होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • मुस्ताङदेखि घान्द्रुक सम्मको यात्रा

मुस्ताङदेखि घान्द्रुक सम्मको यात्रा

रमेश दियाली, 

मुस्ताङ, मंसिर ५ –

हल्का हुस्सु, कुहिरो र बादलको घुम्टोले डाँडाकाँडा छोपिरहेका थिए , अनि म मनमनै हर्षले पुलकित भएको थिए। नौँ डाडाँको घुम्तीमा गाडी फनफनी घुम्दै रफ्तार लिँदै गर्दा मलाई गाडी लाग्यो। म पनि गाडी संगै फनफनी घुमे। घुमे बनपाखा र डाडाँहरू म संग संगै। बान्ता आउला जस्तै हुन्थो। गाडीको झ्यालबाट टाउको बाहिर निकालेर हावाको स्पर्शमा मज्जा लिन्थे। धुलो उडेर अनुहारमा छ्याप्प छेप्थो। डाईभरले गाडीको सिसा बन्द गरिदिए। मेरो मनसंगै उडिरहेको थिए। लोक भाकाको लयमा गीत गुञ्जीरहेको थियो। गलवन्दी च्यतियो तिम्ले तानेर ‘‘ यात्रामा जोडीएका सबै जसो खुसी देखिन्थे। बाटो सम्झेर जीब्रो टोक्थे। हुन पनि हो सरकार नै कमजोर र निरिह भए पछि जनताले दुख पाउँछन नै। सडक बनाउने बजेट सबै खान्छन र भोटको अपेक्षा गर्छन। त्यो भनाई छ नि ….के गर्नेलाई भन्दा देख्नेलाई लाज भने झै।

हुस्सु र कुहिले बादलसंग लुकामारी गर्दै थिए। हामी बेनीको बाटो हुँदै तातोपानीको बाटोमा संघर्ष गरिरहेका थियौँ। धेरै जसो ठाँउमा पहिरोले बाटो बिग्रिएको थियो। मैले डाईभरलाई सोधे “ दाई यो सडक पहिला देखि यस्तै हो ? हजुर पहिलो पटक आउनुभएको मुस्ताङ ? सर ……दाई नभन्नु न। म त भाई नै हो। डाईभर भाईको गुनासो। के भन्नु र सर ? यो बाटोमा गाडी गुडाउने त कहाँ रहर हो र ? भोको पेट, परिवार र देशको मायाले यहि बाटो र माटोको माया लाग्छ। पहिले देखि यस्तै हो सर। बनाउँछन फेरी पहिरोले भत्काईहाल्छ। सयौंको ज्यान लिएको छ यो बाटोले तर पनि हिड्नै पर्यो। बिकल्प छैन। आज हजुरलाई जान मन लाग्यो भोली अरू कोहीलाई। वर्षौ भयो यो बाटोमा परिश्रम गरेर बाँचेको। सर मेरो नाम चै दिल गुरूङ हो। दिल भाई भने पनि हुन्छ। दिल भाई बोली रहँदा गाडी झ्याप्प रोकियो। दिल भाईको बोली नै मिठो। मेरो टाउको ह्वात्त अगाडी गयो। मेरो आँखाको ठिक अगाडी गाडीको लाम देखे। दिल भाईले गाडीलाई पछि सारे। अगाडीका गाडीहरू बिस्तारै साईड हुँदै पास गरे। भिरको भित्तामा टाँसिएर बसेको हाम्रो गाडीको पालो आयो। दिल भाईले लामो सास फ्याक्दै गाडीको हेनडल बटार्न थाले। म टवाल्ल परेर हेरी मात्र रहे। अगाडी भिर छल्लगं देखिन्थो। भिरको चेप हुँदै नदी बग्दै थियो। बग्दै थिए पनि…. नदी संगै।

चिसो बतासले मलाई छोएर जान्थो अनि म बताससंगै कुरा गर्थे। हाय ..यो हावा , डाडाँको बिचबाट खसेका झर्ना अनि म। नेपालको आकाशमा मडारिने बादल, विभिन्न उचाइमा उम्रने वनस्पति, त्यो पर्यावरणमा हुर्कने–खेल्ने जीवजन्तु र तीसँगै हुर्किएको विविधतायुक्त देख्दा लाग्छ यो स्वर्ग हो। भिरबाट देखिने कालीगण्डगी आफ्नै गतिमा दौडी रहेकी थिईन्। गाडीको आवाजसंगै कालीगण्डीको आवाज मिसिन्थो। डाडाँहरूलाई छिचोल्दै गाडी तातोपानीमा आएर रोकियो। म पनि रोकिए गाडी संगै। मन र आँखा भने चलिरहेका थिए। तातोपानीको हरियाली वातावरणमा लामो सास बाहिर उडाई दिए। मानिसको स्वास्थ्यमा अक्सिजनको महत्त्व कस्तो छ भन्ने पाठ कोभिड–१९ ले सिकाएकै छ।

वातावरण जोगाउने विषयमा हाम्रो निजी काम, कर्तव्य र व्यवहारले अह्म भूमिका खेल्छ। रूख रोपौँ अभियन नै चलेको हो तर रूख रोप्ने भन्दा रूख काट्नेको संख्या दिनदिनै बढी रहेको छ। तातोपानी नाम सानो मै सुनेको हो। धार्मिक दृष्टिले पनि यसको महत्व विशेष छ। धर्म र संस्कृतिको धनी देश, आस्था र विश्वास बोकेर बाचेको देश। दिल भाईलाई सोधी हाले। भाई …तातोपानी चै कता हो ? दर्शन गर्न मन छ । दिल भाईले चुरोटको धुवा फ्याक्दै बोले। उ तै हो भन्दै चुरोट च्यापेको दुईटा औलाले देखाए। मेरो आँखा दिल भाईको औला हुँदै उतै तिर गयो। अहिले त पानी नै छैन भन्दै गर्दा टेवलमा खाना आईपुग्यो। सानो रेष्टुरेण्ड , ठूलो मन भएका दाई र भाउजुले खाना खुवाउनु भयो। मिठो खानामा थप उहाँहरूको मुस्कानले मिठास थपिदिएको थियो।

पेट भरि खान खाएर फेरी गाडीले आफ्नो बाटो समात्यो। बेलुका हुँदै गर्दा हामी घासा आईपुग्यौ। घासामा चियाको स्वादमा एकै छिन रमायौं। घामले बिदाई गरेर जुनलाई स्वागत गर्दै थियो। चराचुरूङ्गीहरू बास बस्न हतारिँदै थिए। किराफटेगंराहरूको चिरबिर आवाज संगै हामी पनि जुमसुम तिर लाग्यौ।

ठाँउठाँउमा भत्किएको डाडाँलाई चिर्दै गाडी हल्लिदै गुडीरहेको थियो। हामी पनि पिगं खेले झै गाडी भित्र हल्लिदै थियौं। म भने गो प्रो गाडीको झ्यालबाट तेर्साउदै थिए। म हरेक पलहरू कैद गर्न चाहान्थे। एक ठाउँमा बसेर अनुभव गर्ने अनि नियाल्ने समय थिएन। हरेक दृश्यहरू एकपछि अर्को गर्दै पछाडि छुट्दै थिए। साझ झमक्क परेको हुनाले केही देखिदैँन थियो। बाटोमा खच्चचडहरू हुलका हुल देखिन्थे। साझको सात बजे हामी होटल टेकरसमा आईपुग्यौ। लामो सास लिँदै कोठा तिर गयौं। पोखराबाट हिड्दा नै होटल भनिसकोले सजिलो भयो।

मनभरि अनुभवनै अनुभवका छाँयाहरू फनफनी घुमीरहेका थिए। यात्राको हरेक क्षणहरूको झझल्को आइरह्यो। मेरो यात्राका हरेक पल अनि मैले मूर्खता पो गरे कि जस्तो लाग्थो। बाटो एकदमै डर लाग्दो थियो। अहँ । म सम्झिन चाहन्न। राती होटलको भाईले बोलाउनु भयो। म सुत्न लागेको थिए। हजुर भाई भन्दै कोठा खोले। “ दाई मुस्ताङको रक्सी छ , चाख्नु हुन्छ। मुस्ताङको रक्सी ? जिज्ञास सहित सोधे। हजुर दाई मुस्ताङ आएपछि त चाख्नु पर्छ नि। भाईको अनुरोधमा हुन्छ भने। भाईले मार्फा ब्राण्डी लिएर आउनुभयो। मैले पनि पिए। कतिखेर निदाए , थाहै पाईन। बिहान ५ बजे खच्चडको आवाजले निन्द्रा खुल्यो, हातमुख धोइवरी क्यामेरा अनि झोला तयार गरी चिया पिएर करिब नौं बजे कागवेनी तिर लाग्यौ।

साथमा आमाहरू र साथीसहित हिंड्यौं। कागवेनी मन्दिरहरूले घेरिएको थियो। कालीगण्डकीको किनारमा श्रद्धा तथा तर्पण गर्न विभिन्न ठाँउ देखि आउँदा रहेछन। प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको खानी कागवेनीको मनोहरम दृश्यहरू क्यामेरामा कैद गर्दै गर्दा युवा साधु संग भेट भयो। उहाँले कालीगण्डकी र यसको महत्वको बारेमा सुनाउनुभयो। गाडी चढ्न जाँदै गर्दा पछाडीबाट कसैले बोलाउनु भयो। मैले पुलुक्क फर्केर हेरे। हातमा कालो ढुंगा बोकेर किन्न आग्रह गर्नुभयो। मैले ढुंगालाई नियालेर हेरे। चिल्लो र कालो थियो। मैले यो के हो भने। उहाँले शान्त र मलिन स्वरमा सालीग्राम हो भनी चिनाउनु भयो। भगवान बिष्णुको रूपमा पुजा गरिन्छ भन्ने ज्ञान लिएर हामी मुक्तिनाथ तर्फ यात्रा मोड्यौ।

यहाँसम्म आईपुग्दा जात, धर्म, वर्ग, लिङ्ग आदिका आधारमा सबै नेपालीहरू समान छौं । यी समानताहरू केवल पहाडमा मात्रा नभएर तराई मधेश र संसार भरका नेपालीहरूमा छ भन्ने कुरा यी खोलानाला र प्रकृतिबाट सिक्न सकिन्छ।

करिब २ घण्टाको यात्रापछि हामी मुक्तीनाथआईपुग्यौ। खाली पेट उकालो बाटो हिड्दै मन्दिर पुग्यौ। बाटामा ढुंगाका घरहरू भेटिन्थे। पाखनबेद र बुढी ओखती नाग्लोमा राखेर बेच्न बसेका बजुहरूको गाला राता थिए। घामले मुक्तिनाथ मन्दिरको दर्शन गरिसकेको थियो। हामी पनि स्या…स्या र फ्या …फ्या…गर्दै मन्दिर पुग्यौ। मन्दिरको दर्शन गरेर दिउँसोको दुई बजे फर्कियौ। भोली पल्ट बेनी हुँदै घान्द्रुक तिर हिड्यौ। रमाईलो दृश्यहरू संगै चिसो बतासको स्पर्शमा मन आनन्दमा उडिरहेको थियो। गाडी नयापुल हुँदै घान्द्रुकको अफ्ठारो बाटोमा संघर्ष गर्दै थियो। पछाडी अरू पनि एउटा गाडी आईसकेको थियो। गाडीमा प्रायजसो युवायुवतीहरू थिए। मोबाईलमा दृश्र्यहरू कैद गर्दै थिए। कसैकसैले आफ्नै भाकामा गीत गाउँदै गरेको बाहिरै सुनिन्थो। असोज १ गतेदेखि मात्रा घान्द्रुक खुलेको हो।लकडाउन पछि बल्ल चाडपर्वको समय पनि भएको हुनाले खुलेको त्यहाँका स्थानियहरुले बताउनुभएको थियो ।

अहिले बाटो मर्मतको काम पनि चलिरहेको छ। बाटो भत्किएर गोरेटो मात्रा देखिन्थो। हाम्रो चडेको गाडीलाई जितेर पछाडीको जिप अगाडी गयो। हेर्दा हेर्दै जिप बाटोबाट तल बजारियो।

भिरको ढुंगामा ठोकिँदै कहाँ पुग्यो पत्तै भएन। हाम्रो गाडी झ्याप्प रोकियो। हामी सबै गाडी बाहिर आएर टुलुटुलु हेर्नु बाहेक केहि गर्न सकेनौ। एकै छिनमा पानी पर्न सुरू गरि हाल्यो। भिरमा अड्किएकाहरूले बचाउका स्वर गुन्जिरेको थियो। बिवस भएर आँखा चिम्लिन बाध्या भयौ र हामी फर्कियौ पोखरा तर्फ। मन भरि पिडा र आत्मबोध बोकेर फर्किदा के भयो होला मेरो हालत ? पोखरामा आईपुग्दा टिभीमा समाचार आईरहेको रहेछ। सबैजना कुशल बाच्नुभएको रहेछ । त्यसपछि बल्ल मनमा शान्ति मिल्यो ।

तस्बिरः रमेश दियाली

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका