जोडिनुहोस

Banner

चितवन, पुस २६-

चितवनमा आइतबारबाट सुरु भएको चितवन महोत्सव र भोलिबाट सुरु हुने रत्ननगर महोत्सव रोकिँदा करोडौँको नोक्सानी हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले चितवन महोत्सव थप दुई दिन सञ्चालन गर्ने र रत्ननगर तथा खिचरा महोत्सव भने स्थगित गर्ने निर्णय गरेको हो ।

चितवन महोत्सव र रत्ननगर महोत्सव १० दिनसम्म सञ्चालन गर्ने गरी सबै तयारी गरिएको थियो । व्यवसायीहरुले उत्साहपूर्ण ढंगबाट मंसिरमा नै स्टल बुक गरेका थिए । एक्कासी कोरोना संक्रमितको संख्या बढेपछि महोत्सव आयोजकहरु चिन्तित बनेका छन् ।

चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले सबै व्यवसायीहरुको ठूलो लगानी भएकोले सबैलाई निकै चिन्तामा पारेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ चितवन महोत्सव व्यवसायिक प्रतिष्ठासँग पनि जोडिएको विषय हो । यसबाट करोडौँको घाटामा व्यवसायीहरु जाने स्थिति आएको छ । व्यवसायीहरुले स्टल बुक गरेर बनाएको योजनाहरु सबै चौपट हुन जान्छ ।’ उनले स्वास्थ्य सुरक्षाको मापदण्डहरु कायम गरेर चितवन महोत्सवलाई दुई दिन सञ्चालन गरिने बताए ।

चितवन महोत्सवमा सम्पूर्ण तयारी र प्रचार प्रचारका लागि मात्र डेढ करोड बढी खर्च भइसकेको व्यवसायीहरुले बताएका छन् । झण्डै ४५० स्टललाई व्यवसायीसँग प्रत्येकलाई १० दिनको सात हजारदेखि २५ हजारसम्म तोकिएको थियो ।

त्यसैगरी रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले रत्ननगर महोत्सवको तयारी धेरै खर्च भएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘महोत्सव तयारीका ३५ वटा समितिहरुले खर्च गरेकोले अहिले एकिन भन्न सकिँदैन । उपाध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको सम्पूर्ण तयारी सकिएकोले आफूहरु धेरै घाटामा जाने बताए । यसअघि २०७६ मा पनि रत्ननगर महोत्सव वर्षाले पूरा समय सञ्चालन नभई स्थगित भएको थियो । भोलिबाट सुरु हुने रत्ननगर महोत्सव माघ ८ गतेसम्म चल्ने तयारी गरिएको थियो । ३५० स्टल दर्ता भएको महोत्सव उद्घाटनका लागि गृहमन्त्री आउने कार्यक्रम तय भएको थियो । यस्तै चितवनमै संचालन हुन लागेको खिचरा महोत्सवमा पनि लाखौं रुपैंया खर्च भइसकेको छ । तर महोत्सव संचालन नहुने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *