जोडिनुहोस

विचार/ब्लग

एउटा क्रुर समयको साक्षी सिर्जनको ‘मोक्ष’

पुस्तक समीक्षा

Banner

राधा कोइराला

सिर्जन अविरल विसं २०५० को दशकदेखि नेपाली साहित्य विशेषगरी कविताका क्षेत्रमा स्थापित नाम हो । सिद्धहस्त कवि र सञ्चारकर्मीका रूपमा सुपरिचित सिर्जन उपन्यासकारको नविन परिचय लिएर पुनः पाठकसामु उपस्थित छन् । ‘म आकाश हेरिरहेछु’ कवितासंग्रह (२०६०), ‘आदिगायक सेतुरामदेखि दिलमाया खाती’ जीवनीसंग्रह (२०६१ ) ‘क्यान्टोनमेन्ट र अरु कविताहरु’ कविता संग्रह (२०७०) प्रकाशित गरिसकेका सिर्जनको ‘मोक्ष’ उपन्यास (२०७८) चौथो साहित्यिक एवम् प्रथम औपन्यासिक कृति हो । सांग्रिला पुस्तक प्रालिको प्रकाशन रहेको प्रस्तुत उपन्यासले नेपालको १० बर्से द्वन्द्वलाई आधारभूमि बनाएको छ ।

संरचनाः

समयको कथा ( पृ.१––१७), नसकिने युद्ध (पृ.१८––३७),थवाङमा शारदा (पृ.३८––४५), कारागार(पृ.४६––५३), रेडियो समय(पृ.५४––६६), कन्टेनर (पृ.६७––७८), स्मृति कोलाज(पृ.७९–९०), इच्छाको बाटो (पृ.९१––९९), आविष्कारको कथा(पृ.१००–१११), निरीह अदालत (पृ.११२–१२३), पलायन (पृ.१२४––१३३), समयको साक्षी (पृ.१३४––१४७), दुःखको गीत (पृ.१४८––१५८), आमाको अनुहार (पृ.१५९––१७३), फरक बाटो (पृ.१७४–१८३), कठोर समय (पृ.१८४––२०२), मोक्ष (पृ.२०३–२१६) र सुनाउन नपाएको कथा (पृ.२१७––२३१) गरि मोक्ष उपन्यास जम्मा १८ परिच्छेद तथा २३१ पृष्ठमा संरचित छ ।

नेपालको इतिहासमा विसं २०५० को दशकदेखि २०६० को दशकसम्म गुज्रिएको द्वन्द्वलाई विषयवस्तु बनाएर धेरै साहित्य लेखिए । प्रस्तुत उपन्यास पनि नेपालको १० बर्से द्वन्द्वलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास हो । यसलाई युद्धसाहित्य भन्न सकिन्छ । एउटा क्रुर समयको चित्र जुन लेखक आफैंले भोगेको, देखेको र अनुभूत गरेको छ, यसमा चित्रित छ । आफूमाथिको अन्याय, अत्याचार, शोषण, दलन र असमानताको मुक्तिका निमित्त युद्धमा होमिएकाहरुलाई अन्त्यमा के प्राप्त भयो त भन्ने गम्भीर प्रश्नचिन्हको उठान उपन्यासमा गरिएको छ । युद्धको अन्त्य कहिल्यै नहुने र क्रान्तिका लागि संघर्षरत पात्रहरू अन्त्यमा युद्धबाट मोक्षको मार्गमा प्रवृत्त भएसँगै उपन्यासको अन्त्य भएको छ ।

लेखककै शब्दमा ‘समयको कथामा दलन र संघर्ष । प्रेम, युद्ध र जीवनदर्शन । बा हिंड्ने अलग बाटो र आमाको आँसु टिपेर मनको अक्षरले लिपिको उपन्यास हो ‘मोक्ष’ कतै नरमाएको मानिस कसरी खुसी हुन्छ मनको बाटोमा ! भौतिक दुनियाबाट कसरी पुग्छ मानिस आध्यात्मिक बाटोमा …….।’ उपन्यासमा युद्धको कोरा वर्णनमात्र छैन । यसमा लेखकको जीवनदर्शन , युद्ध र प्रेमको शालीन अभिव्यक्ति र सामाजिकता प्रतिबिम्बित छ ।

उद्देश्यः

पूर्वीय दर्शनमा नश्वरतालाई दुःखको कारण मानिएको छ । सांसारिक प्रपञ्चबाट मुक्ति पाउनु नै मोक्ष हो । मोक्षलाई वस्तुसत्यका रूपमा स्वीकार गर्न कठिन छ । यो एक वैयक्तिक अनुभूति हो । उपनिषद्हरुमा आनन्दको स्थितिलाई मोक्षको स्थिति भनिन्छ किनकी आनन्दमा सारा द्वन्द्वहरुको बिलय हुन्छ । वेदान्तमा आत्मसाक्षात्कारलाई मोक्ष भनिन्छ ।मृत्युपरान्त ब्रम्हमा विलीन हुनु मोक्ष हो भने ईश्वरवादमा ईश्वरको सान्निध्य मोक्ष हो । अन्य वादहरुमा जन्म र मृत्युको चक्रबाट मुक्ति नै मोक्ष हो ।

सिर्जनको यस उपन्यासमा भने युद्धलाई सर्वोपरी मान्दै युद्धमा होमिने पात्रहरुमध्ये अन्तमा आविष्कारले आत्महत्या र इच्छाले भिक्षुको बाटो रोज्नु, इमा र दिलसाहरु विदेशिनु, शारदा , दीपा र प्रज्ज्वलहरु युद्धमा मारिनु र आदित्यजस्ता पात्रहरु भयानक मानसिक द्वन्दबाट गुज्रिदै लेखनतर्फ लागिरहनुले युद्धको अन्त्य कहिल्यै नहुने र मानिसहरु यसबाट मोक्ष ( मुक्ति ) चाहन्छन् भन्ने देखाउन खोजिएको छ ।
१० बर्से माओवादी युद्धबाट अन्त्यमा के उपलब्धि हात लाग्यो त ? के पाए क्रान्तिमा जीवन उत्सर्ग गर्नेहरुले ? यस्ता तमाम प्रश्न उभिएका छन् उपन्यासमा।

युद्धको नाटक केवल सत्ताप्राप्तिको मञ्चन मात्रै बन्न पुगेको तितो यथार्थको प्रस्तुति यहाँ अभिव्यक्त छ । देश बदल्ने सपना देखाएर निर्दोष पात्रहरुको कलिला सपनाहरूलाई दुर्घटित पार्ने र भौतिक र मानसिक रूपमा गन्तव्यविहीन तुल्याउनेहरुको कुत्सित चरित्रको अनुहार यस उपन्यासले बेनाकाब गरिदिएको छ ।

भाषाशैली:

सिर्जनलाई कवि र रेडियोकर्मीका रूपमा सुन्ने बुझ्नेहरुलाई यो उपन्यास पढुन्जेल उनकै आवाज कानमा गुन्जिरहेको आभास हुन्छ । आख्यान भए पनि उपन्यासका हरेक वाक्य कविताजस्ता लाग्छन् । यसलाई काव्यिक उपन्यासका रूपमा पनि चर्चा गरिएको छ । भावको प्रस्तुतीकरण, पदक्रमको विचलन, बिम्बात्मकता, प्रतिकात्मकता र आलङ्कारिकताजस्ता विशिष्टताका कारण यसको भाषाशैली काव्यात्मक बन्न पुगेको छ । उपन्यासभित्रका वाक्यहरुमा कर्ता, कर्म र क्रियाको संगति एकाध स्थानबाहेक अन्यत्र भेट्न सकिन्न । जुन यसको शैलीगत वैशिष्ट्य हो।
जस्तैः
– आँखामा सिङ्गो कथा बोकेको थियो आविष्कारले ।(पृ.–७)
– “उज्यालो लिएर आउँछौं एक दिन।“ मुसुक्क हाँसिन् र आमाको हात समाइन् शारदाले । (पृ.२९)
–पहाडभित्र लुक्ने हतारमा थियो पहेँलो घाम।(पृ.९१)
–मध्य दिनमा एक दर्को पानी परेर उघ्रिएको आकाश फेरि अँध्यारिँदै गयो उसको मनजस्तै।(पृ.९१)

उपन्यास पढुन्जेल लागिरह्यो कि म कुनै लामो काव्यात्मक आख्यान पढिरहेकी छु । उपन्यासकार स्वयम् कवि पनि भएकोले होला उपन्यासको भाषाशैली ज्यादै नै कवितामय प्रतित हुन्छन् । शब्दको विन्यास मिलाउने हो भने प्रत्येक अनुच्छेद कविता जस्ता छन् ।

जस्तैः
पहाडभित्र
लुक्ने हतारमा थियो पहेँलो घाम
बादलले बादल नै धकेलेर
मैलिदै गयो आकाशको सुकिलो तन्ना
साँझ डाक्दै थिए
उड्दै बस्दै गरेका चराहरुले ।

अन्त्यमा:

कवि सिर्जन अविरल उपन्यासकारका रूपमा मोक्ष उपन्यास लिएर उपस्थित छन् । उपन्यास लेख्नु साँच्चै कठिन साधना हो । त्यसमा पनि एउटा इमान्दार लेखकका रूपमा आफूलाई प्रस्तुत गर्नु अर्को दृढ साहस हो । यस कृतिमा लेखक असाध्यै इमानदारीपूर्वक प्रस्तुत भएका छन् । उपन्यासमा चित्रित स्थानीय परिवेश , समय, घटना र पात्रहरू कतिपय आफूले पनि देखेको, सुनेको र चिनेको कारण अझै सुरुचिपूर्ण रह्यो। अन्त्यमा नेपाली आख्यानको भन्डारमा प्रस्तुत उपन्यासको उपस्थिति सार्थक रहोस्, शुभकामना छ आख्यानकारलाई ।

(कोइराला चितवनकी कवि तथा समालोचक हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.