजार साना कृषक परिवारहरू विशेष गरी महिला, युवा, दलित, जनजातिलगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार हुने उनले बताए ।

बैंकका बागमती प्रदेश निर्देशक रघुनाथ न्यौपानेले दातृ निकायमार्फत प्राप्त उक्त सहुलियतपूर्ण रकम सहि ढंगबाट यस प्रदेशका कृषक, उद्यमी, संकलनकर्ता, प्रशोधनकर्ता आदिलाई मूल्य श्रृंखलामा आवद्ध गराई लगानी गरिने र यसबाट अधिकांस किसान लाभान्वित हुने बताए ।

कृषि लगानीका लागि अगुवा बैंकको रुपमा अघि सारेको कृषि विकास बैंकलाई यो कार्यक्रमको लागि ६ वर्षमा करीब १० अर्ब रुपैयाँ उपलब्ध हुनेछ । भिटा कार्यक्रमले बागमती,लुम्बिनी र मधेस प्रदेशका २८ जिल्लामा १२ वटा बाली तथा पशु वस्तुको मूल्य श्रृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>