Breaking News

चितवनमा म्यादी प्रहरीका लागि आवेदन बुझाउन सयौं युवाहरुको भीड

Banner

पूजा ढकाल

चितवन, चैत ६-

जिल्लाप्रहरी कार्यालय चितवनमा आज म्यादी प्रहरीका लागि दरखास्त बुझाउनेको भीड लागेको छ ।

स्थानीय तहको निर्वाचन–२०७९ लाई लक्षित गर्दै आजबाट चितवनमा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीका लागि दरखास्त दिन आब्हान गरेको छ । आवेदन खुलेको पहिलो दिनमा नै यतिधेरै युवाहरुको भीड हुनुले बेरोजगारीको समस्या विकराल बन्दै गएको तर्फ संकेत गरेको छ ।

सरकारले देशभरबाट एक लाख म्यादी प्रहरीमा भर्ना खुलाएको छ । तर, चितवन जिल्लाबाट १७०९ जनाको लागिमात्रै सरकारले आवेदन खुला गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार इच्छुक व्यक्तिले आजदेखि चैत ११ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर दरखास्त दिन सक्नेछ ।

म्यादी प्रहरीका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले दर्खास्त बुझाउन सक्ने अधिकारीले बताए । नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई प्रथमिकता दिइने उनको भनाइ छ ।

भर्ना भएकाम्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत सात हजार २००, पोशाक र अन्यखर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.