जोडिनुहोस
alt
  • होमपेज
  • डोम समुदायलाई ढकी बनाउन भ्याइ नभ्याइ

डोम समुदायलाई ढकी बनाउन भ्याइ नभ्याइ

महोत्तरी,कार्तिक १०

गोपालप्रसाद बराल

राति काम गर्दागर्दै झपक्क निदाउने श्याम मरिकको हातमै कप्टेरा र चोया हुन्छन् । बिहान आँखा खुल्नासाथ फेरि चोया र कप्टेरासँगै उहाँको दैनिकी सुरुआत हुन्छ । यहाँको भङ्गाहा नगरपालिका–५ सीतापुरबजार र सिद्धपुर बस्तीको माझमा रेल्वे लिक नजिकैको उहाँका घरमा भएका सबै परिवार अहिले चोया र कप्टेरासँग गाँसिएका छन् ।

“के गरौँ हजुर, चाडपर्वको बेला छ, आफ्नो सीप बिक्ने बेला यही हो,” घर पुगेका आगन्तुकसँग भलाकुसारी गर्दा पनि हात भने छिटी बुन्नमै व्यस्त राख्नुभएका उहाँले भन्नुभयो, “यस बेला गरेको मिहिनेतले वर्षभरिको नगद खर्चको जोहो हुने आश छ ।”

जिल्लासहितका मिथिला क्षेत्रमा दीपावली र छठ पर्वमा पूजा सामग्री राख्न बाँसको चोया र कप्टेराले बनेका नयाँ छिटी (ढकी), सानाठूला डाली, नाङ्लो/ चाल्नोसहितका सामग्री प्रयोग गरिने परम्पराले यस्ता सामान बनाउने पुख्र्यौली पेसाका डोम समुदायको अहिले व्यस्तता बढेको हो ।

परम्परागत जातीय छुवाछूतको कुप्रथाले तल्लो जात भनिएर शैक्षिक, सांस्कृतिक, सामाजिक र आर्थिक रुपमा अवसरबाट वञ्चित रहँदै आएका डोम समुदायको सरसर्ती हेर्दा सुँगुर पाल्नु, बाँसका चोयाका सामान बनाउनु नै जीवन गुजाराको पेसा देखिन्छ । यसबाहेक हिन्दू मैथिल परम्पराको मृत्यु संस्कारभित्रको मृतकलाई मुखाग्नी दिनेबेला हुनेखाने (सम्पन्न) परिवारले डोमको हातबाट आगो किन्ने परम्परा छ । मेटिँदै (हराउँदै) गएको यो परम्पराबाट अब आम्दानीको आश खासै नहुने डोम समुदायका अगुवा बताउँछन् ।

पछिल्लो जनगणना अनुसार जिल्लामा सो समुदायका एक हजार ५० मात्र र जनसङ्ख्या रहेको छ । अहिले तीन हजार नाघेको अनुमान गरिन्छ । प्रत्येकजसो बस्तीका पुछारमा छुट्टै झाप्राझुप्रीमा बसोबास गर्ने यो समुदायबाट जिल्लामा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका एकाध मात्र छन् । छ/ सात वर्ष उमेर टेकेपछि ती समुदायका बालबालिका सुँगुर चराउन हिँड्ने भङ्गाहा–५ का वडाध्यक्ष शिव महतो जानकारी दिनुभयो । अभियानसँग जोडेर डोम बालबालिकालाई विद्यालय कैयौं पटक पु¥याइए पनि उनीहरु पढाइमा टिक्न नसकेका उहाँको भनाइ छ ।

दीपावली र छठका क्रममा सानातिना काम गर्नसक्ने उमेरका डोम बालबालिका बाँसका चोया बनाउन बाबु/ आमाका सहयोगमा तल्लीन देखिन्छन् । “हामीले बुनेका छिटी, डाली, सुपा (नाङ्ला), चल्नी (सानो चाल्नो), पङ्खा र ससाना खेलौना बिकेपछि छठमा नयाँ लुगा लगाउनेछौँ,” १४ वर्षीय झगरुले भन्नुभयो ।

“दीपावली, छठका लागि बन्ने सामानबारे हामी र किन्ने पनि उत्तिकै ढुक्क हुन्छौँ,” उहाँले भन्नुभयो । छठ पूजाका लागि यी सामान किन्नेले मोलमोलाई नगर्ने भएका हुँदा आपूmहरुले पनि धर्म चेतेर उचित मूल्यमात्र लिने गरिएको सो बस्तीकै बिन्दी मरिकले जानकारी दिनुभयो ।

पर्वले छोपिसकेको हुँदा ग्राहकले अग्रिम भुक्तानी दिएका सामान समयमै दिन र थप सामान बनाउन आफूहरुलाई भ्याइनभ्याई नै परेको डोम बताउँछन् । “कतिले पहिले नै मूल्यको रकम दिएका छन्, कतिले बनाइदिन भनेका छन्,” बर्दिबास नगरपालिका–१२ जुडीटोलका पलट मरिक भन्नुभयो, “सीप बिक्ने बेला छ हजुर, गर्नै परो नि १” पहिलेपहिले दैनिक घरायसी प्रयोजनमा चोयाबाट बनेका सामानको बाक्लै प्रयोग भए पनि केही वर्षयता प्लाष्टिकका डेक्ची, नाङ्लो, चाल्नो र डाली आकारका भाँडा बजारमा पाउन थालेपछि आफ्नो सामानको माग हुन छाडेको पलटको भनाइ छ । “यही दीपावली र छठ त हो नि हजुर, अरू बेला हाम्रो खोजी हुन छाड्यो,” उहाँले भन्नुभयो, “दुई/चार पैसाको मुख देख्न पाइने आश त हो ।” दीपावली र छठले वर्षभरि आपूmहरु धानिनुपर्ने हुँदा अहिले कामको व्यस्तता बढेको डोम बताउँछन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका