Breaking News

माडी नगरपालिकाको एकमात्र झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

Banner

चितवन, चैत ५-

माडीको पहिलो र एकमात्र झोलुङ्गे पुल माडीकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

माडी–ठोरी हुलाकी सडकअन्तर्गत खरकट्टा बजारदेखि एक किलोमिटर दक्षिण तर्फ माडी–८ को कान्तिपुर, नयाँ गाउँ र बाह्घरेको संगम स्थल घाँगर खोलाको मध्य भाग भन्दा केही माथि माडीमा नै पहिलो पटक झोलुङ्गे पुल बनेपछि यस ठाउँले घुमफिर र पिक्निक स्पोर्ट्सको रुपमा पर्यटक लोभ्याउन थालेको छ ।

माडी नगरपालिकाकी उपमेयर ताराकाजी कुमारी महतोले माडीको बैकुण्ठे ताल नजिकै पर्ने भएकोले पनि झोलुंगे पुलमा आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन्, ‘माडी नगरपालिकाको एक मात्र झोलुंगे पुल भएकोले पनि सबै जना पुल हेर्न जाने फोटो खिच्ने गर्न थालेका छन् । मानिसहरुको दुईवटा बस्तीलाई जोड्ने भएकोले पनि आहोरोदाहोर बढ्ने गर्छ ।’

पर्यटकको आगमन बढेसँगै यो ठाउँमा पार्क समेत बनाउन लागिएको माडी नगरपालिका–८ का वडा अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिए । अहिले यहाँ पिकनिक खाने, झोलुंगे पुल घुम्ने, फोटो खिच्ने, टिकटक बनाउनेको त भीड नै लाग्ने गरेको छ । अझ शनिबार र सार्बजनिक बिदाको दिन त यहाँ घुम्ने र पिकनिक खानेको धेरै घुइँचो लाग्ने गरेको स्थानीयबासी शान्ति प्रजाले बताइन् । यहाँ अहिले दैनिक रुपमा १०० भन्दा धेरै र सार्वजनिक बिदा तथा शनिबारको दिनमा २०० बढी मानिसहरु आउने गरेको पनि उनले जानकारी दिइन् । पिकनिक खानको लागि त धेरै जसो दिनमा दिनमै चार टोलीसम्म हुने हुँदा पिकनिक खाने स्थानको समेत कमी हुने गरेको अर्का स्थानीय एवम् जुझारु महिला सुकमाया प्रजाले बताइन् । झोलुंगे पुल बनेपछि त्यस ठाउँका करिब २० घरधुरीलाई आवतजावतमा सहज भएको छ । पहिले त पुल थिएन बर्खा याममा बिरामीहुँदा समयमानै अस्पताल जान समस्या थियोे । जसका कारण अकालमा नै ज्यान जान्थ्यो । अहिले त पुल बनेपछि सजिलो भएको छ । स्थानीय वृद्धा पदमकुमारी प्रजाले खुसी हुँदै भनिन् । उनले भनिन्, ‘खोलो उर्लिएर आउदा नाती नातिना स्कुल जान नपाउने गए पनि बिधालयबाट फर्किदा खोलो बढे पछि वारिको वारी पारीको पारी भएर नाति नातिनालाई टुलुटुलु हेर्नु शिबाय केही थिएन । अहिले त सहज भएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.