
चितवन, माघ ६–
नक्कली नेपाली नोट कारोबारमा संलग्न दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–३ की २५ वर्षीया पविता घताने र राप्ती नगरपालिका–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् । गत मंगलबार भरतपुर–३ बेलचोकमा रहेको एक फेन्सी पसलमा कपडा खरिद गर्न पुगेकी पविताले नक्कली नोट दिएको जानकारी प्रहरीले पाएपछि अनुसन्धान थालिएको थियो ।
प्रहरीले पविताको साथबाट नेपाली एक हजार दरको १० वटा नक्कली नोट बरामद गरेको छ भने सोही घटनामा संलग्न गगनको साथबाट ल्यापटपलगायतका सामानहरु बरामद गरेको छ । उनीहरुलाई चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।