जोडिनुहोस

Banner

चितवन, कात्तिक २९-

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास कस्तो हुन्छ भनेर आफूले भरतपुर महानगरपालिकामा देखाइदिएको दाबी गरेकी छन् ।

नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं २३ द्वारा आयोजित कार्यकर्ता भेटघाट, चियापान कार्यक्रममा उनले सो दाबी गरेकी हुन् ।

दाहालले विगतमा एक किमी सडक कालोपत्रे गरेर त्यसैलाई देखाएर जनता ढाँट्ने परिपाटीको आफूले अन्त्य गरिदिएको भन्दै साढे चार वर्षको आफ्नो कार्यकालमा ६१० किमी सडक कालोपत्रे गरेर विकास कस्तो हुन्छ भनेर आफूले देखाएको बताइन् । दाहालले भनिन्, ‘म काम समयमै हुनुपर्छ भनेर लागिपरेको छु निर्माण व्यवसायिहरुले ढिला सुस्ती गरिरहेका छन् यसरी काम ढिला गर्न हुँदैन, तपाई जनसमुदायहरूले पनि दबाब सृजना गर्नुस् ’ ।

आफू निर्वाचनका क्रममा मतदाताको घरदैलोमा हिड्दा हिलाम्यधुलाम्य बाटो मात्रै भएको कालोपत्रे सडक त देख्न मुस्किल भएको बताउदै उनले भनिन, ‘आज तपाइँहरूले देखिरहनु भएको छ विकास कति भयो, कस्तो भयो यसको मूल्याङ्कन तपाइँहरू आफै गर्नुहोस् ’। आफ्नो एक मात्र लक्ष्य महानगरको समग्र विकास मार्फत नगरवासीको समृद्धि रहेको भन्दै उनले जनसमुदायको मागका आधारमा जायज र आवश्यक योजनाहरूलाई महानगरपालिकाले संघ र प्रदेशसँग समन्वय गरेर अगाडि बढाउने बताइन् ।

कार्यक्रममा उनले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनिय कामहरू गरेका कारण पछिल्लो दिनहरूमा निजी विद्यालय छोडी सरकारी विध्यालयमा आर्कषण बढीरहेको बताइन् । स्वास्थ्य, पर्यटन, सामाजिक विकासका साथै शुशासन प्रवाह गर्न भरतपुर महानगरपालिका केन्द्रित भएको बताइन् । सो अवसरमा प्रमुख दाहालले आफ्नै कार्यकालमा सुकुमबासी , भूमिहिन अव्यवस्थित बसोबासीहरूको समस्या स्थायीरूपमै समाधान गरी काम अगाडि बढिरहेको समेत बताइन् ।

माओवादी केन्द्र नै जनताको सुखदुःखको पार्टी भएका कारण भरतपुरमा माओवादी केन्द्र प्रवेश गर्ने लहर चलेको बताएकी छन् ।

उनले महान् १० वर्षे जनयुद्ध जनआन्दोलन बाट प्राप्त उपलब्धिहरूलाई संविधान मार्फत नै स्थापना गर्ने भूमिका माओवादी र यसको नेतृत्वले गरेको बताइन् । उनले संघियता , धर्म निरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै वर्ग, क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भव भएको भन्दै माओवादी हौ भन्न गर्व लाग्ने बताइन् ।

उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई एक ढिक्का बनाउन भएको एकतालाई अतिवादी प्रवृत्तिका केपी ओलीका कारण सम्भव हुन नसकेको भन्दै माओवादी केन्द्रनै देशको कम्युनिस्ट पार्टीको केन्द्र बन्ने बताउदै नब प्रवेशीहरुलाई ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरिन् । उनले भनिन्, ’तपाइँहरू दृढ भएर लाग्नुस् पार्टीबाट संरक्षण र उचित जिम्मेवारी पाउँनुहुन्छ ’।

कार्यक्रममा वागमती प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र जिल्ला कमिटी चितवनका सदस्य रामलाल महतोले माओवादी पार्टीले लिएको सही नीति तथा कार्यक्रम, विकास र समृद्धिप्रतिको प्रतिबद्धताका कारण आम जनताको चासो माओवादी केन्द्रप्रति आर्कषित भएकोले पार्टी प्रवेशको लहर चलेको बताए । कार्यक्रममा १८५ जना कार्यकर्ताहरू अन्य पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । कार्यक्रम वडा नं २३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *