जोडिनुहोस

Banner

चितवन, मंसिर २१ –

निर्माण व्यवसायी संघ चितवनले निर्माण दिवसका अवसरमा देवघाटको वृद्धाश्रममा वृद्धवृद्धाहरुका लागि भोजन एवम् नगद सहयोग गरेको छ । सोही अवसरमा वृद्धवृद्धाको लागि सभाहलको पनि उद्घाटन गरिएको छ ।

देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्रमा वृद्धवृद्धाका लागि निर्माण व्यवसायी संघ चितवनले सभाहल निर्माण गरेको हो । उक्त सभाहलको आज निर्माण दिवसको अवसर पारेर निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष रवि सिंहले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उक्त आश्रममा रहेका ३८ जना वृद्धवृद्धालाई भोजन गराउनुका साथै नगद रकम प्रदान गरिएको थियो । कार्यक्रममा अध्यक्ष सिंहले निर्माण व्यवसायीहरुले निर्माण कार्यसँगै आफ्नो सामाजिक दायित्व पनि पूरा गरिरहेको बताए । निर्माण व्यवसायीहरु सामाजिक कार्यमा पनि अग्रसर छन् भन्ने सन्देश दिन चितवन शाखाले ठूलो भूमिका खेलेको भन्दै सिंहले चितवन शाखाको प्रशंसा गरे ।

निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलले चितवनका विभिन्न निर्माण व्यावसायीहरुको आर्थिक सहयोगमा सभाहल निर्माण गरिएको जानकारी दिए ।

१० लाख रुपैयाँको लागतमा सभाहल निर्माण गरेको बताउँदै उनले वृद्धवृद्धाहरुले भजनकीर्तन गर्न मिल्ने खालको सभाहल बनाइएको बताए । उनले सभाहल निर्माणमा २० वटा निर्माण कम्पनीहरुको सहयोग रहेको बताउँदै उनीहरुलाई यही वर्षको माघमा हुन गइरहेको संघको चितवन शाखाको अधिवेशनमा सम्मान गरिने बताएका छन् ।

निर्माण व्यावसायी संघ चितवनका प्रथम उपाध्यक्ष केशव लामिछानेको संयोजकत्वमा भएको कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष धिरणबाबु घिमिरे, निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् चितवनका पूर्वअध्यक्ष सूर्यप्रसाद तिमिल्सिना, निर्माण व्यवसायी संघ विभिन्न पदाधिकारी, सदस्य, वृद्धाश्रमका संयोजक प्रविण प्रसाईंलगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?