
उत्तम सेढाई
चुनाव केबल जीत र हारको राजनीतिक युद्ध मात्र होइन, यो एउटा समय सान्दर्भिक समाजिक विकासको शंखघोष हो । राजनीतिक विचारधारा र सैद्धान्तिक मञ्चनको हतियारद्वारा लडिने चुनावी युद्धमा समाज निर्माणको आधार तयार गर्न र समयसापेक्ष विकास सुनिश्चित गर्न दृढ इच्छाशक्ति एवम् विश्व आधुनिकीकरणमा राम्रो दख्खल राख्न सक्ने चुनावी सिपाही उत्रनु आजको समाजको अहम् आवश्यकता हो ।
चुनावी रस्साकस्सीको दौडमा समाजको गतिशिलता, आजको विश्व आधुनिकीकरण र दिगो विकासका अवधारणालाई राजनीतिक दल र चुनावी उम्मेदवारले राम्रैसँग अध्ययन क्षमता राख्न सक्नु पर्छ जसले समाजको विश्वास जित्न सजिलो हुन्छ । समाजको गतिशिलता र आजको विकासको दृष्टिकोणको केन्द्रबिन्दु समाजमा व्याप्त वातावरणीय, सामाजिक र आर्थिक आयामहरूको प्रतिस्पर्धात्मक आवश्यकतालाई सन्तुलनमा राख्नु नै हो ।
विकास सिद्धान्त बारेमा फोकस गरी रहँदा हामीले बलियो, स्वस्थ र न्यायपूर्ण समाज सुनिश्चित गर्न समाजका नेतृत्वकर्ताहरूले जनताका विविध आवश्यकताहरू पूरा गर्ने, समाजिक कल्याण, सामाजिक एकता र समावेशीकरणलाई प्रवद्र्धन गर्ने र समान अवसर सिर्जना गर्ने पहिलो र मूल काम हो । आज समाजले यस्तो विकास खोजेको छ कि जसले वर्तमान समाजिक अवस्थितिलाई वर्गीय हिसाबले सम्बोधन गर्न सकोस् र वर्तमान समाजलाई भविष्यको अपेक्षित समाजिक रूपान्तरण बीचको पुल बन्ने आधार निर्माण गर्न सकोस् । यसको लागि चुनावमा होमिन तम्तयार रहेका र भोलिका दिनमा जितेर आउने राजनीतिक प्रतिनिधिहरूले पुरातन शैलीको काम गर्ने तरिकाहरु रूपान्तरण गर्दै समय सुहाउँदो आधुनिक शैलीको प्रयोग गर्न अत्यन्त जरूरी छ जुन आजको समाजको नौलो प्रयोग र जनताले गरिरहेको अपेक्षा हो ।
नविनतम् विकासका अवधारणाको प्रयोग हेर्न हामी धेरै पर पुगिरहनु पर्दैन । उदाहरणका लागि हामीले हाम्रै छिमेकी मुलुक भारतले अंगिकार गरेको ‘भारतीय विकास मोडल’ को सारलाई बुझेर यसको प्रयोग नेपालको अर्थनीति र पूर्वाधार विकासमा लागू गर्न सके देशले चाँडै नै फड्को मार्न सक्छ ।
आज भारतले मिश्रित उदारवादी लोकतान्त्रिक समाजवादी मोडेलको प्रयोग गरिरहेको छ र हाम्रो देशको संविधानले पनि समाजवाद उन्मुख राष्ट्रको परिकल्पना गरिरहेको छ । समाजवादको यात्रा परिकल्पना गरिरहदा त्यसको पूर्वसंध्यामा उत्पादनको गुणात्मक वृद्धिसँगैको आर्थिक परिवर्तन बलियो आधार र जग तयार गर्न जरुरी छ । सामान्यतया समाजवादी समाज निर्माणमा गरिबी, भोक, रोग, निरक्षरता र आर्थिक तथा औद्योगिक विकासलाई नियन्त्रण गर्दै समाजमा विद्यमान गरिबीको खाडल पुर्न समाजका धनी र गरिब वर्ग बिचको दूरी घटाउनु पहिलो र प्रमुख काम हो । त्यसपछि राज्यका सम्पूर्ण स्रोत र साधनमा समान पहुँच कायम गर्दै संगठित र योजनाबद्ध प्रयासद्वारा नै समाज र राष्ट्र विकासको अवस्था क्रमिक रूपमा परिवर्तन गरी सामाजिक र आर्थिक वृद्धि सुनिश्चित गर्नु हो ।
राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्तिको अहम् आवश्यकताले आज समाज जकडिएको छ । समाजको यस्तो अवस्थितिमा भावी स्थानीय निकायको निर्वाचनको सरगर्मी बढिरहेको बेलामा राजनीतिक दलहरूको आ–आफ्नै तर्क र दाबीहरु हुनु स्वभाविक हो । जनताहरुको बढ्दो राजनीतिक चेतना एवम् राजनीतिक दलहरू प्रतिको वितृष्णाको ख्याल गर्दै पार्टीहरूले उम्मेदवार घोषणा गर्न अत्यन्त चुनौतीपूर्ण रहने छ । कुनै पनि राजनीतिक दल समाज र सरकारबीचको पुल हो तर त्यही पुलबाट सरकारसम्म पुग्न सयर गर्ने जनताहरु रूष्ट भइरहेको बेला राजनीतिक पार्टीले यस्तो उम्मेदवार छनौट गर्नु पर्छ कि जसले समाजको बस्तुस्थितिको सही विष्लेषण गरी नविनतम् विकासका अवधारणाहरूलाई सम्पूर्ण हिसाबले लागू गर्ने ल्याकत राख्छन् ।
विश्व परिवेशमा बढ्दो आधुनिकीकरण, औधोकिकरण, आईटी सम्वत डिजिटलाइज्ड प्रविधि, भर्चुअल शिक्षा र सेवा प्रणाली, यातायातका स्मार्ट ट्राफिक प्रविधिहरू, बैंक तथा वित्तीय साझेदारमा कृषि आधुनिकीकरण, ग्रामीण प्रविधिका विकासलगायत पर्दछन् । नेपाली समाजमा तीनका प्रभाव र प्रयोगको तादम्यता मिलाउन सक्ने व्यक्ति नै भावी स्थानीय निकायको निर्वाचनको लागि उपयुक्त उम्मेदवार हुनेछ । केबल पार्टीमा लामो संघर्ष, त्याग र बलिदानीको सम्मानको लागि भन्दै सतही मूल्यांकनबाट मात्र उम्मेदवारको तक्मा वितरण गरियो भने चुनाव त जित्ला नजित्ला तर चुनाव जितेको खण्डमा पनि जनताले खोजेको सामाजिक सेवा र न्यायको सन्दर्भमा राजनीतिक पार्टीहरुले पल पल हारिरहनु नपर्ला भन्न सकिन्न । त्यसैले भावी स्थानीय निकायको निर्वाचनको तयारी गरिरहँदा पार्टीहरूले विवेचनात्मक विष्लेषणको रुपमा उम्मेदवार आकांक्षीहरुको क्षमता र सम्भावित ईच्छा शक्तिको मापन गर्नु पर्छ । पार्टी जीवनमा कार्यकर्ताहरूले पु¥याएको योगदान एउटा विशिष्ट योगदान हो भने जनप्रतिनिधि भएर समाजलाई पु¥याउने सेवा भने कर्तब्यनिष्ठ भई सिंगो समाजको अभिभावकत्व ग्रहण गर्नु हो ।
यसकारण समाजमा सेवक बन्न लायक र क्षमतावान उम्मेदवार पार्टीहरुले छनौट गर्न सके मात्र जनता र समाजको भाग्य र भविष्यको आमूल परिवर्तन स्थापित गर्न सकिन्छ नत्र भने पार्टीहरुको जीत केबल राजनीतिक जीत मात्र हुनेछन् भने सामाजिक रूपमा फेरि पनि हार व्यहोर्न बाध्य हुनेछन् ।
(लेखक सेढाई, नेकपा एमाले राप्ती नगर कमिटी सचिवालय सदस्य एबम् राष्ट्रिय युवा संघ राप्ती नगर कमिटी संयोजक हुन् ।)