होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • तपाईँलाई पनि चितवनसँग सम्बन्ध गाँस्न मन छ ?

तपाईँलाई पनि चितवनसँग सम्बन्ध गाँस्न मन छ ?

लक्ष्मीकृष्ण राजभण्डारी

चितवनको गैँडा, हात्ती, मयुरको ताँती… । केटाकेटीमा पढेको र गाएको गीत । भरतपुर, चितवनको आकाश खुलेको छ । हुन त दसैँपछिको शरदीय मौसम त्यसै पनि रमाइलो छ । उत्तरतिर सेताम्य हिमाल देख्दा मनै प्रफुल्ल हुन्छ । हामी नेपालीहरू सारै भाग्यमानी । तराइँको फाँटमा बसेर हिमालको दृश्य अवलोकन गर्न पाउँछौँ । कहिलेकाहीँ राजमार्गबाटै जंगलमा गैंडा चरिरहेको देखिँदो रहेछ । यहाँ घुम्न आउनेको चहलपहल छ । यति बेला एकजना मित्रले सौराहामा घुमेको, हात्तीमा चढेर जंगल घुमेको, गैँडा र बाघ भेटिएको फोटो फेसबुकमा राखेका छन् । त्यति मात्र कहाँ हो र ? बेलुकी थारुहरूको सांस्कृतिक नृत्य हेरेको मात्र नभई आफैँ पनि नाचेको फोटो उनले हालेका छन् ।

चितवन विभिन्न संस्थाहरूका लागि कार्यक्रम गर्ने उपयुक्त थलो पनि हो । दसैँतिहारको बीचमा पूर्वको एउटा लघुवित्त संस्थाले यहीँ सौराहामा आफ्ना कर्मचारीहरूको भेला गरायो । यहाँ कार्यशाला गोष्ठी सम्पन्न गर्नाका साथै जंगल सयर गरायो, ‘पशुपतिको दर्शन, सिद्राको व्यापार’ भनेझैं । हालै मात्र यहाँको कविडाँडा साहित्य समाजले नेपाल–भारत साहित्य उत्सव सम्पन्न ग¥यो । यस कार्यक्रमले दुवै देशका साहित्यकारहरू बीचको भावनात्मक सम्बध त प्रगाढ गरायो नै, नेपालमा प्रकाशित साहित्यिक कृतिहरू भारतमा सहज रूपमा पु¥याउनका लागि सम्बन्धित निकायलाई घच्घच्याउने काम गरेको प्रतिक्रिया पढ्न पाइयो ।

सबै जना यहाँ घुम्नकै लागि मात्र आउँदैनन् । जस्तैः मेरो चितवन आगमनको उद्देश्य स्वास्थ्योपचार सँग सम्बन्धित छ । चितवनको भरतपुर महानगरपालिका अस्पतालको शहर पनि हो । यहाँ दुईवटा मेडिकल कलेज छन् भने प्रशस्त अस्पताल छन् । यहाँ सरकारीस्तरको क्यान्सर अस्पताल पनि छ । त्यसैले त यहाँ देशै भरिका सर्वसाधारण मानिस भेटिनु स्वाभाविक नै हो । म मेरा आफन्तको उपचारका लागि केही दिनदेखि भरतपुर अवस्थित वीपी मेमोरियल क्यान्सर अस्पतालमा छु । अभैm एकमहिनासम्म मेरो दैनिकी अस्पताल र अस्पतालकै कुरुवाघरमा बित्नेछ ।

बिहान खेलकुद विकास समितिको कभर्ड हलमा पुग्छु ब्याडमिन्टन खेल्न, आप्mनै शारीरिक स्वस्थताका लागि । व्यक्तिगत परिचय छैन, तर खेल्न आउने सबैसँग आत्मियतापूर्वक अभिवादन आदानप्रदान हुन्छ । खेलुन्जेल सबै साथी । यो खेलले बाँधेको सामाजिक सम्बन्ध ।

सम्बन्धको अर्को रूप अस्पतालको स्वामित्वमा रहेको कुरुवा घरमा देख्न पाइन्छ । म बसेको घरमा १८ वटा कोठा छन् । दैनिक ३०० रुपैयाँ बुझाउनुपर्छ । चितवनलाई त्यसै त ७६ औँ जिल्ला भनिन्थ्यो । अहिले दुईवटा जिल्ला थपिएर ७७ भएपछि अब ७८ औँ जिल्ला भन्नुपर्ने भएको छ । यस भनाइलाई यस घरले पनि सार्थक बनाएको छ । यहाँ मेचीदेखि महाकाली सम्मका नेपाली दाजुभाइसँग भेट हुन्छ । उस्तै व्यथाले हामीलाई एकै ठाउँ भेट गराएको छ । खोतली हेरे सबैको हृदयमा उस्तै घाउ छ, उस्तै पीडा छ । कहिलेकाहीँ एकान्तमा आँखाबाट चुपचाप बग्ने पानीको रङ उस्तै छ । यहाँ पनि आत्मीयतापूर्वक अभिवादन आदानप्रदान हुन्छ, यहाँ बसुन्जेलका साथी । हामी पीर–व्यथाले सम्बन्ध जुराएका मानिस तर सँगै बसेपछि दुःखसँग लड्न पनि हिम्मत जुटाउँदो रहेछ । यो महारोगसँग लड्ने हिम्मत त्यसै जुट्दो रहेछ । भगवान् बुद्धले त्यसै त भनेका होइनन् नि, ‘संघम् शरणम् गच्छामी ।’

बोलीचालीले हामीलाई प्रष्ट छुट्याउँछ को कहाँको भनेर । हामी पूर्वेली भएर होला, पश्चिमेली नेपालीले बोलेको बुझ्न गाह्रो हुन्छ । जस्तोः ९ नम्बर कोठामा बस्ने नेपालगन्जकी हिरा बहिनीको लवज, उनले प्रयोग गर्ने शब्दावली बुझ्न मलाई गाह्रो छैन । तर १० नम्बर कोठामा बस्ने बैतडीकी राजमती आमाले बोलेको बुझ्न मलाई धेरै गाह्रो पर्छ । आधा मात्र बुझ्छु, उहाँले बोलेका कुरा तर मलाई उहाँले बोलेको सुनिरहूँ लाग्छ ।

बिरामी निको हुनुमा उपचारको भूमिका त हुन्छ नै, त्यसभन्दा ठूलो कुरा बिरामीमा हुनुपर्ने आत्मविश्वास । जस्तो ९ नम्बरकोठाकी हिरा बहिनी । उनलाई देख्दा बिरामी चाहिँ तपाईँको को हो ? भनेर धेरैले सोधे रे । तर आपूm नै बिरामी भएको कुरा बताउँदा सबै छक्क पर्नेे । उनी अरू बिरामीलाई यस्तो बेला कस्तो खानेकुरा खाने भनेर आफ्नो अनुभव सुनाउँछिन् । उनको आत्मविश्वास पनि गज्जबको छ । ‘आफन्तहरू फोन गर्छन् अनि भक्कानिएर रुन्छन्, उल्टै मैले पो सम्झाउनुपर्छ ।’ हिरा बहिनीको गुनासो छ । तिहारको अघिल्लो दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गर्नु परेकाले उनले यसपटक कुरुवा घरमै तिहार मनाइन् । उताबाट भाइ र छोरी आए । यहीँ टीका लगाउने कार्य सम्पन्न भयो । परिवार जता भेला भयो, त्यतै रमाइलो ।

हिरा बहिनीको छोरा सुरेन्द्र काठमाडौँमा स्नातकतहमा अध्ययन गर्दै छ । अहिले ऊ आमाको साथी । खाना पकाउन, कोठा सफा राख्न, आमालाई अस्पताल पु¥याउन सबै काममा अभ्यस्त भइसकेको छ तर उसले आप्mनी आमाको मात्र होइन, बेला–बेलामा राजमती आमाको पनि ख्याल राख्नुपर्छ । राजमती आमा अहिले कोठामा एक्लै हुनुहुन्छ । नाति तिहार अघि नै घर फक्र्यो । अस्ति उहाँलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने भो । बिरामीको आफन्तका तर्पmबाट कागजपत्रमा सहीछाप गर्नेदेखि औषधि ल्याइदिने, अस्पतालमा रुङ्ने सबै काम सुरेन्द्रले नै ग–यो । थाहा पाएर म पनि उसको साथी गइदिएँ । छुट्टी भएर फर्केपछि राजमती आमालाई औपचारिकतापूर्वक सन्चो बिसन्चो सोधँे । उदास हुनुहुन्थ्यो । सायद, घर–परिवारको सम्झना आएर होला । आखिर अप्ठ्यारो पर्दा त हो, आफन्तको धेरै याद आउने । न्यास्रो मेट्न उहाँ घरतिर फोन गरिरहनुहुन्छ । हिरा बहिनीकी दिदी आउँदै हुनुहन्छ, सुरेन्द्रलाई पालो दिन । सुरेन्द्रले मलाई अस्पतालमा के कहाँ कसरी गर्ने भन्ने सिकाएको छ । ऊ गए पछि राजमती आमाको ख्याल राख्ने पालो मेरो ।

८ नम्बर कोठामा अस्ति देखि उदयपुर तिरका भाइ आएका छन्, आफ्नी पत्नीको उपचारका लागि । उनीहरू साउनदेखि यतै रहेछन् । उपचारका लागि सुरुमा उनी यही क्यान्सर अस्पताल आएका रहेछन् तर एकजना अपरिचित व्यक्तिले छिटो उपचार हुन्छ भनेर निजी अस्पताल पु¥याइदिएछ । दुई पटक शल्यक्रिया भयो, तेस्रो पटकका लागि यहीँ रेफर गरिदिएछ ।‘ पाँचलाख रुपियाँ त त्यतै सकियो’, उनले दुखेसो पोखे । दसैँ अघि यहाँ फेरि शल्यक्रिया भयो । उनीहरू अहिले रेडियोथेरापीका लागि पालो कुरेर यही कुरुवाघरमा बसिरहेका छन् ।

यस कुरुवाघरमा एउटा सानो बिरालो छ । ऊ सबैको मन बहलाउने साथी भएको छ । भोक लागेपछि कोठा–कोठामा गएर म्याउ गर्छ । सबैले खानेकुरा दिन्छन् । उसको छाक टर्छ । कोठामा छिर्न खोज्छ । जाडोले होला, खुट्टाखुट्टामा टाँसिन्छ । यो सानो बिरालाले हामीलाई नजानिँदो तरिकाले माया गर्न सिकाएको छ, सद्भाव बाँड्न सिकाएको छ । कहिलेकाहीँ त हाम्रो गफ गर्ने विषय नै यही बिरालो भइदिन्छ । म यति बेला चितवनकै गोकुल काका र निला काकीलाई सम्झन्छु । बिरामी भएको कारण हिँडडुल गर्न नसक्ने डेजी (कुकुर) लाई उहाँहरूले आप्mनै छोरी जत्तिकै माया गरेर राख्नु भएको छ ।

बाटा–बाटामा कोही नाचिरहेको दृश्य देख्नुभयो भने अचम्म नमान्नुहोस्, तिनीहरू पक्कै टिकटक बनाउनेहरू हुनसक्छन् । यस्तो दृश्य यहाँ पनि देखिनु कुनै नौलो कुरा नै भएन । तिहार अघि मलाई घरबाट एउटा मण्डप बनाउने चाल्नी यहाँबाट ल्याइदिन भनियो । टिकटकबाट यहाँकी बहिनीले उक्त सामानको विज्ञापन गरेकी रहिछन् । म उनको पसलमा पुगेँ । उनका श्रीमान्ले भन्दै थिए, ‘नेपालगन्जमा आज सामान पठाइदिएँ । विराटनगरकाले खातामा रकम जम्मा गरिदिएका रहेछन्, भोलि उता पठाउनु पर्नेछ ।’ प्रविधिलाई समय काट्ने र सस्तो लोकप्रिय हुने साधन भन्दा आफ्नो अनुकूल सदुपयोग गर्न पनि जान्नुपर्ने रहेछ ।

चितवनको नारायणगढबाट करिब सात किमी. टाढा छ देवघाट । सेती गण्डकी र कृष्ण गण्डकीको दोभानमा रहेको यो भूमि भने तनहुँ जिल्लामा पर्छ । मन्दिर नै मन्दिर भएको यो देवभूमि हिन्दू धर्मावलम्बीहरूका लागि त त्यसै पनि पवित्र हुने नै भयो । त्यसैको प्रभावले पनि होला, चितवनमा हरिबोधनी एकादशी धुमधामले मनाइँदो रहेछ । साँझमा घरआँगनको तुलसी मठमा पूजा गरिसके पछि नाच्दै टोलटोलमा भजन–कीर्तन गरिरहेको दृश्य जहीँतहीँ देख्न पाइयो । तिहारमा बालिएको झिलिमिली बत्ती सोही रातबाले पछि मात्र झिकिँदो रहेछ ।

दुम्कौली नवलपरासीमा अवस्थित शाश्वतधामका बारेमा धेरै चर्चा सुनेको थिएँ । सिजी टेम्पल पनि भनेर चिनिने यस धाममा पुग्न चितवनबाट २५ किमीको यात्रा गर्नुपर्दो रहेछ । बेलुकीपख यो मन्दिर परिसर झन् सुन्दर देखिँदो रहेछ । नारायणगढको पोखरा बसपार्कबाट बसमा जान सकिँदो रहेछ यहाँ । सबैजना खुसी भएर घुमेको देख्दा आपूmलाई पनि त्यसै रमाइलो लाग्ने ।
नारायणी नदीमा सयर गर्नेहरूका लागि बोटिङको व्यवस्था पनि रहेछ । नारायणी पुलबाट देखिने दृश्य त्यसै मनमोहक । शरदले बिदा मागेर हेमन्त ऋतुलाई स्वागत गरिसक्यो । बिहान–बेलुका चिसो बढ्दै छ । मानिसहरू न्याना लुगा लगाएर बाहिर निस्कन थाले । तपाईँलाई पनि चितवनसँग सम्बन्ध गाँस्न मन छ ?

फोटो: पत्रकार रमेशकुमार पौडेल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका