जोडिनुहोस

Banner

काठमाडौं, मंसिर ४-

नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफ्नो पार्टीको चितवनमा हुन लागेको १० औं महाधिवेशनमा भारत अतिक्रमित क्षेत्रबाट पनि प्रतिनिधित्व रहने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा बोल्दै तामाङले भारत अतिक्रमित नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुराबाट जिल्लाबाट पनि महाधिवेशनमा प्रतिनिधित्व रहने बताएका हुन् । केपी ओली सरकारले भारत अतिक्रमित ती क्षेत्र समेटेर नेपालको नक्सा सार्वजनिक भएको थियो ।

पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने सचिव तामाङले बताएका छन् । उनले भने,‘हामी केपी शर्मा ओलीको नेतृत्वमा नै एमालेलाई अघि बढाउँछौं । पार्टी अध्यक्षमा उहाँ नै सर्वसम्मत हुने हो । त्यही मनोविज्ञानले हामीले काम गर्छौं ।’ उनले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् । उनले भने,‘अहिले हामी केपी ओलीकै अगुवाइमा अघि बढ्छौं । एमालेभित्रको गुट र सबैखाले समस्या समाधान गर्ने प्रयत्न गरेका छौं । तल्लो तहदेखि उच्च तहसम्म सहमतिको वातावरण छ । म सुरक्षित छु भन्ने भावना सबैमा विकास भएको छ । महाधिवेशनपछि पार्टी सदस्यताको आह्वान गर्दैछौं । अहिले हाम्रो पार्टी सदस्यता नौं लाख प्लस छ । महाधिवेशनलगत्तै हामी १५ लाख बनाउँछौं । हामी एकताबद्ध रुपमा आगामी चुनावमा अघि बढ्छौं ।’

साक्षात्कारमा उनले १० औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि सुनाए । तर, सहमति नभए चुनावको लागि पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ । उनले भने,‘हामी सर्वसम्मत् रुपमा पदाधिकारी चयन गर्ने प्रयत्नमा छौं । अहिले महाधिवेशन प्रतिनिधिको कुरा गर्दा पनि सबैजना पालिकादेखि केन्द्रसम्म सर्वसम्मत् प्रक्रियाबाट आएका छौं । हामी उम्मेदवार हुन पाईँदैन भन्दैनौं । उम्मेद्धवारी घोषणा गर्ने अवसर पनि दिइन्छ। उम्मेद्वारको बीचमा सहमतिको प्रयास गर्ने हो । प्रक्रिया सबै अपनाइन्छ । सम्पूर्ण तयारी छ ।’ उनले महाधिवेशनमा बजेटको हिसाबले साँढे ७ करोड लाग्ने अनुमान गरिएको सुनाए । आम नेता तथा कार्यकर्ताले उत्साहपूर्वक पार्टी कोषमा पैसा जम्मा गरिरहेको र यो चार÷पाँच दिनको अवधिमा करिब २५ लाख जम्मा भइसकेको पनि उनले जनाए । उनले भने,‘हाम्रो सिंगो पार्टीको मनोविज्ञान एकताबद्ध पार्टी नै हो, पार्टीमा सबै उचित स्थान र सम्मान हुन्छ ।’

उनले महािधवेशन प्रतिनिधिहरुको अहिले रजिष्टर र ईन्ट्री प्रोसेस सुरु भएको पनि जनाए । उनले भने,‘हामीले सबै प्रक्रिया हाई–टेक गरेका छौं । अनलाइन गरेका छौं । १० गते चितवनको नारायणी नदीमा उद्घाटन सत्र हुन्छ, त्यहाँ पाँच लाख जनसमुदायको सहभागिता रहनेछ । जनपरिचालन समिति पनि बनाएका छौं । जनता जुटाउने काम गरिएको छ । म आँफै मञ्च व्यवस्थापनको संयोजक हुँ । खुल्ला सत्र, जनसभा कस्तो हुन्छ ? भनेर झझल्को देखिनेगरि तयारी गरेका छौं, महाधिवेशनस्थल हाईटेक गर्छौं । त्यही अनुसारको सजिसजाउ गरेका छौं । मञ्चको व्यवस्था पनि भव्यता छ । चारैतिरबाट स्टेजको सम्बोधन देख्न मिल्नेगरि एलईडीको व्यवस्था छ। मिडियालाई लाइभको व्यवस्था गरेका छौं ।’ उनले आफूहरु सहमतिको साथ महाधिवेशन सम्पन्न गर्नतर्फ लागिरहेको सुनाए । उनले भने,‘हामी सहमतिको प्रयासमा छौं । देखाउने हिसाबले, प्रचारप्रसारको हिसाबले रौनकता छ । तर, उम्मेद्धवारको तानातान नभएको भनेर अहिले बाहिर चर्चा भएको छ, यो कुराबाट एमाले मुक्त भएको छ। पार्टीमा सबै कुरा मिल्दैछ अनि सहमतिको साथ नेतृत्व घोषणा हुँदैछ । यो कुरा राम्रो हो नि । कुनै पनि दलमा झगडा हुनुभन्दा मिल्नु राम्रो हो नि । अहिले हाम्रो पार्टीमा मिल्ने वातावरण बन्दै गएको छ । मतदान हुने, गुटबन्दी हुनुभन्दा त मिलेर जानु र सर्वसम्मती बनाउनु राम्रो होला ।’

उनले पार्टीमा नेताहरु एक आपसमा झगडा गरेको भन्दा मिलेको र एकताबद्ध भएर अघि बढेको समाचार नै ठूलो हुने सुनाए । उनले कोरोनाको कारणले धेरै मुलुकका प्रतिनिधिलाई महाधिवेशनमा बोलाउन नसकिएको पनि स्मरण गराए । तर, विभिन्न देशका विभिन्न दलबाट आफुहरुलाई शुभकामना सन्देश प्राप्त भैरहेको भने उनले जनाए ।

महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिइसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले जनाए । उनले भने,‘हामीले प्रधानमन्त्रीलाई अतिथिको रुपमा निम्तो गरेका छौं । उहाँले आउँछु भन्नुभएको छ । अरु राष्ट्रिय दलका नेताहरुलाई निम्तो गरेका छौं । तर, माधव नेपालको पार्टीलाई भने बोलाएका छैनौं । हाम्रो यसमा प्रष्टै धारणा छ–माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ । अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ। माधव नेपालहरु पार्टी निर्माण गर्ने प्रक्रियामा हुनुहुन्छ । अर्को निर्वाचनपछि कस्तो बन्ला ? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ, हाललाई उहाँहरुलाई हाम्रो महाधिवेशमा निम्तो गर्दैनौं ।’
तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भने निम्तो गरिएको र उनी आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाए । उनले दाहाल महाधिवेशनमा आउने विश्वास दिलाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *