जोडिनुहोस

Banner

चितवन, माघ १-

उद्योगीहरुले भारतको सिमा क्षेत्र ठोरीतिर जग्गा किन्न आकर्षित हुन थालेका छन् ।

भरतपुरबाट दक्षिणमा पर्ने पर्साको ठोरीसम्म नवनिर्मित हुलाकी सडकका कारण उद्योगीको आँखा परेको हो।

जग्गामा लागत निकै सस्तो पर्ने भएपछि कतिपय भरतपुर तथा काठमाडौँका केही व्यवसायीले ठोरी क्षेत्रमा जग्गा खरिद गरेर होल्ड गरेका छन् । केहीले उद्योग निर्माणको काम पनि थालिसकेको गाउँलेहरुले बताएका छन् । स्थानीयबासीका अनुसार हुलाकी सडकका कारण अबको केही वर्षमै आवागमन सहज हुने भन्दै स्टील, खाद्यान्न, सवारीसाधन उत्पादक कारखाना, गोदाम, पसल, होटल, रेस्टुरा, पेट्रोल पम्प लगायतका लागि जग्गा खरिदको होडबाजी छ ।

ठोरीका स्थानीय तथा पर्यटन व्यवसायी सुदिप थापाका अनुसार विगतमा बन्द भएको छोटी भन्सार नाका सुचारु भएपछि पनि व्यवसायीहरुको आकर्षण बढ्यो । उनले भने, ‘भन्सार नाकाको स्तरोन्नतिको कुरा पनि उठिरहेको छ । ठोरीबाट भरतपुर आउन बाटो छोटो भएकोले धेरै पर्यटक ठोरीबाट सिधै चितवन आउन चाहन्छन् ।’ उनले केही दिन अघि मात्र पनि ठोरी जस्तो सानो क्षेत्रमा १२ बिघा बढी कारोबार भएको नारायणी अनलाइनलाई बताए । ठोरीबाट वीरगञ्ज जान ७० किलोमिटर पर्छ भने भरतपुर आउँन ६५ किलोमिटर पर्ने गर्छ । उनले भने, ‘ नाका सुचारु हुन्छ भन्ने हल्लाले चितवनका कतिपय व्यवसायीहरुले ठोरीमा ५० बिघासम्म जग्गा किनेर राखेका छन् ।’ चितवनका व्यवसायीहरु भन्दा अहिले वीरगञ्ज क्षेत्रका व्यवसायीहरु बढिरहेका छन् ।

एक वर्ष अघिदेखि सञ्चालनमा आएको हुलाकी सडकको लम्बाई करिब ६५ किलोमिटर छ । वीरगंजको प्रतिमा चोकदेखि आइसीपी, बहुअर्वा हुँदै सुवर्णपुर र उक्त सडक ठोरी हुँदै चितवनको माडीसम्म आएको छ । तर, अहिले वीरगंजदेखि ठोरीको ठुटे खोलासम्म करिब २४ फिट चौडा कालोपत्रे निर्माण भइ हस्तान्तरण भइसकेको छ ।

ठुटे खोलादेखि चौतारासम्म विस्तार गर्दा सडक पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ । त्यहाँ केही रुख काटनु पर्ने अवस्था छ । रुख कटान र कालोपत्रेका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त विभागबाट स्वीकृति नआउँदा ग्राभेल बाटो छ । तर आवागमन भइरहेकाले भविष्यमा यो सडकले पथलैया–वीरगंज औद्योगिक करिडोरको विकल्प दिएको छ ।

दुई वर्षयता वीरगंजको अलौदेखि बहअुर्वा र हुलाकी सडकखण्डको दायाँबायाँ जग्गा खरिद गर्नेहरुको लर्को लागेको बहुदुरमाई नगरपालिकाका कांग्रेस नेता राकेश यादव बताउँछन्। उनका अनुसार अहिले ठुल्ठुला औद्योगिक घारानाले जग्गा खरिद गरी बहुअर्वा गर्दौल क्षेत्रमा उद्योग लगाइरहेका छन्।

उनले भने ’हुलास समूहको एउटा पक्षले गर्दौलमा जस्तापाता र एंगल च्यानल बिम उत्पादन गर्न ठूलो उद्योग लगाइसकेको छ,’ उनले भने, ’गर्दौल–वीरगंज–पोखरिया खण्डमा हुलाकी सडकनजिकै गोल्छाको त्यो उद्योगले ठूलो क्षेत्रफलमा जग्गा लिएको छ। विशाल ग्रुपले जुस उद्योगको लागि ८ बिघा जग्गा खरिद लिएर काम गर्दैछ।’

मोटरसाइकल एसेम्ब्ली गर्ने उद्योग स्थापनाका लागि एउटा उद्योगी समूहले करिब चार बिघा जग्गा खरिद गरेर ओगटेको प्रष्ट देखिएको उनले बताए। वीरगंजकै व्यवसायी राजु दारुकाले तीन वर्षअघि सशस्त्र प्रहरीको बेस क्याम्प अलौभन्दा पूर्व करिब १६ कट्ठा जग्गा किनेका थिए । त्यसमा उनले अहिले पसलका लागि सटर र गोदाम निर्माण गरिरहेका छन् ।

त्यसैगरी, विन्दवासिनी चोकमा तिलावे खोलाभन्दा पश्चिम एउटा स्थानीय लगानीकर्ताको दाना उद्योग पनि निर्माणाधीन छ । उक्त क्षेत्रमा जग्गा सस्तो पाइने भएकाले अधिकांश व्यवसायीले खरिद गरिरहेको वीरगंजका उद्योगी स्वीकार्छन्। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता हुलाकी सडकको सडक टाँसिएको जग्गा प्रतिकट्ठा २५ देखि ३० लाखसम्ममा पाइरहेकाले सबैको ध्यान उतातिर गएको बताउँछन् ।

व्यवसायीहरुका अनुसार हुलाकी सडकले वीरगंजलाई भरतपुरसँग नजिक पारेकाले सो क्षेत्रको सडकमा उद्योग व्यवसायको सम्भावना उच्च रहेको उनीहरुको बुझाइ छ। वीरगंज करिडोरबाट उत्पादित मालसमान हेटौंडा ढुवानी गर्दा किलोमा ५० पैसा, चितवन १ रुपैयाँ, काठमाडौं–पोखरा २ रुपैयाँ लाग्छ भने हुलाकी सडकबाट माडी हुँदै भरतपुर माल पुग्यो भने किलोमा ढुवानी भाडा समेत ५० पैसाले घट्ने उनीहरुको विश्लेषण छ।

उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेश लाठले ढुवानी लागत घट्दा उपभोक्तालाई सस्तो सामान पाइने वातावरण बन्ने बताए । ’उत्पादनदेखि बजारसम्म चेन इफेक्ट पर्छ । उत्पादन र ढुवानी लागत कम परे बजारमा त्यही अनुसार किफायती, सस्तो मूल्यमा सामान पाइन्छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *