जोडिनुहोस

Banner

सिर्जना अर्याल

नेपाली कांग्रेसको आसन्न १४ औं अधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिएकी वागमती प्रदेश सभा सदस्य गीता वाग्ले महाधिवेशन प्रतिनिधिमा चयन हुन सकिनन् । चितवनको क्षेत्र नम्बर २ बाट खुला महिला तर्फको उमेदवार बनेकी उनले २६८ (दुई सय अठ्सठ्ठी) मत मात्र प्राप्त गरिन् । स्पष्ट वक्ता, आध्यात्मिक व्यक्तिका रुपमा परिचित उनी विकास निर्माणका लागि मरिमेटेर काम गर्ने नेता मध्येमा पर्छिन् । चितवनका मात्र नभई देशभरीकै विपन्न तथा दिनदुःखीलाई स्वस्फूर्त सहयोग गर्ने मनकी धनी छन् । विभिन्न सामाजिक कार्यमा उल्लेखनीय योगदान पुयाउँदै आएकी उनलाई चुनावमा धेरैले तारो बनाए । यस्ता छन् उनले हार्नुका तीन मुख्य कारणहरु:

१.खस्रो बोली

उनी खस्रो बोल्ने नेताका रुपमा सबै माझ चिनिएकी छन् । तर चुनावका बेला चिल्लो बोलीले मात्र मन पगाल्ने तर्फ उनको ध्यान पुग्नै सकेन ।

२. पार्टीमा देखिएको खेमा

केन्द्रमा जस्तै चितवन कांग्रेसमा पनि विभिन्न खेमाहरु देखिएका छन् । उनले प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर दुई मा पनि क्षेत्रीय अधिवेशनमा प्रष्ट रुपमा विभिन्न खेमा देखिए । उनले पनि नगर अधिवेशन देखिनै एक खेमाको प्रतिनिधित्व गरेकी थिइन् । कसैलाई यो पदमा उठ कसैलाई यो पटकलाई बस भनेकै कारण उनकै खेमाका केहीको मन चिढिएिको थियो । जसले नतिजा नै प्रभावित बनाइदियो ।

३. फितलो चुनावी अभियान

प्रचारप्रसारलाई चुनाव जित्ने रणनीतिका रुपमा पनि लिइन्छ । तर उनी यसमा चुकिन् । आफ्ना लागि मत माग्दै नमागी अरुलाई जिताउने अभियानमा खटिएको देखियो । तर, उनको प्रचारमा खटिनेहरु निर्वाचन स्थलमा समेत खासै देखिएनन् । त्यसो त संभ्रान्त परिवारको पृष्ठभूमिले चिनिँदै आएकी वाग्लेलाई चुनावकै समयमा भने परिवार सदस्यले साथ दिनसक्ने अवस्था रहेन । उनका श्रीमान साहित्यकार श्रीभक्त अच्यूच वाग्ले केही वर्षदेखि अस्वस्थ छन् । छोरा बुहारी विदेशमा छन् । छोरी एनआरएनका पूर्वप्रवक्ता रञ्जु वाग्ले थापा पनि अष्टे«लियाबाट चुनावको दिन मतदान हुदै गर्दा मात्र आइपुगिन् ।

उमेरले ७० लागेकी उनीले सुरुबाटै यो आफ्नो अन्तिम चुनावी चटारो रहने दाबी गर्दै आएकी थिइन् । उनको हारलाई कांग्रेसीले मात्र नभई अन्य दल निकटले समेत अनौठो र अप्रत्याशित मानेका छन् । नेपाली कांग्रेसले वाग्ले जस्तो इमान्दार, निष्ठावान नेता चुन्न नसकेकोमा पछिसम्म पछुताउने प्रतिक्रिया आउन थालिसकेको छ ।

(अर्याल पत्रकार महासंघको केन्द्रीय सचिव हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *