aroma
जोडिनुहोस
  • होमपेज
  • नारायणगढ–मुग्लिन सडकमा पहिरोको पिरलो, ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता

नारायणगढ–मुग्लिन सडकमा पहिरोको पिरलो, ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता

चितवन, साउन ६-

राष्ट्रिय योजना आयोगअन्तर्गत एउटा अनुसन्धान परियोजनामा कार्यरत बिशाल वाग्लेलाई हेटौंडाबाट काठमाडौँ गइरहनुपर्ने काम पर्छ । सोमबार नारायणगढ–मुग्लिन सडकबाट काठमाडौँ जाने योजना बनाएका उनले एकाएक पानी पर्लाजस्तो भएपछि सडकको रुट बदलेर दामनको बाटो हुँदै काठमाडौँ पुगे । उनले नारायणी अनलाइनलाई भने, ‘बर्षात्को समयमा नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्न निकै पिरलो लाग्छ । कतिबेला पहिरो खस्ने हो थाहा नै हुँदैन । बाटो छोटो र सजिलो भए पनि यात्रा गर्दा निकै तनावमा रहनुपर्छ ।’ उनी जस्ता सयौं यात्रुहरु हरेक दिन निकै तनाव र डर बाकेर आजभोलि नारायणगढ–मुग्लिन सडक पार गर्नुपर्ने बाध्यता छ । दर्कदो पानीमा मात्र नभएर चर्काे घाममा पनि सुख्खा पहिरो खस्छ कि भन्ने डर सबैलाई हुने गर्छ ।

देशको मुख्य मार्ग मानिएको नारायणगढ–मुग्लिन सडकखण्ड बर्सेनि बाढीपहिरोका कारण अवरुद्ध हुने गरेको छ । संघीय राजधानी काठमाडौंलाई तराईसँग जोड्ने सजिलो र छिटो बाटो नै यही सडक खण्ड हो । जहाँ हरेक दिन झण्डै सात हजार बढी सवारीसाधन गुड्ने गर्छन् । हाम्रो देशको भूबनोटका कारण ठाउँ–ठाउँमा पहिरो गएर प्रत्येक वर्ष राजमार्ग अवरुद्ध हुने गरेको विज्ञहरु बताउँछन् । मुग्लिन–नारायणगढ सडक खण्डमा धेरै ठाउँ पहिरोले बर्खामा सडक अवरुद्ध हुन्छ ।

पहिरोले यो वर्ष मात्रै दर्जनभन्दा बढी सवारी साधन पुरिएका छन् । हालसम्म कति सवारी साधनमा क्षति पुग्यो भन्ने यकिन तथ्यांक भेटिँदैन । नारायणगढ–मुग्लिन खण्डमा १२ शाखा सडक छन् । राजमार्ग बिग्रिनुका कारण शाखा सडक नै हुन् । ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा देखिन थालेको हो ।

सार्वजनिक सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गबाट शाखा सडक निर्माण गर्दा सडक कार्यालयको अनुमति लिनुपर्ने, भत्किएको सडक निर्माणका लागि धरौटी राख्नुपर्ने, सडक अवरोध भए तत्काल हटाउनुपर्ने व्यवस्था छ । तर, कतिपय स्थानीय तहले अटेर गरेर शाखा सडक निर्माण गर्दाको सबैभन्दा बढी क्षति मुख्य राजमार्गले व्यहोर्नुपरेको छ।

शाखा सडक प्राविधिकको परामर्शबिना नै खोलिदिने कारणले नै राजमार्गमा क्षति पुग्ने गरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन् । ‘मुग्लिनबाट नौबिसेसम्मका मुख्य राजमार्गका अधिकांश क्षेत्रमा शाखा सडक विस्तार गरिएको छ, जसले गर्दा पानी पर्नासाथ ढुंगा माटोसहितको लेदो मुख्य सडकमा आउने गरेको छ’, खनाल भन्छन्, ‘पहिरो जानुमा ८० प्रतिशत शाखा सडक बिस्तारका कारण हो।’

ग्रामीण क्षेत्रमा यातयातको सहज पहुँचका लागि स्थानीय सरकारहरूले सडक निर्माण गरिरहेका छन्। हिउँदमा जसोतसो चल्ने अधिकांश ग्रामीण सडक बर्खा लागेसँगै हिलाम्मे बनेका छन् । कुनै ठाउँमा सडकको ट्रयाक नै पुरिएको छ, भासिएको छ । वर्षातमा बाढी पहिरोले ग्रामीण सडक बनाएको क्षेत्र भत्किएर मूल सडकमा खस्ने भएकाले पनि मूल सडकमा क्षति हुने गरेको छ । चार किलो, चोर खोला, काली खोला, सेती दोभान, भोर्लेलगायतका ठाउँहरुमा यो वर्ष धेरै पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध हुँदै आइरहेको छ । जसबाट बिरामीदेखि विवाहका जन्ती सबै समस्यामा पर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका