aroma
जोडिनुहोस
  • होमपेज
  • चर्काे भाषण मात्र होइन, विपीको सिद्धान्तलाई व्यवहारमानै अवलम्वन गरौं

चर्काे भाषण मात्र होइन, विपीको सिद्धान्तलाई व्यवहारमानै अवलम्वन गरौं

रमेश बस्ताकोटी

नेपालमा मात्र नभई सारा विश्वमा नै उच्च छवि बनाएका एक महान् राजनीतिज्ञ हुन् विपी कोइराला । नेपाली कांग्रेस पार्टीका संस्थापक नेता विपी कोइराला आफ्नो जीवनभर प्रजातन्त्रका लागि लडिरहे । विपीको आर्दश, विचार र सिद्धान्त आजको दिनमा पनि उतिकै सान्दर्भिक छ । एक दूरदर्शी नेता विपी कोइरालाको साउन ६ गते परेको स्मृति दिवसको अवसरमा केही नलेखी बस्न मनले मानेन त्यसकारण केही लेख्ने प्रयास गरेको छु ।

यो लेख पढ्ने जो कोहीले विपीबारे बुझेका छैनन् भन्ने मेरो मनसाय होइन तर पनि यसले विपीलाई बुझ्न केही न केही सहयोग पुग्छ भन्ने कुरामा म विश्वस्त छु । विपीबारे सानैदेखि धेरै कुरा पढ्दै आइयो । उनी बहुमुखी प्रतिभाका धनी हुन् । नेपाली साहित्यको श्रीवृद्धिमा विश्वेश्वरप्रसाद कोइरालाको योगदान अतुलनीय छ । यो कुरा यहाँ उल्लेख गरिरहनु परेन । मैले यो लेख मार्फत् विपीका राजनीतिक जीवन र उनका प्रेरणादायी कुरालाई प्रकाश पार्ने प्रयास गरेको छु ।

हामी सानो नै हुँदा विपीबारे प्रसस्त किस्साहरु सुनिन्थ्यो, विपी यस्ता थिए, उस्ता थिए भनेर स्कुलमा सरहरुले सुनाइरहन्थे । हामी बुझ्ने भएर स्कुल पढ्न थाल्दा नेपालमा प्रजातन्त्र आइसकेको अवस्था थियो । त्यसकारणले पनि विपीसँगसँगै हिँडेका, विपीलाई नजिकबाट चिनेका र विपी बिचारबाट अत्यन्त प्रभावित शिक्षकहरुले हामीलाई पढाउँदा विपी र उनका विचारबारे भनिररहन्थे । त्यसकारण विपीप्रति सानैदेखि सकारात्मक प्रभाव परेको थियो । कक्षा उक्लदै गर्दा विपीबारे पढ्न पाइयो । विपीका राजनीतिक जीवन, उनका सिद्धान्त र विचारहरुबारे अध्ययन गर्न थालियो । स्कुले जीवनमानै विपीलाई प्रसस्त पढियो । सानैदेखि पढ्ने लेख्ने कुरामा रुचि भएका कारण म पढी सकेपछि त्यसको सारांश तयार गर्थे र अरुलाई पनि सुनाउँथे । त्यो मेरो सानैदेखिको बानी हो र अहिले सम्म पनि कायमै छ ।

सानैमा मोहन शमशेर र विपीबीच भएका संवादका कुरा पढेँ जहाँ मोहनसमशेरले विपीलाई प्रधानमन्त्री भएपछि सोधेका हुन्छन् । ‘विपी अब तपाइँ प्रधानमन्त्री हुनुभयो, तपाइँको उद्देश्य के छ ? विपीले सरल उत्तर दिएका थिए । ‘म एउटा मध्यम वर्गीय परिवारको मान्छे हुँ , बिहान बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ , त्यहीबाट गुजारा हुन्छ , मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पु¥याउँने हो ।’ विपीको यस्तो विचार सानैमा पढेको थिएँ मैले । जुन आजसम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । यस्ता अनेकौ कुराहरु विपीका बारेमा पढिन्थ्यो, सुनिन्थ्यो । विपीका बारेमा अग्रजबाट बुझिन्थ्यो । त्यसकारण त्यती बेलाको मेरो बाल मस्तिष्कबाट स्कुले जीवनदेखि नै विपी विचार र सिद्धान्तप्रति झुकाव बढेको थियो । अहिले पनि विपीको त्यो विचार छाडिएको छैन । विपीकै आदर्श र सिद्धान्तलाई आत्मसात गरिएको छ ।

हामीले आत्मकथामा विपीलाई पढ्यौं, सुन्दरीजलमा विपीलाई पढ्यौं, विपीका अन्तवार्ताहरु पढ्यौं, विपीका लेखहरु पढ्यौं, विपीबारेका विचार गोष्ठीमा सहभागी भएर विपीलाई सुन्यौं । मेरो बा, हजुरबाले रुखमा भोट हाल्थे भनेर म रुखमा भोट हाल्ने भएको होइन । विपीलाई पढेर बुझेर विपीका आदर्श सिद्धान्त र विचार मन परेर रुखलाई भोट हाल्ने भएको हूँ । त्यसकारण मलाई अहिले रुखमा भोट हाल्ने बनाउनुमा कसैको योगदान छैन, म यो ढुक्कसँग भन्न सक्छु । म रुखमा भोट हाल्ने हुनुको पछाडि एउटै कारण छ त्यो हो विपी विचार जसलाई मैले गहिरोसँग अध्ययन गरेँ ।

विपी बारेको एउटा प्रसंग करिब ६ वर्ष पहिले कान्तिपुर प्रकाशनको नेपाल म्यागाजिनमा प्रकाशित भएको थियो । त्यो मैले पढ्ने अवसर पाएको थिएँ । कुरा के थियो भने तत्कालीन सोभियत संघको अफगानिस्तानमाथि हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’ अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको बिलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झाँगिँदो उपस्थितिको विश्लेषण गर्दै विपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे । जसको फलस्वरुप उनी २०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले । विपीको त्यो निर्णय भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजाय बोकेको मान्छे, यति सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाइकन कसरी जान सक्छ ? पूर्वकांग्रेस नेता बद्रीनारायण बस्नेत भन्छन्, ‘इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस्तै थियो, फुटाऊ र राज गर । विपीलाई देखाएर दरबारलाई तर्साउने । दरबार देखाएर विपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।’

विपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई विपी कहाँ पठाइन् । आसामका बरुवा बीएचयूमा पढ्दैताका विपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशिर्वाद पाएका बरुवाले विपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, ‘तर, विपीले महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।’

तत्कालिन भारतकी शक्तिशाली प्रधानमन्त्री इन्दिरा गान्धीका प्रस्तावलाई ठाडै अस्विकार गर्ने हैसियत राख्थे विपी, उनीसँग हरेक कुरामा सवाल जवाफ गर्न सक्थे विपी, त्यो थियो त्यो बेलाको विपीको राजनीतिक उचाइ । यसले आजका दिनमा पनि म तिनै विपीका आर्दश मूल्य मान्यता, नीति र सिद्धान्तलाई मान्ने मान्छे हुँ भन्दा गर्वले छाती फुल्छ ।

इन्दिराकै देशमा बसेर लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई विपी ‘प्रजातन्त्रमार्फत् फासिवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगञ्जको निराला नगर कोलोनीमा बस्दा विपीले भनेका कुरा बीएचयूका प्राफेसर सिंह अझै सम्झन्छन् । भन्छन्, ‘इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु । नभन्दै विपी मेलमिलापको नीति लिएर नेपाल फर्किए र लगत्तै जेल पनि परे ।’

विपीबारे अर्को एक प्रसंग पनि त्यहाँ उल्लेख गरिएको छ , त्यो के थियो भने विपी प्रधानमन्त्री हुँदै सीमा नजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दूस्तानले आफूमाथि भएको हमला ठान्छ ।’

तर, विपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरुको त्यो प्रतिक्रिया मन परेन । उनले भोलिपल्टै नेपाली संसद्बाट नेहरुलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दूस्तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छौ, हाम्रो भूभागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँ दिल्लीमा पत्रकारहरूले विपीको प्रत्युत्तरका विषयमा नेहरुलाई सोधेका थिए । नेहरुले जवाफ दिए, ‘विपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपियाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ विपी चीनतर्फ ढल्किँदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो ।

यसरी राष्ट्रियताको सवालमा विपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टकिोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउदैँनथे र तत्काल प्रतिक्रिया जनाइहाल्थे, तत्कालिन भारतीय र चीनका शासकहरु विपीसँग यसकारण डराउँथे की विपीले विस्तारै आफ्नो छवि अन्तर्राष्ट्रियस्तरमा एक ख्याति प्राप्त राजनेताको रुपमा स्थापित गर्दै लगेका थिए ।

नेपाल र नेपालीका लागि विपीले थुप्रै विचार, नीति र सिद्धान्तहरु छाडेर गएका छन् । जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ, ती नीतिहरु अहिले लागू गर्न सकियो भने मात्र देशको कायापलट हुन्छ । तर, बिडम्बना आज सान्दाजुको पुण्य स्मृति दिवसमा यो भन्न करै लाग्छ, उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली कांग्रेसले त सान्दाजुका कुरा लागू गर्न सकेन , चाहेन अरुको के कुरा गर्नु । आज कांग्रेस विपीलाई बेच्छ मात्र तर विपीका आर्दश, सिद्धान्त र विचारहरुलाई व्यवहारमा लागू गर्दैन । यसले विपीका अनुयायीहरुलाई ठूलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो त्यतिबेला उसले न विपी सम्झियो न त विपीका विचार सिद्धान्त र आर्दशहरुनै सम्झियो । जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमशः घट्दै गयो र कांग्रेस कमजोर प्रतिपक्षमा सिमित हुन पुग्यो । विपीका आफ्नै भाई भतिजा यो देशका प्रधानमन्त्री पटकपटक भए । उनकै शिष्य शेरबहादुर पटक पटक प्रधानमन्त्री भए , अहिले कांग्रेसको सभापति र प्रधानमन्त्री छन् । । विपीकै कान्छो छोरा डा शशांक कोइराला अहिले कांग्रेसका महामन्त्री छन् । तर, पनि कांग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनीतिमा र सत्ता सञ्चालनमा विपी विचार र नीति लागू गर्न सकेन । यसले विपीको अनुयायीहरुलाई त चोट परेको छ नै स्वयम् सान्दाजुको आत्मा समेत पक्कै पनि खुसी भएको छैन होला । यतीबेला कांग्रेस फेरि सत्तामा पुगेको छ । यो अवसर पनि हो । यो अवसरलाई खेर नफाली कांग्रेसले विपीका विचार र नीतिलाई लागू गर्न ढिला गर्नु हुँदैन ।

वर्षको एक दुई दिन विपीलाई सम्झिएर चर्को भाषण गर्ने , उनकै आदर्शको बाटोमा हिड्ने प्रण गर्ने तर भाषण गरेको पाँच मिनेटमा नै सबै कुरा भुल्ने कांग्रेस नेतृत्वको प्रवृत्तिनै समस्याको मूल जड हो । कांग्रेसले अब पनि बोलीमा मात्र होइन व्यवहारमानै विपीको सिद्धान्त अंगिकार गर्न सकेन भने कांग्रेस फेरि पनि बामपुड्के हुँदै जानेमा दुईमत नै छ । यही सन्दर्भमा स्वयम् विपीले भनेको एउटा भनाइ स्मरण हुन्छ । ‘एक दिन एकजना कार्यकर्ताले विपीलाई सोधेछन् , सान्दाजु प्रजातन्त्र आएपछि हामी जस्ता कार्यकर्तालाई के हुन्छ ?’, विपीले भनेछन्, ‘प्रजातन्त्र आएपछि एकपटक फेरि पार्टी भित्र सुकिला मुकिलाहरु हाबी हुन्छन् , तिनले आर्दश बिर्सन्छन् , त्यस्ताहरुका विरुद्ध पार्टी भित्रै फेरी तिमी जस्ता कार्यकर्ताहरुले संघर्ष गर्नुपर्छ । विपी कति दूरदर्शी थिए भन्ने यही कुराले पुष्टि गर्छ, नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो । विपीका आदर्श र सिद्धान्तहरु बिर्सिन थालियो र सुकिला मुकिलाहरु हाबी भए । तर, इमान्दार कार्यकर्ताहरुले अझै तिनीहरु विरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एक दिन त्यो पनि अवश्य हुन्छ । त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । विपी व्यक्ति मात्र नभएर विचार र सिद्धान्त हो तसर्थ विपीलाई अब कांग्रेसले व्यवहारमानै अवलम्वन गर्न आवश्यक छ । कांग्रेस महाधिवेशन आउँदैछ , यही बेलामा विपीका सिद्धान्त, विचार र नीतिलाई महाधिवेशनबाट समेटेर अघि बढ्न आवश्यक छ ।

आफू पनि केही नयाँ दिन नसक्ने अनि ७० वर्ष पहिले विपीले प्रतिपादन गरेका सिद्धान्तलाई पनि व्यववहारमा अवलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्युहमा फसेको छ । चक्रव्युहबाट निस्कने एकमात्र सुत्र विपीकै आर्दश नीति र सिद्धान्त हो । यसलाई तुरुन्त व्यवहारमानै अवलम्बन गर्न एक पटक सबै इमान्दार कांग्रेसीहरुले नेतृत्वलाई दबाब दिन आवश्यक छ । सधै विपीलाई भजाउने मात्र तर उनका आर्दशलाई पटक्कै व्यवहारमा नउतार्ने प्रवृत्तिनै अहिलेको मुल समस्या हो । तसर्थ विपीलाई अब व्यवहारमानै अवलम्वन गर्न ढिला गर्नु हुन्न ।

(लेखक बस्ताकोटी चितवनका पत्रकार हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका