होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • जनैपूर्णिमा र क्‍वाटी खाने परम्परा

जनैपूर्णिमा र क्‍वाटी खाने परम्परा

बाबुराम दवाडी

नेपाल सांस्कृतिक एवम् धार्मिक विविधताले सम्पन्न देश हो । यहाँ विभिन्न जातजातिको बसोबास रहेको छ । हरेक जातजातिको आफ्नो आफ्नै रीतिरिवाज एवम् चालचलन छन् ।  सबै जातिले आफ्नो परम्परा अनुसार विभिन्न चाडपर्व मनाउँछन । चाडपर्व अनुसार फरक फरक खानेकुरा खाने चलन छ । अर्थात् कुन चाडपर्वमा के खानेकुरा खाने भन्ने परम्परा नै विकास भएको छ ।

जस्तैः असार १५ मा सेलरोटी, दही चिउरा , साउनमा खीर, तीजमा दर, दसैँमा मासु, तिहारमा सेलरोटी, पुस १५ मा  लट्टे (अनतीको चामलमा घिउ र खुदो हालेर पकाएको परिकार), माघे संक्रान्तिमा तरुल, शखरखण्ड, घिउ–चाकु, फुरौला, खिचडी खाने चलन छ ।  विभिन्न चाडपर्वमा फरकफरक खानेकुरा खाने चलन नेपालीहरुमा सदिऔँ देखि चलिआएको हो ।

नेपालीहरुले मनाउने चाडपर्वमध्ये जनैपूर्णिमा पनि एक हो । जनै पूर्णिमाको धार्मिक, सांस्कृतिक एवम् सामाजिक महत्व छ । यस पर्वको धार्मिक एवम् सांस्कृतिक महत्वको बारेमा छुट्टै लामो चर्चा गर्न सकिन्छ । आज यस लेखलाई जनैपूर्णिमामा खाइने क्‍वाटीसँग मात्र केन्द्रित रहेर अगाडि बढाइएको छ।

   क्‍वाटी  विशेषगरी नेवारी खाद्य परिकार हो । काठमाडौँ उपत्यकामा अहिले जस्तो घनाबस्ती बस्नु अगाडि प्रशस्त खेतीपाती गरिन्थ्यो । काठमाडौँ उपत्यकाको जीवनशैली कृषिमा आधारित थियो । खेतीपातीका क्रममा शरीरले बढी श्रम गर्नुपर्ने र श्रम गर्दा शरीरमा बढी ऊर्जा आवश्यक पर्ने भएको शरीरलाई शक्ति एवम् उर्जा दिने खाद्यपदार्थ  गेडागुडी भएकाले गेडागुडी खाने चलन चलेको हुनुपर्छ । गेडागुडीलाई क्वाटी बनाएर खाँदा बढी प्रोटिन पाइन्छ ।  यसै कारण गेडागुडीको क्‍वाटी बनाएर खाने गरिन्छ ।

क्‍वाटी विशेषगरी नेपाल (नेवारी) भाषाको शब्द हो । नेपाल भाषाको ‘क्वाती’ शब्दबाट ‘क्वाटी’ शब्द बनेको हो । नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ति’ अर्थ झोल भन्ने हुन्छ । यसर्थ  क्‍वाटी शब्दको अर्थ तातो झोल भन्ने हो । क्वाटी गेडागुडी मिसाएर बनाइने हुँदा गेडागुडीको तातो झोल नै क्वाटी हो ।

अब जनैपूर्णिमामा नै क्वाटी खाने चलन किन चल्यो भन्ने सन्दर्भमा चर्चा गरौं । काठमाडौँ उपत्यकामा असार साउनमा खेतीपातीको काम हुने र खेतीपातीको काम सकिएपछि जनैपूर्णिमा चाड पर्ने हुँदा जनैपूर्णिमामा नै क्वाटी खाने चलन चलेको हो । खेतीपातीको कामले थाकेको शरीरले क्वाटी  खाँदा शरीरमा उर्जा प्रदान हुने विश्वासका साथ क्वाटी खाने चलन चलेको हो ।

  क्‍वाटीमा विभिन्न प्रकारका गेडागुडी मिसाएर तयार गरिन्छ । यसरी तयार गरिएको क्‍वाटी श्रावण कृष्ण एकादशीका दिन भिजाउने गरिन्छ । यस दिनलाई क्वाटी भिजाउने एकादशी पनि भनिन्छ ।  भिजेको गेडागुडीलाई भोलिपल्ट  द्वादशीका दिन पानीबाट झिकेर भाँडामा छोपेर  राखिन्छ । यसरी राखेको गेडागुडीमा एक दुई दिनमा अंकुरण आउँछ । अंकुरित गेडागुडीलाई जनै पूर्णिमाका दिन पकाएर खाने चलन छ । यसमा आलु, प्याज, मरमसलालगायत मिसाएर झोल बनाएर खाने गरिन्छ । नेवारी समुदायमा क्‍वाटीमा ज्वानो, लसुन र अदुवा मिसाउनु अनिवार्य जस्तै मानिन्छ ।

    क्‍वाटी ९ प्रकारका गेडागुडी मिसाएर बनाइन्छ । क्‍वाटीमा मिसाइने गेडागुडी सम्बन्धमा फरक–फरक धारणा पाइन्छ । क्‍वाटी भटमास, मुँग, ठूलो केराऊ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडी मिसाएर बनाउने गरिन्छ ।  सिमी, केराउ, चना, मटर कोसा, राजमा, बोडी, भटमास, मुंग र मास मिसाएर पनि क्वाटी बनाइन्छ । कतैकतै भटमास,  मास, हरियो केराउ, सेतो केराउ, सानो केराउ, चना, सेतो चना, सिमी, बोडी, बकुल्ला र मुंग मिसाएर क्वाटी बनाउने चलन छ । ठाउँ र गेडागुडीको उपलब्धता अनुसार फरक फरक गेडागुडी मिसाउने गरिए पनि मास, मुंग र केराउ सबैले मिसाएको पाइन्छ । केही समुदायमा भटमासलाई अशुद्ध मानी विशेष चाडपर्वमा भटमास नखाने चलन पनि छ ।  त्यस्ता समुदायमा भटमासको सट्टा अन्य गेडागुडी मिसाएर क्वाटी बनाइन्छ।

  पोषण एवम्  खाद्य विज्ञहरुका अनुसार क्वाटी सम्पूर्ण प्रोटिनयुक्त खाद्यपदार्थ हो । यो शक्तिबद्र्धक पौष्टिक आहार हो ।  क्वाटी खानाले तत्काल शरीरमा उर्जा प्राप्त हुन्छ । यसमा भिटामिन बी का सबैजसो प्रकारहरु पाइन्छ । पोषणविद्धहरुका अनुसार क्वाटी खानाले हामीलाई निम्न अनुसार फाइदा हुन्छ।

१. रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

२. शरीरमा तत्काल उर्जा प्राप्त हुन्छ।

३. हाम्रो शरीरको मांसपेशी मर्मत सम्भारमा सहयोग गर्दछ।

४.  रक्तसञ्चार र स्नायु प्रणालीमा सहयोग गर्दछ ।

५.  स्मरण शक्ति बढाउँछ।

६.  बुढयौली हुने रोगबाट जोगाउँछ ।

७. सौन्दर्यमा निखारता ल्याउँछ।

८.  कब्जियत हटाउँछ ।

 ९. मधुमेह तथा पायल्स रोगीलाई फाइदा पु¥याउँछ ।

    क्‍वाटी मिठो र पौष्टिक खाद्यपदार्थ हो । मीठो र पौष्टिक भयो भन्दैमा क्वाटी धेरै खाएमा यसले बेफाइदा पनि गर्छ । क्वाटीमा अत्यधिक मात्रामा प्रोटिन पाइने हुन्छ हुँदा यसले शरीरमा युरिक एसिड बढाउने काम गर्दछ । युरिक एसिड बढेमा हाम्रो मृगौलामा भार पर्न सक्छ । त्यसले गर्दा मिर्गौलामा असर गर्छ । नेवारी समुदायबाट सुरुभएको क्वाटी खाने चलन अहिले नेपालका धेरै समुदायमा एक अभिन्न खाद्यपदार्थको रुपमा विकसित भएको छ । क्वाटीबाट हुने फाइदाहरुलाई विश्लेषण गर्दैगर्दा यो खाद्यपदार्थ वर्षमा जनैपूर्णिमाको एकदिनमात्र नखाएर वर्षभरि नै नियमित रुपमा खाँदा फाइदा हुने देखिन्छ ।

(दवाडी भरतपुर महानगरपालिका शिक्षा शाखामा सल्लाहकारको रुपमा कार्यरत छन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका