जोडिनुहोस

Banner

चितवन, माघ १३-

कोरोना महामारीको समयमा पनि चितवनमा लगानीकर्ताहरु आकर्षण बढिरहेको छ ।

कोरोना महामारीको समयमा पनि करोडौं लगानीका चार ठूला उद्योग दर्ता भएर सञ्चालनमा आउन थालेपछि लगानीकर्ताहरुको चितवनमा आकर्षण बढेको पाइएको हो ।

उद्योग विभागका अनुसार भरतपुर महानगरपालिका–१ मा गहना उद्योग सञ्चालन गर्नको लागि गत आर्थिक वर्षमा दर्ता भएको छ । विश्वकर्मा गोल्ड एण्ड सिल्भर आरटेसियन नेशनल ट्रेड सेभिङ ग्रुप लिमिटेको नाममा सो उद्योगको लागि २४ करोड ४० लाख रुपैयाँ लगानी गरिँदै छ भने उद्योगबाट २१ जनाले रोजगारी पाउने भएका छन् । यसले वार्षिक ६० केजी गरगहना उत्पादन गर्ने लक्ष्य राखेको छ । नारायणगढको हङकङ बजारमा कार्यालय स्थापना गरेर यस उद्योगले प्रारम्भिक काम पनि सुरु गरेको छ । देशभरका झण्डै सात सय सुनचाँदी व्यवसायीहरुले यसमा लगानी गरेर यसलाई ठूलो उद्योगको रुपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । चितवनमा गत वर्ष कोरोना महामारीको बीचमा दर्ता भएका उद्योगहरु कतिपय सञ्चालनमा आइसकेका छन् भने कतिपय सञ्चालनमा आउने तरखर गर्दै छन् ।

त्यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर ५ मा दाना उद्योगको लागि पाँच करोड रुपैयाँ लगानी हुँदै छ । कुनलुन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी कम्पनी नेपाल प्रालिको नाममा उद्योग विभागमा गत आर्थिक वर्षमा दर्ता भएको उद्योगले २३ जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य बनाएको छ । यस उद्योगकले वार्षिक १० हजार मेट्रिक टन दाना उत्पादन गर्ने लक्ष्य छ ।

भरतपुर महानगरपालिकामा मात्र नभएर कोरोना महामारीकै बीचमा रत्ननगर नगरपालिकामा पनि लगानीकर्ताहरुको आकर्षण बढेको छ । रत्ननगर नगरपालिकाको वडा नम्बर १६ मा कुनहा इन्टरनेशनल अर्गानिक फर्टिलाइजर म्यानिफ्याक्चरिङ उद्योग प्रालिका नाममा पाँच करोड लगानी गर्ने गरी नयाँ मल उद्योग विभागमा दर्ता भएको छ । यस उद्योगले वार्षिक दुई हजार ५०० मेट्रिक टन अर्गानिक मल उत्पादन गर्ने लक्ष्य राखेको छ भने २४ जनालाई रोजगारीको लक्ष्य छ । त्यस्तै रत्ननगर नगरपालिकाको वडा नम्बर १५ मा नेपाल होरिजन इन्टरनेशनल प्रालिले पशु दाना उत्पादनको लागि आठ करोड ५० लाख लगानी गर्ने लक्ष्य राखेको छ । उद्योगले वार्षिक १४ हजार मेट्रिक टन दाना उत्पादन गर्ने लक्ष्य राखेको छ । यस उद्योगबाट ४८ जनाले रोजगारी पाउने उद्योगको लक्ष्य छ । यसरी चितवनसहित आर्थिक वर्ष २०७७÷७८ मा वाग्मती प्रदेशमा ८९ वटा उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांक छ । यसअवधिमा नेपालभर २०३ वटा उद्योग दर्ता भएका छन् ।

यी त उद्योग विभागमा दर्ता भएका उद्योग भए पनि चितवनमा साना लगानीका कयौं उद्योगहरु कोरोना महामारीकै बीचमा सञ्चालनमा आएका छन् । विभिन्न औषधि कम्पनीदेखि विभिन्न नयाँ उद्योग खोल्ने क्रम चितवनमा बढिरहेको उद्योगीहरु बताउँछन् । चितवनमा चौंडा सडक, विद्युत् र अन्य आधारभूत पूर्वाधारको राम्रो सुविधा भएकोले पनि लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

चितवन उद्योग संघका पूर्वअध्यक्ष राजु पौडेलले देशकै मध्य भागमा भएकोले पनि उत्पादनको वितरण गर्न सजिलो हुने भएकोले चितवन जिल्लामा उद्योगीहरुको आकर्षण बढिरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ देशमा अन्य क्षेत्रमा जस्तो मजदुरहरुको हडताल हुने समस्या चितवनमा देखिएको छैन । सडक र उद्योगका लागि आवश्यक पूर्वाधार राम्रो बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएकोले पोखरा, काठमाडौँदेखि भारतसम्म बजार विस्तार गर्न सहज हुने भएकोले पनि लगानीकर्ताहरु कोरोना महामारीकै समयमा पनि चितवनमा लगानी गर्न खोजिरहेका छन् ।’

देशभरमा उद्योग दर्ताको अवस्था हेर्दा चालु वर्षको ६ महिनामा १५४ वटा स्वदेशी तथा विदेशी उद्योगहरु चितवनसहित देशभर दर्ता भएका छन् । गतवर्षभन्दा चालु वर्षमा ५१ वटा बढी उद्योग दर्ता भएको हो ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग दर्ता भएका छन् । यी उद्योगले कुल एक खर्ब ८६ अर्ब लगानी प्रस्ताव गरेको छ ।

गत वर्ष यो अवधिमा १०३ वटा उद्योग दर्ता भएका थिए भने यी उद्योगले कम्तीमा १३ हजार ७४८ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । यस अवधिमा कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ ।

उद्योगको फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.