जोडिनुहोस

विचार/ब्लग

वर्तमान समयमा दलितको सवाल

विचार

Banner

कल्पना चालिसे–

दलितहरु आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक विभेदबाट प्रताडित छन् । यो यथार्थ हो, कल्पना होइन । यसलाई स्वीकार नगर्नु विभेद र शोषणलाई संरक्षण दिनु हो ।

दलित एक समाजको विभेदकारी विषय मात्र नभएर समग्र राष्ट्रकै प्रश्न वा विषय बनेको छ । कामको वा पेशाको आधारमा गरिएको विभाजनबाट दलित नाम एउटा जात हो । सीपको पहिचान गरी कामको विभाजन गरेका जय स्थिति मल्लले सबभन्दा तल्लो वर्गमा दलित भनेर विभाजित गरिदिए । यसरी कामको र सीपको आधारमा दलित रहन गयो र वर्तमान समयसम्म यसले सामाजिक विभेद र अन्यायको विकराल रुप ग्रहण गरिसकेको छ ।

केही समयअघिको कुरा हो, मेरो स्थायी घर बाग्लुङ भएकोले दशैँको रमझमसँगै स–परिवार पहाड पुग्यौँ । म ब्राहमण समुदायको भएपनि मेरो घरको वरीपरि दलित बस्ती अवस्थित छ । आफ्नो गाउँ वा ठाउँको महत्व त्यतिबेला थाहा हुन्छ जून बेला गाउँ छोडी शहर या परदेशतिर होमिएको हुन्छ । वर्षौपछि घर पुगेको म गाउँ घुम्ने निकै ठूलो इच्छा भएकाले गाउँ घुम्न निस्किए । म अन्त कतै नगई दलित समुदायतिर लागे । त्यहाँ पुग्दा म भन्दा सानो उमेरका विवाहित किशोरीहरु मध्ये कुनै किशोरीको पेटमा बच्चा, कुनैको काखमा सानो नानी, कुनै दुई बच्चाको आमा र कुनै भर्खरभर्खर सिउँदोमा सिन्दुरले सजिएकी किशोरीहरुलाई देखे । बालअधिकार अनुसार शिक्षा आर्जन गर्ने, मनोरञ्जन गर्ने र नयाँ–नयाँ ज्ञानहरु बटुल्ने, सानो उमेरमा विवाह बन्धनमा परि सानो उमेरमा नै आमा बन्नु परेको पिडा/अवस्था प्रत्यक्ष आँखाले देख्दा निकै जिज्ञासु भएर एकटल रुपमा हेरिरहेकी थिए ।

म झसँग भए र एकजना चिनेजानेको व्यक्तिको घरतिर लागे । उक्त घरमा एक विवाहित किशोरीले बच्चालाई दुध पिलाइरहेकी देखे । उनको उमेर थाहा पाउन जिज्ञासा लागेकोले म उनलाई तुरुन्तै प्रश्न गर्छु । तिम्रो उमेर कति भयो ? उनी भन्छिन् मेरो उमेर १७ वर्ष पुग्यो । म फेरि प्रश्न गर्छु कि तिम्रो श्रीमान्को उमेर ? उनी भन्छिन् उहाँ २० वर्षको हुनुभयो । त्यसपछि म उनै किशोरीकी ससुरा बुवासँग प्रश्न गर्छु अंकल यति सानै उमेरमा यो अवस्था कसरी ? अंकल भन्नुहुन्छ, नानी ! दिन भरि काम नगरि घर सम्हाल्न गाह्रो हुन्छ । गरिबीले गर्दा छोरा–छोरीलाई राम्रो शिक्षा दिन सकिन । सानै उमेरबाट मजदुरी गर्न हिड्नुपर्यो । न म बुवाको छोरा बन्न सके, न म छोरा–छोरीको राम्रो बाउँ बन्न सके, न म श्रीमतीको राम्रो श्रीमान बन्न सके यति भन्दै अंकल आफ्नो कामतिर लाग्नुभयो । म शब्द बिहिन भएर आफ्नो बाटो लागे ।

दुई वर्षअघि पश्चिम रुकुमका नवराज विकले गैरदलितसँग प्रेम गर्दा अमानविय तरिकाले विकलाई मारेको घटना अझै सेलाएको छैन । एसइई परीक्षा दिएपछि गाउँ–गाउँबाट सदरमुकामका विद्यालय पुग्ने दलित विद्यार्थीले कोठा भाडामा पाउन नसकेका घटना वर्षेनी सुनिदै आएका छन् । जति निन्दा र भत्र्सना गरेपनि कमै हुने यस्ता छुवाछुत जन्य अमानवीय व्यवहारका साझी हामी गैरदलितलाई दलितका दलनले किन छुँदैन ? दलित भएकै कारण भोग्नुपरेका विभेद, हिंसा, छुवाछुत र अपमानले हामीलाई किन पोल्दैन ? सिङ्गो समुदायलाई दलित जातिका नाउँमा गरेको विभेद र छुवाछुतविरुद्ध हामी कहिलेसम्म मौन बस्ने ? विभेदमुक्त समाजमा दलितले शिर ठाडो पारेर बाँच्ने कहिले ? सबैसँग हातेमालो गर्दै जातीय समानता र सम्मानका साथ दलितले पनि आममानव समुदायबीच उभिन पाउने कहिले ? धारा, कुलो, चुलो, पानी छोएको, मन्दिर प्रवेश गरेको निउँमा होस् वा गैरदलितसँग विवाह वा प्रेम गरेको निउँमा होस्, दलितले कहिलेसम्म हिंसा, विभेद र अपमान सहिरहने ?

आर्थिक अवस्थाले गर्दा माथि उठ्न नसकेको प्रसङ्ग माथि उल्लेख गरिएको छ । यो त एउटा सानो झलक हो । देशको विभिन्न ठाउँमा यसरी नै लुकेर रहेका कयौँ झलकहरु भित्रभित्रै दबिरहेका छन् । २०६२–६३ को जनआन्दोलनको बलमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र र सरकारले छुवाछुत उन्मुलन राष्ट्रिय दिवस घोषणा ग¥यो । संविधानका मिठा अक्षरले न भोका दलितले खान पाए, न रोगीले उपचार पाए, न भूमिहीनले भूमि पाए, न आवास विहीनले आवास पाए, न नागरिकता विहीनले नागरिकता पाए, न बादी हलियाहरुको मुक्ति भयो । दलित भएकै कारणले, मधेशी दलित समुदायका नागरिकले नागरिकता नपाउनु आफैमा चुनौतीपूर्ण रहेको छ । उमेर पुगेर नागरिकता नहुनु भनेको अनागरिक हुनु हो । आफ्नै देशमा अनागरिक हुनुको अवस्था कस्तो होला ? सरकारी परिचय पत्र बिना नहुने कामहरु कसरी हुन्छ होला ? सधैँ माटोसँग काम गरेर आफू बस्ने बास या जमीन नहुँदाको पिडा कस्तो होला ?

वर्तमान दलितसँग सम्बन्धित मुख्यमुख्य सवालहरुः
–उच र निचको प्रश्न,
–विभेद र बहिष्करणको प्रश्न,
–संस्कार र संरचनाको प्रश्न,
–सामाजिक व्यवहार र राजनितीक चिन्तनको प्रश्न,
–मानवता र मानव अधिकारको प्रश्न ।

कानूनको दृष्टान्तका लागी कक्षा १० सम्मको शिक्षा निःशुल्क, दलित समुदायलाई उच्च शिक्षासम्म निःशुल्क जस्ता प्रावधानको व्यवस्था छ । दलित समुदायहरु राज्यको गुणस्तरिय शिक्षा र आर्थिक अवस्थाले गर्दा राज्यको प्रधान र नेतृत्व तहमा हुने प्रतिनिधित्व न्यून छ । जस्तै यो एक वर्षमा ३६ दलितको हत्या, कोरोना महामारीमा समेत भएका विभेद, दलित महिला तथा बालबालिकाहरु माथि भएका हिंसा तथा बलात्कार गाउँघरदेखी सामाजिक सञ्जालसम्म गरिएका विभेद, अपमान र घृणाले नेपाली समाजको वास्तविक चरित्र र दलित जीवनको त्रासदीपूर्ण अवस्था देखाउँछ ।

दलित र गैरदलितबीचको विवाहलाई सामाजिक प्रतिष्ठासँग जोडेर तिनलाई बहिष्कार गर्ने दुष्कार्य बारम्बार दोहोरिनु विडम्बना हो । दलितसँगको विवाहकै कारण कुटिएका, आफ्नो थाकथलो छोड्नु परेका र आत्माहत्या गर्ने सम्मका घटना जातीय विभेदको पराकाष्ठा नै हो । शिक्षित, सम्पन्न र सहरीयाहरुबाटै यस्ता घटना हुनु त सभ्य समाजकै कलंक हो । नयाँ पुस्ता जातीय विभेदलाई घटाउन र हटाउन राजी छ तर पुराना पुस्ताका अघि यीनको प्रयास कमजोर भइरहेछ । जातीय विभेद र छुवाछुतको प्रताडना सहन नसकी जात ढाँट्न थर बदलेका दलितको संख्या असंख्य पुगिसकेको छ । दलितहरु गैरदलितका अगाडि सतर्क भएर अलग्गै बस्ने र दलितलाई दलितले विभेद र छुवाछुतका साथै अपमानजनक बोली व्यवहार गर्ने कार्य अझै निर्मूल भएको छैन । वास्तविक नामभन्दा दलितका जात जोडेर जेठा कामी, साईला सार्की, कान्छा दमाई जस्ता नामले निम्न र मध्यम आधारका भाषा प्रयोग गरी बोल्ने, बोलाउने प्रचल्न ग्रामीण समाजमा अझैँ विधमान छ । दलितले छोए देवता रिसाउने, कुल विग्रने र पितृ रिसाउने जस्ता अन्धविश्वास यधपि छदैँछ ।

नेपालको वर्तमान संविधान २०७२ मा छुवाछुत तथा भेदभाव बिरुधको हक र दलितको हक भनी मौलीक हकमै उल्लेख गरेको छ । उक्त उल्लेख अनुसार कुनैपनि व्यक्तिलाई निजको उत्पति, जातजाति समुदाय वा पेशा व्यवसायका आधारमा कुनैपनि निजी तथा सार्वजनिक स्थानमा छुवाछुत तथा भेदभाव र छुवाछुतलाई पीडितहरुको दृष्टीकोणबाट हेर्दा नेपालको संविधानले प्रदान गरेका समानताको अधिकार केवल कागजी प्रतिवद्धतामा मात्र सिमित छ ।

समाजमा हुन त अरु उपल्ला जात भनौँदाको बीचमा पनि विभेद छ । त्यस्तै दलित भित्रपनि छुवाछुत, बिहेवारी, भात पनि नचल्ने अवस्था देखिन्छ । दमाही, कामी, सार्की मुख्य यी तीन दलीतमा पनि ठूलो विभेद छ । जबसम्म उनीहरु बिचमा छुवाछुतको अन्त्य हुँदैन अरुले हेप्नु स्वभाविक हो । पहिले आफ्नै जातमा यस्तो विभेद हटाउनु पर्छ, अनि एकजुट भएर आफ्नो हुक, हित र अधिकारको लागी अफूभन्दा उपल्ला जातसँग वा राज्यसँग लड्नु पर्छ । सबै जात बराबर हो, मानिस कोही सानो, ठूलो भन्ने हुँदैन । यो त हाम्रो समाजका पितापूर्खाले बनाएको नियम हो । यसलाई सबै मिलेर तोड्नु पर्छ, एकजुट भएर अगाडि बढ्नुपर्छ ।

जातिय विभेदविरुद्ध कानुनी व्यवस्था र क्रियाशील संस्थाको कमी नभएपनि लाखौँ दलित आफूमाथि विभेदका क्रियाकलाप भइरहेको भन्दै न्यायका लागि सडकमा आवाज उठाइरहेका छन् । पाइला–पाइलामा विभेद भोगीरहेका दलितका दमनप्रति अब हामी आँखा चिम्लिएर बस्नुहुँदैन । दलितका लागि छात्रवृत्ति, राहत, कोटा र कानूनी सुधारले मात्र अब जातीय विभेद छुट्दैन । यसका लागि सामाजिक संरचनासँगै हाम्रो परम्परागत सोँच र व्यवहार पनि पुरै बदलीनु पर्छ । विभेदविरुद्ध आवाज उठाउने र समाजसँग लड्नेहरुलाई सबैले साथ सहयोग गर्नुपर्छ । जातीय विभेदविरुद्धका ऐन÷कानूनलाई व्यवहारतः कार्यान्यन गर्न र दलितलाई न्याय दिलाउन सम्बन्धीत निकाय सजग भइरहनुपर्छ । राज्यलाई जातीय विभेदरहित बनाउन पीडितसँगै पिडक, राज्य, समाज र सम्बन्धित निकायहरु एक ठाउँमा उभिनुपर्छ । शासन र प्रशासनदेखी हरेक तह र निकायमा दलितको प्रवेश, पहुँच र प्रभाव बढाउनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.