जोडिनुहोस

Banner

चितवन, कात्तिक १३-

चितवनका व्यवसायी तथा गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष व्यवसायी जीवा लामिछाने होटल क्षेत्रको लगानीमा आक्रामक बनेका छन् ।

काठमाडौं र भैरहवामा एक\एक वटा होटलमा लगानी गरेर सञ्चालनमा ल्याइसकेका उनले भैरहवामै तीन तारे अर्को होटल निर्माणको तयारीमा जुटेका छन् ।

चितवनको पदमपुरमा जन्मिएका लामिछाने रत्ननगर नगरपालिका अमेलियाका स्थायी बासिन्दा हुन् । रत्ननगरकै नेपाल हाइस्कुलबाट एसएलसी उर्तीर्ण गरेका उनी ओभरसियरको पढाइ पूरा गरेपछि रसिया पढ्न गएका थिए । समय समयमा उनी अमेलिया घरमा आइरहन्छन् । घरमा लामिछानेको आमा र माइलो दाई रहेका छन् । लामिछाने व्यवसायी मात्र नभएर साहित्य क्षेत्रमा पनि निकै राम्रो रुचि रहेको चितवनका साहित्यकार धनराज गिरीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ चितवनका व्यवसायी लामिछाने लक्ष्मीपुत्र र शारदाभक्त हुन् । उनले १५ वर्ष अघि नै नेपालको साहित्य क्षेत्रको प्रशिद्ध पद्यमश्री पुरस्कार स्थापना गरिसकेका छन् भने दुई नियात्रा पनि प्रकाशन गरिसकेका छन् । ’ सधै केही नयाँ कुरा गर्न मनपराउने उनलाई विश्वभर फैलिएको कोरोना संक्रमणको समयमा पनि लगानीका नयाँ गन्तव्य पत्ता लगाउन नछाडेको चितवनका व्यवसायीहरु बताउँछन् ।

कोरोना महामारीकै क्रममा भैरहवामा तीन तारे होटल सञ्चालनमा ल्याएका लामिछानेले अब ल्याउन लागेको होटल रेजियो इन प्रालि तेस्रो होटल बन्ने छ । तीन तारे होटल रेजियो इनमा ६० रुम हुनेछ । करिब ६७ करोड २० लाख रुपैयाँ अनुमानित लागतमा होटल निर्माण हुने बताइएको छ । होटलको प्रति रुम लागत भने एक करोड १० लाख रुपैयाँ अनुमान गरिएको छ।

होटलमा राष्ट्र बैंकका पूर्व कर्मचारी शिवभक्त पोखरेलको पनि ५० प्रतिशत सेयर स्वामित्व छ । अहिले एक रोपनी तीन आना (६२६ वर्गमिटर) जग्गामा निर्माण भइरहेको यो होटलको क्षेत्रफल भविष्यमा थप विस्तार गर्ने कम्पनीको योजना छ।

भारतीय पर्यटकलाई बढी लक्षित गरेर निर्माण गरिने यो होटल भारतीय सहर गोरखपुरबाट जम्मा तीन घण्टाको दूरीमा छ । होटल निर्माणकै लागि कम्पनीले ५१ करोड रुपैयाँको रेटिङ गराएको छ । ५० करोड रुपैयाँ दीर्घकालीन ऋण र एक करोड रुपैयाँ ओभरड्राफ्टका लागि इक्रा नेपालले क्रमशः एनपी एलबी प्लस र एनपी ए फोर रेटिङ दिएको छ ।

मध्य जुलाईसम्म होटलको वित्तीय प्रगति तीन प्रतिशत रहेको र जग्गा खरिदलगायतका प्रक्रिया सुरु भइसकेको बताइएको छ । होटल निर्माणका लागि कुल लगानीको ७५ प्रतिशत ऋणमा निहीत छ । लुम्बिनीबाट करिब २५ किलोमिटरको दूरीमा बन्ने यो होटल सन् २०२४ को जुलाईबाट सञ्चालनमा आउने बताइएको छ । लामिछानेले आफ्नो नेतृत्वमा काठमाडौंको धुम्बाराहीमा पहिलो होटल अकामा सञ्चालन गरिसकेका छन्। लामिछानेले जर्मनीको फ्याङ्कफोर्टमा स्काइलाइन, एभरेष्ट, गोथे होस्टल हफ लगायतका होटल सञ्चालन गरिरहेका छन्। उनीसँग युरोपभरी ट्रिपइनको ब्राण्डमा ३० वटा भन्दा बढी होटल सञ्चालनमा छन्।
लामिछानेकै नेतृत्वमा भैरहवामा ५० करोड रुपैयाँको लगानीमा गौतम बुद्ध एयरपोर्ट होटल पनि सञ्चालनमा आउँदैछ । उनको लगानी भएको यो दोस्रो होटल हो । यो होटलमा लामिछानेको नेतृत्वमा तीन जनाको लगानी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *