aroma
जोडिनुहोस
  • होमपेज
  • भन्छन् केपी ओलीमा नैतिकता छैन, को सँग छ नैतिकता ? : साहित्यकार क्षेत्री

भन्छन् केपी ओलीमा नैतिकता छैन, को सँग छ नैतिकता ? : साहित्यकार क्षेत्री

एलबी क्षेत्री चितवनको साहित्यिक जगतमा चिरपरिचित नाम हो । कविडाँडा साहित्य समाजका संरक्षक तथा वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख क्षेत्री नेपाली र अंग्रेजी दुवै भाषामा कथा, कविता, निबन्ध लेखनमा सक्रिय रहँदै आएका छन् । समाजका हरेक घटनाक्रमलाई नजिकबाट निहाल्ने र त्यसबारेमा तर्कविर्तक गर्न रुचाउने उनै क्षेत्रीसँग नारायणी अनलाइनका मधुसूदन दवाडीले समसामयिक विषयमा लिएको लिखित अन्र्तवार्ताको सम्पादित अंश :

प्रश्न : चितवनमा बढ्दो कोरोना संक्रमणसँगै लगाइएको निषेधाज्ञाले धेरै जना घर भित्रै छन् । यो निषेधाज्ञाको समयमा यहाँको दिनचर्या कसरी बितिरहेको छ ?

रिटायर जीन्दगी बाँचिरहेको अवस्थामा जसरी पनि बस्ने घरमै हो । खासै फरक परेन भन्न सकिन्थ्यो तर धेरै फरक प¥यो । जीवन ठप्प भयो । जीवनले गतिशीलता गुमायो । यो डेढवर्षको अवधिमा नेपाल भित्र र बाहिर धेरै ठाउँ भ्रमण गर्ने योजना थियो तर योजना सबै धरासायी भए चाहना अधूरा रहे । म र मेरो म्यामको घुमी राख्ने र कार्यक्रम गरि राख्ने चाहनाबाट दुवै बञ्चित भइयो । १८ महिना अघिको मेरो दुबईको भ्रमण अन्तिम विदेश भ्रमण भयो । त्यस पछि घरमै थन्किएको छु ।

कविडाँडा साहित्य समाजले असोज कात्तिकमा गर्नुपर्ने वार्षिकोत्सव र सम्मान कार्यक्रम कोरोना प्रकोपबाट केही खुकुलो भएको बेला गत फागुनमा गर्ने आँट गरेर सफल बनायो । सौराहामा निकै भब्यता र सभ्यताका साथ देश भरका साहित्यकारलाई प्रतिनिधित्व गर्ने गरी आमन्त्रित साहित्यकारको रोहबरमा कार्यक्रम गरियो तर त्यस पछि पुनः पूर्ण बिराम लागेको अवस्था छ ।

दिनचर्या बारे भन्दा कोरोना नलागोस् भनेर जे जति सावधानी गर्नु वा लिनुपर्ने हो हामी दुवै म र मेरो म्यामले गर्दै छौं । कम्पाउण्ड भित्र प्रसस्त ठाउँ भएकाले बिहान भित्रै वाक गर्ने, नित्यकर्म पछि काढापानीलगायत शरीरको इमुनिटी क्षमता बढाउने थरीथरीका पेय पदार्थ बानाउने र पिउने, व्यायाम गर्ने, पढ्ने, लेख्ने, आराम गर्ने, यी नै काम भए धेरैजसो । सुरु सुरुमा फलफूलको अभाव हुन्छ कि भन्ने थियो तर परिस्थितिले आफै विकल्प खोज्छ भनेझैँ आजभोलि घरघरमा आवश्यकता अनुसारका सामग्री ईरेक्सा, टेम्पोहरूमा आइपुग्छन । यसरी हेर्दा जीवन शैलीले स्वतः परिवर्तन लिएको अवस्था छ ।

म दिनहुँ किताब पढ्छु र दिनहुँ लेख्छु । कोरोनाकालका यी दिनहरूमा मेरा छिरलिएर बसेका कविता, कथा, संस्मरण आदिलाई पुर्नलेखन गरी पुस्तकको आकार दिने खालको व्यवस्थापन गरी सुरक्षित राख्ने काम गरेँ । साथै केही नयाँ कविता, कथा, संस्मरण, निबन्ध, पुस्तक समीक्षा पनि लेखेँ । मेरा पाँच पुस्तक प्रकाशनका लागि तयारी अवस्थामा छन् । एक वर्षको समयमा गरेको यो राम्रो उपलब्धि ठानेको छु ।

प्रश्न : यहाँको कुन कुन नयाँ कृति आउने तरखरमा छन् ?

तैयारी अवस्थामा रहेका पुस्तकहरू यस्ता छन् । अंग्रेजी कविता–कथा संग्रह, नेपाली कविता संग्रह, नेपाली कथा संग्रह, आत्मकथामा आधारित संस्मरण, विविध संस्मरण संग्रह । विभिन्न कारणले प्रकाशनमा जान सकेको छैन र कहिले प्रकाशित होलान् र पाठक बीच पुग्लान भन्ने निश्चित पनि छैन । आत्मालोचना गर्दा प्रकाशन नै गरौँ कि नगरौँ भन्ने अन्योलमा पनि छु । कोरोनाको भय, लकडाउनको उराठलाग्दो, राजनीतिक दुषित परिवेशलगायतले मन खिन्न हुन्छ, मस्तिष्क अस्थिर छ, रमाइलो हराएको छ जाँगर परास्त छ । पढ्दा खेरि मन विचलित भई राख्छ, लेख्दा मन केन्द्रित हुँदैन । जे भइरहेछ स्वस्फूर्त नभएर जबर्जजस्ती आफूलाई लतार्नु परिरहेछ । यस्तो अवस्थामा पुस्तक के प्रकाशन गर्ने जस्तो पनि लाग्छ ।

प्रश्न : नेपालमा एकातिर कोरोना महामारी बढ्दो छ भने अर्काेतिर राजनीतिमा पनि धेरैनै उथलपुथल भएको छ ? नेपालको राजनीति कता जाँदै छ ? किन हामी फेरि २०५१ सालपछिको अस्थिर राजनीतिको अवस्थातिर फर्किऔं ?

कोरोनाले गर्दा देशमा धेरै जनधनको क्षती भयो । सयकडौको संख्यामा नेपालले आफ्ना जनशक्ति गुमाउनु प¥यो । बौद्धिक व्यक्तित्वहरू, साहित्यकार, संगीतकार, कलासाधक धेरैको अल्पकालमै मृत्यु भयो । आर्थिक क्षतिलाई म खासै ठूलो क्षति मान्दिन किनकी बिगतका दशकहरूमा पनि नेपाल जहिले पनि मनपरी ट्याक्स, विदेशी अनुदान, रेमिट्यान्स र ऋणमै बाँची रहेको देश हो । हाम्रो तर देशका भविष्य भनिने कतिपय युवाको निधन यो देशका लागि धेरै ठूलो क्षति हो ।

राजनीतिमा उथलपुथल भएको म मान्दिन । राजनीतिक घटनाक्रम तेजीका साथ् घटबढ भएका हुन् र कारण पनि प्रष्ट छ । एमाले पार्टीभित्रको आपसी असमझदारी र द्वन्द्व, नेपाल कम्युनिस्ट पार्टी टुक्रियो, माओवादी केन्द्र र एमाले आआफ्नै पुरानो अस्तित्वमा आए । पार्टी टुक्रिनु पनि ठीक होइन तर अदालतले नै एमाले–माओवादी एक भएकोलाई कारणसहित बदर ग¥यो । त्यसपछि पनि उहाँहरू जुट्नु पर्ने हो तर सक्नु भएन । दुई दुई पटक संसद विघटन भयो । एमाले पुनः फुटको संघारमा छ । जसपा जुट्नु भन्दा पहिले फुट्दै छ । राजनीतिमा संख्याको ठूलो भूमिका बन्न गएकोले आजको राजनीति अंकगणितको खेल बन्न पुगेको छ । केही संख्या दगुर्दै यता जान्छन् र सरकार यताको बन्ने खेल हुन्छ अनि केही संख्या दगुर्दै उता जान्छन् र सरकार उताको बन्ने खेल हुन्छ । चुनाव ताका पश्चिम बंगालकी चिफ मिनिस्टर ममता बनेर्जीले भन्थिन् ‘खेला होबे, त्यो खेला यहाँ पनि प्रष्ट छ ।’ नेपाली राजनीतिमा चरित्र, आदर्श र नैतिकताको मृत्यु उहिल्यै भइसकेकोले दोष केपी ओलीलाई मात्र दिँदा एकपक्षीय हुन्छ । प्रत्यक्षरूपमा हेर्दा आक्रोश केपीमाथि नै छ । दोष केपी ओलीलाई नै दिन्छिन् तर मेरो आमाले भने झैं – तुलामा हालेर जोख्दा घट बढ कोही छैनन् । कारण अनेक छन् । दोष नेपाली राजनीतिले लिनु पर्छ । व्यक्तिले भन्दा चरित्र बिकेको अवस्था व्यक्तिमा इमान्दारिताको नितान्त आभाव छ । राजनीतिको केन्द्र वा परिधि देशप्रेमी कोही छैनन् । केन्द्र लोभी छ र परिधि अनैतिकताको चपेटमा आफै परास्त छ । जता हे¥यो पार्टीप्रेमी र सत्ताप्रेमी छन् । पाँचपाँच जना पूर्वप्रधानमन्त्रीहरू एक गुट बनेर सत्तासीन प्रधानमन्त्रीलाई सत्ताच्युत गर्न खोजिरहेका छन् । उद्देश्य एउटै हो, नारा देश–जोगाओ वा देश–बनाओ भन्दा बढी केपी हटाओको छ ।

पूर्व र वर्तमान गरेर यी छ जना प्रधानमन्त्रीहरूलाई थाहा छ संघीयता घाँड़ो हो । देशले यसको आर्थिक भार धान्न सकिरहेको छैन । यिनीलाई थाहा छ । देशमा मात्र १५० जना सांसद भए पुग्छ । बाँकी सबै अनावश्यक हुन् । समावेशीको बाटो संसदमा छिरेकाहरूको कुनै औचित्य छैन । यी सबैमा देश–प्रेम हुन्थ्यो भने एउटा राष्ट्रिय सरकारको गठन गरेर नयाँ सम्झौता, नयाँ सोच, नयाँ निर्माणको नारा र युवाहरूमा सत्ता हस्तानान्तरण गर्ने सोचसहित मात्र १५० सांसदका लागि चुनावमा जाने थिए । विकट परिस्थिति सृजना भएको बेला जनतामाझ गएर नयाँ जनादेश लिनु अनुचित वा अपराध होइन ।

तपाइँले सोधेको उथलपुथल कतै भएको छैन र त्यस्तो उथल पुथल हुँदैन पनि । त्यसको लागि पनि ठूलो आँट चाहिन्छ । यिनीहरू कायर हुन् । हाम्रो देशमा आँटिला नेता हुन्थे भने देश बनाउने क्रममा जुट्ने थिए । केपी ओली हटउलान् तर के लुछाचुडी र लूटको तन्त्र रोकिएला ?

देशको राजनीतिक अवस्था अस्थिर अवश्य छ तर उथलपुथलको स्थितिमा छैन । राजतन्त्र फर्किन्छ कि ? आर्मीले शासन लिन्छ कि ? भारत वा चीनले देशमा कब्जा गर्छन् कि ? आदि आदि अनावश्यक फैलाइएका अफवाह हुन् । यस्तो केही हुँदैन । हो कहिले संघीयताको नाउँमा, कहिले कहाली लाग्दो सांसद संख्याको नाउँमा त कहिले संसद विघटनको नाउँमा, सत्ता लुछाचुडीको नाउँमा, आउने दिनहरूमा पनि राजनीतिक र आर्थिक लूट मच्चिरहन्छ । हामीले हे¥यौं कोरोनाको कहरकालमा पनि लाखौ, करौडौ, अरबौंको घोटाला गर्न र कमिसन खान पछि हट्दैनन् । कुनै दिन आर्थिकरूपमा देश टाट पल्टिन सक्छ, सामाजिकरूपमा देश भताभुंग हुनसक्छ । कुनै दिन समाजिक रुपान्तरणको नाकाबपोशी नयाँ परिभाषा सहितको गृहयुद्ध मच्चिन सक्छ । तर कुनैदिन, अहिले होइन !

प्रश्न : यहाँले केपी ओलीलाई खराबहरुको भीडमा केही ठीक नेता भन्ने गर्नु हुन्छ ? किन र कसरी ओलीको समर्थक बन्नु भयो ?

म केपी ओली पक्षधर होइन । म डेमोक्र्याटिक विचार धाराको हो । उहाँ कम्युनिस्ट विचारधाराको राजनीतिको बजारमा चलेको हल्ला अनुसार मानौ केपी ओली बेठीक छन् । म आफैलाई प्रश्न गर्छु उहाँ भन्दा ठीक को त ? सबैलाई त हामीले पालै पालो अनुभव गरिसकेका छौं । भन्छन् केपी ओलीमा नैतिकता छैन, कोसँग छ नैतिकता ? देशको राजनीतिबाट नैतिकता र आदर्श पलायन भएको उहिलै हो । कृष्ण प्रसाद भट्टराईको सरकार पनि यसैगरी ढलेको हो । केपीओलीले दोस्रो पटक संसद विघटन गर्दा मलाई लागेकै हो राजनीतीमा धेरै किचलो भयो । जनताबीच गएर ताजा म्यान्डेट लिएर आएको दलले देशलाई स्थायित्व दिन्छ कि ? म पक्षधर बनेको होइन । चुनाव हुँदैन वा केपीको मनसाय चुनाव गराउने होइन भन्ने कुतर्क म स्वीकार गर्दिन । विपक्षले गर्नै नदिने हो भने दोस्रो कुरा हो । मात्रै कसको नेतृत्वमा चुनाव गराउने भन्ने हो । शेरबहादुरले गराए पनि केपीओली ले गराए पनि चुनाव सजिलै हुन सक्छ ।

मेरो मनसाय र विशेष अनुरोध के भने – सर्वोच्चको फैसलालाई पार्टीहरूले सहर्ष स्वीकार गरेर शान्तिपूर्ण तरिकाले देशलाई विकासको मार्गमा जान दिउँन् । जनता शान्ति चाहन्छन् राजनीतिको नाउँमा जनताले चाहेको शान्ति नखोसियोस् ।

प्रश्न : धेरैैले एलबी सरलाई कांग्रेस निकट साहित्यकारको रुपमा पनि बुझ्ने गर्छन् ? साहित्यमा राजनीतिक पक्षरताले के अर्थ राख्छ ?

एकदम गलत र हावा कुरा । एक त म साहित्यकार होइन । साहित्यकार बन्न निकै ठूलो योग्यता चाहिन्छ । मैले कोरेका दुईचार वटा कविता वा केही कथामा कांग्रेसको समर्थन वा गुणगान लेखेको छैन । एकदमै निस्पक्ष र न्युट्रल छन् मेरा रचना । मैले आफूलाई डेमोक्र्याट भनेकोले र कांग्रेस पार्टी एकमात्र पूर्ण डेमोक्र्याट पार्टी भएकोले मलाई कांग्रेस नजिक भन्ने, देख्ने र बुझ्ने गर्छन् । तर कांग्रेस पार्टीलाईनै थाहा छ म पार्टीको मान्छे होइन । म कुनै पार्टीसँग आबद्ध छैन कसैको क्रियाशील सदस्यता लिएको छैन ।

कविहरू अन्याय विरोधी हुनु पर्छ र गलत राजनीतिको विपक्षमा उभिनु पर्छ भन्ने मेरो मान्यता हो तर सकारात्मक सोचसहित जब राजनीतिले गलत नजिर वा गलत निर्णय प्रस्तुत गर्छ कवि विरोधमा बोल्छ । उसका सृजनाहरू विरोधमा बोल्न थाल्छन् । अहिलेको समस्या के भने देशका सबै नागरिक कुनै न कुनै खेमामा विभाजित छन् । कवि साहित्यकार पनि देशका नागरिक नै हुन् र आरोप लगाइन्छ यी कविहरूले अमुक पार्टीको पक्ष लिएर लेखे वा सृजना गरे । तेस्रो पनि होइन । कवि भोटर हो तर उसको सृजना निष्पक्षताका साथ बोलिरहेको हुन्छ । राजनीतिक चेत विकासका लागि उसको सृजना जहिले पनि सत्य निरुपण गर्छ । उसको लेखन शैलीमा प्रगतिशिलता वा प्रजातान्तिक आचारण देखिदैमा उसको सिर्जना अमुक पार्टीको पक्षधर भन्न नमिल्ला ।

प्रश्न : चितवनको साहित्य क्षेत्र राजनीतिक पक्षधरताको आधारमा धेरै नै विखण्डित भएको हो ?

होइन । कत्ती पनि होइन । चितवनको साहित्य कत्ति पनि बिखण्डित भएको छैन । अघि मैले भने झैं चितवनका साहित्यकार र साहित्यप्रेमी प्रगतिशिल र प्रजातन्त्र धारमा बाँडिएका देखिन्छन् होला तर विखण्डित छैनन् । निष्पक्ष छन् । चितवनका साहित्यिक संघ–संस्थाहरूले गरेका कार्यक्रममा सबैको समानरूपमा सहभागिता हुन्छ ।

प्रश्न: राजनीतिक आस्थाको आधारमा साहित्यकारहरु ‘प्रगतिशिल’ र ‘प्रजातान्त्रिक’ भने विभक्त हुनु ठिक हो ?

एउटा कवि अथवा कथाकार प्रगतिशील वा प्रजातान्त्रिक हुनुको अर्थ उसको राजनीतिक आस्था भन्दा बढी साहित्यचेत हो । साहित्यका दुई शक्तिशाली धार प्रगतिशील र प्रजातान्त्रिक दुई शक्तिशाली चेत पनि हुन् । तर साहित्यमा कट्टर पक्षधर धेरै कम छन् । अधिकांशले दुवै धारमा लेखिरहेका हुन्छन् । एउटै सृजनामा दुवै धारको उपस्थिति हुन् सक्छ ।

मेरो एउटा कविता छः

काट
छम्टि
निमोठ
जे गरे नि गर
तर एउटा कुरा बुझिराख
हे मान्छे
म प्रकृति
म सृजना
म निर्माण
उम्रन छाड्दिन
पलाउन बिर्सन्न
अकासिने लक्ष्य त्याग्दिन

यो मेरो
नियम, नियति र निर्णय,
यो कुन धारको कविता हो ? के यसमा प्रगतिशीलता छैन ? उ भन्दै त छ म –
‘अकासिने लक्ष्य त्याग्दिन’

अनि जब ऊ भन्छ –
‘म प्रकृति, म सृजना मा निर्माण’
के यसमा कसैले प्रजातान्त्रिक आचरण देख्दैन ?

प्रश्न : साहित्य लेखनसँगै गरिने राजनीतिले यसको व्यवसायिकतामा कस्तो असर गर्छ ? पाठक त हरेक वर्ग, पार्टी र सम्प्रदायका हुन्छन् । साहित्यकारको व्यक्तित्व र राजनीतिक पक्षधरताले उसको रचनामाथि प्रभाव पर्छ कि पर्देन ?

साहित्य लेख्नेहरू पनि सक्रिय राजनीतिमा नभएका होइनन् । विपीले साहित्य लेख्थे र राजनीति पनि गर्थे । लक्ष्मीप्रसाद देवकोटा पनि मन्त्री भएका थिए । १५ वटा प्रसिद्ध पुस्तक लेखेका चर्चिल बेलायतका प्रधानमन्त्री थिए । पण्डित जवाहरलाल नेहरू निकै प्रभावशाली लेखक थिए । ‘डिस्कभरी अफ इन्डिया’ तथा ‘ग्लिम्स अफ वल्र्ड हिस्र्टी’ विश्व प्रसिद्ध पुस्तक उनको नाउँमा छन् । अमेरिकाका पूर्वराष्ट्रपति ओबामा राम्रा साहित्यकार थिए । उनको पुस्तक ‘ड्रिम्ज फ्रोम माइ फादर’ निकै चर्चित पुस्तक हो । यो गम्भीर प्रश्नको उत्तर पाठकको हेर्ने नजरियामा फरक पर्छ । ‘ह्या यो त चेखवको हो, ऊ त कम्युनिस्ट थियो’ भनेर मूर्खतापूर्ण अभिव्यक्ति आयो भने भन्न सकिन्न अन्यथा गोर्की, चेखव, मार्क्स, लु लुनलाई आफ्नो राजनीतिको कालो चश्माबाट बाहिर निस्केर नपढ्ने को होलान र ?

साहित्यिक कृतिहरूमा साहित्यकारको व्यक्तित्वको प्रभाव त पर्छ नै तर उसको राजनीतिक पक्षधरताको खासै प्रभाव पर्ला जस्तो मलाई लाग्दैन । मैले भन्न खोजेको विपीको राजनीतिक व्यक्तित्वले गर्दा उनका आख्यानहरू बजारमा बिक्री भएका होइनन् । मोदनाथ प्रश्रित मदन पुरस्कार विजेता लेखक हुन् यसको अर्थ यो होइन कि उनका पुस्तक वामपन्थी विचारधाराकाले मात्र पढ्ने गर्छन् । उस्तै मदन पुरस्कार विजेता राजेश्वर देवकोटाका पुस्तक सबै पक्षधरले पढ्छन् । यसको आर्को पाटो के भने प्रगतिशील वा कम्युनिस्ट सिद्धान्तमाथि मोदनाथ प्रश्रितद्वारा लिखित कृतिहरू शायद त्यही खेमाकाले पढ़्लान्, विपीद्वारा लिखित प्रजातन्त्र वा नेपाली कांग्रेसको सिद्धान्त अधिकांशतः त्यै खेमाकाले पढ्लान् तर असल पाठकलाई लेखक कुन खेमाको हो भनेर कुनै फरक पर्दैन । मात्र एउटा कुरा, ‘यस्ता असल पाठक कति छन् होला ?’

प्रश्न : अहिले नेपालका हर क्षेत्रमा छुट्याइएको विभिन्न जनजाति र अल्पसंख्यक समुदायलाई ‘कोटा’ र आरक्षणबारे बहस चल्दै छ ? यसबारे यहाँको धारणा के छ ? कोटा जातको आधारमा कि वर्गको आधारमा ?

यो जातीय र वर्गीय पाटोमा विभाजित जनताको भावनात्मक मनसायसँग जोडिएको नितान्त राजनीतिक प्रश्न हो । यसबारे म मौन बस्न चाहेँ । फेरि पनि मेरो स्वतन्त्र विचार के भने –सबै सामाजिक विषमताको जडमा शिक्षाको भूमिका अहम हुन्छ । सरकारले दलित, जनजाति र अल्पसंख्यक समुदायका गरिब जनतालाई राम्रो भन्दा राम्रो निःशुल्क शिक्षा प्रदान गर्नु पर्छ । म त यहाँसम्म भन्न चाहन्छु । यो समूह र समुदायका बालबालिकालाई देशभरीका बोर्डिंङ स्कूलमा बोर्डर गरेर निःशुल्क शिक्षा दिनु पर्छ । आगामी ५० सम्म यी वर्षहरूमा उनीहरूमा शिक्षाले गर्दा अवरुद्ध भएको अन्य जातिका विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने क्षमताको विकास हुन्छ ।

प्रश्न : पारिवारिक भेटघाट र विभिन्न कामको सिलसिलामा यहाँ विश्वका विभिन्न देशहरुमा पुगिसक्नु भएको छ ? धेरै नेपालीसँग भेटिसक्नु भएको छ ? किन अहिलेको पुस्ता देशमा बन्न चाहँदैन ? उनीहरुको मनोविज्ञान के पाउनु भएको छ ?

यो प्रश्न समसामयिक हो तर उत्तर जोखिमपूर्ण छ । मेरा दुवै छोरा नेपालमा नबसेर अस्ट्रेलिया पुगेका छन् । कारण धेरै भन्छन्\  भनिन्छन, आदर्शपूर्ण खोकाई धेरै र धेरै किसिमका छन् तर पहिलो कारण महत्वाकांक्षा, उज्ज्वल भविष्यको खोज, विदेश बस्ने रहर नै हुन् । खाडी प्रदेशमा जानेहरू बाध्यताबश पनि गएका छन् तर घरमा दुई छाक खानै नपाएर गएका होइनन् । नेपालमा भन्दा अलिक बढी नै कमांइन्छ कि भनेर पनि गएका हुन् । नेपालमा श्रम धेरै खर्च गर्नुपर्ने र श्रमको मूल्य थोरै पाइने जस्तो यथार्थले गर्दा युवा पिढीका महिला र पुरुष दुवै खाडी प्रदेश तिर पनि लागे । अमेरिका, अस्ट्रेलिया र बेलायत जस्ता देशमा नेपालमा प्लस टू पास गरेर वा भारतबाट शैक्षिक प्रमाणपत्र किनेर उच्च शिक्षा आर्जनका लागि विदेश गएका भए पनि एकाध अपवाद छोडेर श्रम बेच्न पनि गएका हुन् । त्यहाँ गएर रातदिन घोटिँदै, कमाउँदै लाखौँ लाख कलेजलाई तिर्दै बर्षौ बस्छन र अन्त्यमा त्यो देशको नियमावलीमा भने अनुसारको शर्त पुगेपछि पीआर पाउँछन् केही वर्षको प्रतिक्षा पछि नागरिकता पाउँछन् । अनि ढुक्क भएर आफ्ना श्रीमती र सन्तानसँग अंग्रेजीमा कुरा गर्छन् र हामी त डायस्पोरा भनेर नाक ठड्याउँछन् । अनि त्यहींबाट नेपालको गरीबी, राजनीतिको कंगाली र सामाजिक स्तरमाथि आदर्शका भाषण खोक्छन् । सबैले होइन होला तर धेरैले अबत पुग्यो फर्के र आवो आफ्नै देशमा भन्दा मान्दैनन् । यसरी जानेहरूलाई विश्व बजारमा श्रमको अधिकतम मूल्य खोज्न गएको पनि भन्न सकिन्छ ।

राजनीतिक कारण पनि छ । माओवादी युद्ध ताका नेपालमा राजनीतिक पीडित भएकाहरूलाई केही देशहरूले काम गर्ने भिसा पनि दिन्थ्यो । त्यही निहुमा धेरै पलायन भए । सानोतिनो काम गर्दै गए । पीआर लिँदै गए र उतै बस्दै गए । फर्कन मानेनन्, मान्दैनन । मेरा कन्नाले आउँछ भन्छन् । केही पनि होलान् । धेरै थोरै– नगण्य । एकजना प्रइभेट क्याम्पसका प्राध्यापक भेट भए । उनी फोर्ड कम्पनीको कुनै शोरूममा गाडी धुनेकाम गर्दा रहेछन् । विदेशमा काम सानो ठूलो हुँदैन त्यो ठीक हो तर मैले सोधेको थिएँ । सर अब त देशमा शान्ति छ जाउँ उतै, उहाँ फिस्स हाँस्दै भन्नुभयो – असम्भव ।

अर्को कारण पनि छ । यहाँका राजनीतिक दलका नेताहरूलाई देशप्रति कुनै जिम्मेवारीको बोध नभए झैँ धेरैलाई त्यही रोगले समातेकोले देशप्रतिको चिन्तन र उत्तरदायित्वको बोध नभएकोले पनि विदेश पलायन हुन्छन् । उदाहरणका लागि नेपाली सेनामा मेजर साब भएका, प्रहरीमा डीएसपी साब भएका,विश्वविद्यालयमा प्रोफेसर साब भएका, कतै इञ्जिनियर साब भएका पहिला कसोकसो गरेर उतै पुगे डिपेनडेन्टमा परिवार डाके, क्लिनिङ, रेस्टुराँ, ग्यास स्टेसनहरूमा काम गर्दै पीयार लिए अनि बसे मज्जाले विदेशमा । विदेशमा पुगेका यिनीहरू नेपालको दुर्गति, आर्थिक कमजोरी, बेरोजगारी, सामाजिक विचलन आदिआदिबारे खोक्चन, आदर्शका कुरा पनि गर्छन तर नेपाल फिर्ताहुने कुरा गर्दैनन् ।

अन्त्यमा थप भन्न चाहें – तपाईंको प्रश्न हो किन अहिलेका पुस्ता देशमा बस्न चाहन्नन् ।

यसको सजिलो र वाजिब उत्तर हो । देशमा उचित अवसरको अभाव, आजका युवा आफ्नो श्रम, सिप र ज्ञानको उचित मूल्य खोज्छन् । यो अनुचित होइन । हाम्रा युवाहरूमा विश्व परिपे्रक्षमा प्रतिस्पर्धा गर्ने साहस, छमता र अठोट छ । यसर्थ उचित प्लेटफर्मको खोजीमा विश्वका कुनाकुनामा पुग्छन् र आफ्नो सिप र ज्ञानको परीक्षण गर्दै हिड्छन् । श्रम गर्छन् । संघर्ष गर्छन र सपना देख्छन् । धेरै मात्रामा सफल पनि भएका छन् । कति डाक्टर छन्, इञ्जिनियर छन् । प्राध्यापक छन् ठूला ठूला व्यवसायी छन् । मात्र एउटा कुरा देशमा तिम्रो खाँचो छ अब त गाउँ फर्क भन्दा मान्दैनन् । कतिले पछि भन्छन् । त्यो पछि कहिले हो ? थाहा छैन ।

धन्यवाद ।

एक प्रतिक्रिया on “भन्छन् केपी ओलीमा नैतिकता छैन, को सँग छ नैतिकता ? : साहित्यकार क्षेत्री

  1. Powerful: “कविहरू अन्याय विरोधी हुनु पर्छ र गलत राजनीतिको विपक्षमा उभिनु पर्छ भन्ने मेरो मान्यता हो l”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका