होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री देउवा भाग्यमानी त भए अब सक्षम बनून्

प्रधानमन्त्री देउवा भाग्यमानी त भए अब सक्षम बनून्

– रमेश बस्ताकोटी

समकालिन नेपाली राजनीतिक नेतृत्व मध्ये सबैभन्दा भाग्यमानी मानिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ सालको आमनिर्वाचन ताका गरेको एउटा भाषण निकै समय चर्चाको शिखरमा रह्यो । देउवाले आफूलाई ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छ भनेर भनेको छ भनेर त्यसबेला देउवाले भन्दा उनलाई धेरैले मजाकमा उडाए । देउवाका विरोधीहरुले मात्र नभई आफ्नै पार्टी भित्र समेत उनको कुरालाई मजाक मान्नेहरु धेरै थिए । तर, संसदमा जम्मा ६३ सांसद संख्या रहेका देउवा गत असार २९ गते प्रधानमन्त्री भए र १६५ सांसदले उनलाइ विश्वासको मत समेत दिए । राजनीतिमा बिरलै यस्तो घटना हुन्छ । देउवा पाँचौ पटक प्रधानमन्त्री भए, उनको ज्योतिषको भविष्यवाणी सावित हुने बाटोमा छ । भलै ज्योतिषले गरेको भविष्यवाणीकै आधारमा देउवा प्रधानमन्त्री भएका होइनन् निवर्तमान प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम, अहंकार,दम्भ र घमण्ड देउवाको सत्तारोहणको कारक थियो । प्रधानमन्त्रीको रुपमा सिंहदरबार छिरेका देउवाका सामु अनेकौं चुनौतीहरु छन् । जसलाई पार लगाएर उनले देशलाई एउटा सहि नेतृत्व प्रदान गर्नुपर्ने चुनौती त देउवाका सामु छन् नै विगतमा प्रधानमन्त्री भएका बेला बिग्रिएको छवीलाइ सुधारेर एक सक्षम प्रधानमन्त्री बन्ने अवसर पनि देउवा सामु छ । केही चुनौतीहरु सँगै प्रसस्तै अवसर पनि साथै लिएर अगाडि बढेका देउवाको सत्ता यात्रा भने त्यती सहज छैन । उनले धेरै कुरालाई सन्तुलनमा राखेर अघि बढ्नु त छदैछ आम मानिसका अपेक्षाहरुलाई पनि सम्बोधन गर्नुपर्ने छ । यो लेख मार्फत् पंक्तिकारले प्रधानमन्त्री देउवाका केही चुनौती र अवसरहरुलाई संक्षेपमा प्रष्ट पार्ने प्रयास गरेको छ ।

गठबन्धनलाई जोगाइराख्ने चुनौती

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले संसदमा विश्वासको मत समेत पाइसकेका छन् । उनलाई १६५ जना सांसदले विश्वासको मत दिएका छन् । यस अर्थमा देउवासँग सुविधाजनक बहुमत भएको मान्न सकिन्छ तर जुन जगको अधारमा सरकार निर्माण भएको त्यो भने त्यती बलियो छैन । कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एमालेको माधव झलनाथ समूह र जसपाको उपेन्द्र यादव समूह मिलेर यो सरकार बनेको छ । पछि जसपाको ठाकुर समूहले पनि देउवालाई विश्वासको मत दियो । देउवाको सामु सबैभन्दा ठूलो चुनौती भनेको यो गठबन्धनलाई जोगाइ राख्नु हो । ओलीले संविधानमाथि गरेको पटक पटकको आक्रमणलाई रोक्न भन्दै बनेको यो गठबन्धनको निरन्तरता सरकार सञ्चालनका लागि पनि आवश्यक छ ।
देउवाले यो गठबन्धन जोगाउन नसके उनलाई कयौ अप्ठ्याराहरु झेल्नु पर्ने निश्चत छ । त्यसकारण पनि प्रभावकारी रुपमा सरकार सञ्चालनका लागि गठबन्धनको निरन्तरता आवश्यक भएको हो । प्रधानमन्त्रीका सामु गठबन्धनलाई जोगाइराख्न पर्ने चुनौती छ । यसका लागि देउवाले गठबन्धनका नेतासँग निरन्तर संवाद अगाडि बढाउँदै चुनावसम्मनै गठबन्धन कायम राख्ने गरी कार्ययोजना तय गर्न आवश्यक छ । यसको प्रयासस्वरुप उनले सत्तारुढ दलका नेताहरु सम्मिलित कार्यदल बनाएका छन् । त्यो सकारात्मक कुरा हो ।

आफ्नै पार्टीभित्रको सन्तुलन कायम

एमाले भित्रको अन्तर कलह ओली सरकार ढल्नुको एउटा प्रम्ख कारण हो । आफ्नै पार्टीका नेताहरुलाई विश्वासमा लिन नसक्दा ५ वर्ष सरकार सञ्चालन गर्ने तयारीका साथ बालुवाटार छिरेका ओलीलाई साढे तिन वर्षमानै बालकोट फर्कनु प¥यो । यसको प्रम्ख कारण भनेको तत्कालिन सत्तारुढ दल भित्रको अन्तरकलह नै थियो । एमालेको माधब नेपाल समूहकै प्रस्तावमा उनीहरुलेनै भोट दिएर देउवा प्रधानमन्त्री बने, ओली बालकोट फर्किए । त्यसकारण प्रधानमन्त्री देउवाका अघि आफ्नै पार्टीभित्रको शक्ति सन्तुलनलाई कायम राखेर अघि बढ्नु अर्को चुनौती हो । आफू इतर पक्षका पार्टीका नेतालाई अपमान गर्दा ओलीले जुन नियती भोग्नु प¥यो त्यसबाट पाठ सिकेर अघि बढ्दानै देउवाको भलो हुन्छ । त्यसका लागि पार्टीभित्र निरन्तर संवाद आवश्यक छ , सरकार र पार्टी सञ्चालनमा सबै नेताहरुले अपनत्व महसुस गर्न आवश्यक छ । यसका लागि देउवाले आजै बाट योजनाका साथ काम सुरु गरे उनी सफल हुनेछन् ।

आक्रमक प्रतिपक्षी

देउवाका लागि अर्को चुनौती भनेको आक्रमक प्रतिपक्षी हो । ओली पक्षले आफुहरु सरकार बिरुद्ध आक्रमक रुपले प्रस्तुत हुने संकेत दिइसकेका छन् । प्रतिपक्षीको निरन्तरको अवरोधले प्रधानमन्त्रीलाई सरकार सञ्चालनमा बाधा पुग्न सक्छ । त्यसकारण आक्रमक प्रतिपक्षीबाट ओली पक्षलाई रचनात्मक प्रतिपक्षी बनाउनु पर्ने चु्नौती देउवाका सामु छ । त्यसका लागि ओलीले झै पेलेर नै अघि बढ्ने नीति देउवाले लिनुहुदैन । प्रतिपक्षलाईसमेत विश्वासमा लिएर उनीहरुका कुरा पनि सुन्ने बानीको विकास गर्न आवश्यक छ । त्यती गर्न सकियो भने प्रतिपक्षी जतिनै आक्रमक बन्न खेजे पनि रचनात्मक बन्न बाध्य हुन्छ ।

कोरोना महामारीको व्यवस्थापन र अर्थतन्त्र उकास्ने चुनौती

प्रधानमन्त्री देउवाले आफ्नो चिन्तन प्राथमिकता मध्ये पहिलो खोप, दोस्रो खोप र तेस्रो पनि खोप भएको बताएर आफू जनस्वास्थ्य प्रति गम्भिर रहेको र छिटै सबै नागरिकलाई खोपको व्यवस्था गर्ने संकेत गरेका छन् । यो राम्रो पक्ष हो । अहिले विश्वका अधिकांश सरकारका लागि कोरोना महामारी रोकथाम , नियन्त्रण र जनताको ज्यान जोगाउने कामनै प्रम्ख चुनौतीको विषय हो । नेपाल पनि त्यसबाट अछुतो छैन । त्यसकारण देउवाका अघि तत्काल सबै नागरिकलाई खोपको व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती हो । त्यसका लागि उनले तत्काल मित्रराष्ट्रसँग सम्वाद बढाएर देखिने गरी काम गर्न आवश्यक छ । अघिल्लो सरकारका प्रधानमन्त्रीको गफ मात्र गर्ने बानीले आजित भएका नेपालीले अबको प्रधानमन्त्रीबाट देखिने गरी, महसुस गर्ने गरि काम भएको हेर्न चाहन्छन् । देउवाले यो अपेक्षाको छिटो भन्दा छिटो सम्बोधन गर्न आवश्यक छ । कोरोना महामारीले अर्थतन्त्र थिलथिलो भएको छ । यसलाई उकास्ने गरी कार्ययोजना तय गर्नु आवश्यक छ । देशको अर्थतन्त्र बलियो भएमात्र विकास सम्भव हुने हो । त्यसकारण अहिलेको अवस्थामा नेपाली अर्थतन्त्रलाई उकास्ने गरी अल्पकालिन, मध्यमकालिन र दिर्घकालीन योजनाहरु बनाएर अघि बढ्न आवश्यक छ ।

सर्वमान्य नेता बन्ने अवसर

प्रधानमन्त्रीका रुपमा देउवाका अघिल्ला चार कार्यकाल विवाद रहित थिएनन् । उनलाई एक पटक तत्कालिन राजा ज्ञानेन्द्रले असक्षम भनेर बर्खास्त गरेका थिए । त्यसकारण देउवाको विगत त्यती प्रिय देखिएन । यो पटक फेरि अवसर आएको छ । अब सक्षम मात्र बन्ने हैन कि सर्बमान्य नेता बन्ने अवसर देउवाका अघि छ । जसरी गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको उत्तरार्धमा आएर जनअपेक्षा मुताविकका काम गरेर एक सर्वमान्य नेताको रुपमा आफूलाई स्थापित गरेका थिए । अब त्यो अवसर देउवाको अघि छ । पार्टी भन्दा माथि उठेर देशको सेवा गर्ने यो अवसरलाई देउवाले खेर फाल्नु हुदैन । यस्तो मौका जो कोहीले पाउँदैनन् यसलाई देउवाले चिन्न सक्नु पर्छ । आफ्नो गुमेको साखलाई फर्काउने देउवाका लागि सायद यो नै अन्तिम अवसर हो यसलाई उनले भरपुर उपयोग गर्नु पर्छ ।

संविधानमाथि ओली सरकारले पटक पटक आक्रमण ग¥यो । अब संविधानलाई जोगाउँदै मुलुकमा शान्तिपूर्णरुपमा तिनै तहको निर्वाचन गराउने दावित्व देउवा माथि थपिएको छ । देउवा भाग्यमानी नै हुन् किनभने उनले पाँच पटक मुलुकको प्रधानमन्त्री हुने अवसर पाए । यसअघि गिरिजा प्रसाद कोईराला र सूर्यबहादुर थापाले मात्र यो अवसर पाएका थिए । उनले आफ्नो रेकर्ड कायम गरिसकेका छन् । कुनै पारिवारिक विरासतबाट नभई सामान्य परिवारबाट राजनीतिमा आएर यो रेकर्ड कायम राख्न सक्नु चानचुने कुरा हैन । त्यसकारण देउवाले शान्तिपूर्ण निर्वाचन गराएर संविधानको रक्षा गर्ने कामको नेतृत्व सफलतापूर्वक पुरा गर्नु पर्छ । ४५ वर्षमा गृहमन्त्री र पहिलो पटक ५० वर्षको उमेरमा प्रधानमन्त्री बनेका देउवाले यस अघि सरकार र पार्टी राम्रोसँग सञ्चालन गर्न नसकेको आरोप पनि आउने गर्छ । उनका विपक्षीहरु उनलाई भाग्यमानी तर असक्षम भनेर आलोचना गर्छन् । अब देउवाका सामु आफू सक्षम छु भनेर देखाउने बेला आएको छ । यसका लागि उनले बिना स्वार्थ देश र जनताका हितमा काम गर्न आवश्यक छ । ताकी सबैले भनुन् : ‘ देउवा भाग्यमानी हुन् , अब त सक्षम पनि भए । ’

(लेखक बस्ताकोटी चितवनका पत्रकार हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका