प्रवास
चितवनका डा कँडेल प्रवासी नेपाली मञ्च पूर्वी एसियाको अध्यक्षमा चयन

कविकिरण न्यौपाने
टोकियो, भदौं ९-
चितवनका डा सरोज कँडेल प्रवासी नेपाली मञ्च पूर्वी एसियाको अध्यक्षमा चयन भएका छन् ।
गत अगस्ट २० मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रमुख अतिथि रहेको नेकपा एमाले पार्टी निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी बैठकबाट प्रवासी नेपाली मञ्च जापानका सचिवसमेत रहेका कँडेललाई चयन गरेको हो ।
बैठकमा एमाले महासचिव पोखरेलले सामूहिक राजनीतिक विषयमा प्रकाश पार्दै प्रवासका आर्जन गरेको ज्ञान, सिप र पूँजिलाई आफ्नो मातृभूमिमा संगठित तरिकाले लगानी गर्न आग्रह गरे । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको उक्त बैठक अध्यक्ष भक्त गुरुङको अध्यक्षता एवम् सचिव रमेश पाण्डेले सञ्चालन गरेका थिए ।
बैठकमा नेकपा ( एमाले) विदेश विभाग प्रमुख डा राजन भट्टराईले केन्द्रीय कमिटीले गरेका निर्णय अनि प्रवासी नेपाली मञ्चको भूमिकाका विषयमा प्रकाश पारेका थिए । समितिको सचिव मकाउबाट चयन गरिने छ भने सदस्यहरुमा दलहाङ नेम्वाङ ( हङकङ ), दयाराम कुमाल ( मलेशिया ), अंन्जान कुलुङ राई ( दक्षिण कोरिया) रहेका छन् । पूर्वी एसियामा (नेकपा एमाले पार्टीको सञ्जाल अन्तर्गत (चीन, हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, मकाउ ) देशहरु रहेको बताइएको छ ।
अध्यक्ष कँडेलले अहिलेसम्म सबैमा प्राप्त हौसला र सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि रचनात्मक सुझाव र सहयोगको अपेक्षा गरेको बताए । ‘यहाँहरुको सहयोगमा मैले आफ्नो जिम्मेवारी सहजताका निभाउन सबल हुने छु’ उनले भने । अध्ययनको शिलशिलामा जापान आएका कँडेल चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने संरक्षित क्षेत्र र स्थानीय समुदाय बीचको सह–अस्तित्वका लागि इकोटोरिजमको भूमिका” सम्बन्धी विषयमा पीएचडी गरेका थिए । सन् २००४ जुलाईमा जापनिज भाषा विद्यार्थीको रुपमा जापान आएका कँडेलले जापानकै प्रतिष्ठित विश्वबिध्यालय मध्ये पर्ने नागोया विश्वविध्यालयबाट पीएचडी गरेका हुन् । लगनशिल भएर लाग्ने हो भने जुन सुकै क्षेत्रमा पनि सफल हुन सकिने उनको तर्क छ ।