aroma
जोडिनुहोस
  • होमपेज
  • देवघाटका सन्यासी पूर्वप्रधान न्यायाधीश शर्मा भन्छन्: जनता सार्वभौम हुन्, निर्वाचनमा जानु अपराध होइन

देवघाटका सन्यासी पूर्वप्रधान न्यायाधीश शर्मा भन्छन्: जनता सार्वभौम हुन्, निर्वाचनमा जानु अपराध होइन

एलबी क्षेत्री

आज देवघाट जाने योजना बन्यो । हिजो फेसबुकमा एकजना सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश दामोदर शर्माको एउटा अपत्यारिलो तस्विर भाइरल भएको थियो । देवघाट वारी नै उनको आश्रम रहेछ र मैले मेरो कार पार्क गरेर उनको आश्रम पत्ता लगाई त्यहीं पुगेँ । उनले आफ्नो आश्रमको नाम ‘अखण्डानन्द आश्रम’ राखेका रहेछन् ।

बिहानको ११ बजिसकेको थियो । कृष्ण मन्दिरसँगै रहेको उनको आश्रम भित्र प्रवेश गर्दा उनी अग्नि पूजामा मग्न थिए । एउटा रित्तो कुर्चीमा बसेर चारै तिर नियालेँ । भित्तामा हिन्दू भगवानका तस्विर टाँसिएका थिए । भित्तैमा टासिएको टेलिभिजनमा भजनकीर्तन चलिरहेको थियो । उनी एकाग्र मनले एउटा हातले अग्निमा चरु हवन गर्दै थिए । अर्को हातमा रुद्राक्ष माला थियो । म पुगेको उनलाई आभास नभएको होइन तर उनले आफ्नो पूजाक्रमलाई क्रमशः निरन्तरता दिए । यो लगभग आधा घण्टाको प्रतिक्षापछि उनी ध्यानबाट निवृत भई मन्दिर कक्षबाट बाहिर निस्किए । हातमा रहेको त्यो रुद्राक्षको माला आफ्नो घाँटीमा राखे । मैले नमस्कार टक्र्याएँ । लिए तर म प्रति खासै रुचि देखाएनन् । अलिक खल्लो स्वरमा सोधे , ‘किन आउनु भयो ? कता आउनु भयो ? ’ मैले विनम्रतापूर्वक नै भने, ‘तपाइँलाई भेट्न आएको हो । अहिले म देवघाट आएको छु ।’

उनले भने, ‘म त सन्यासी भएर बसेको मान्छेसँग किन भेट्न खोज्नु भयो ?’ मैले फेसबुकमा उनको भाइरल भएको फोटोद्वारा आकर्षित भएर उनलाई भेट्ने उत्कृष्ट इच्छा जागृत भएकाले उनको आश्रम खोज्दै आएको भन्दा उनले पुनः अरुचिकै स्वरमा भने, ‘हामी यसरी नै बस्छौं, जीवन चलिरहेछ । ईश्वरप्रति समर्पित छौं । यहाँभन्दा बढी केही छैन मसँग ।’ साथै उनले सोधे ‘तपाइँको परिचय के हो ?’ मैले विनम्रताका साथ भने, ‘मेरो खासै परिचय छैन गुरु, म त्रिभुवन विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हो । चितवनमै बस्छु’, त्यसपछि उनमा अचानक परिवर्तन आयो र भने ‘ओ हो ! तपाइँ यो देशको विद्वान नागरिक, यता आउनुस्, सँगै बसौं ।’

पहिला म टाढा कुर्चीमा बसेको थिएँ । उनको स्वर केही नरम हुँदा नजिकको कुर्चीमा गएर बसेँ । मेरो परिचय खुले पछि उनले आफ्नै खाटमा बस्न कर गरे र सँगै कफी खान आग्रह गरे । स्टिलको गिलासमा कफी आयो र कफीसँगै विभिन्न विषयमा कुरा गर्‍यौ । उनले आफ्नो व्यक्तिगत जीवनबारे केही भन्न चाहेनन् । मैले कर पनि गरिन । मात्र भने, ‘मेरो बारे बाहिर सोध्नु भयो भने सबैले भनिहाल्छन ।’ परिवार बारे सोद्धा छोटकरीमा भने, ‘मेरो कोही छैन । म एक्लै आएँ एक्लै जाने हो ।’ त्यसपछि उनीसँग मैले वर्तमानमा नेपाली राजनीतिबारे कुरा गर्ने चाहना राख्दा यस विषयमा उनले केही बोल्न चाहेनन् । मैले भने, ‘तपाईं देशको पूर्वप्रधानन्यायाधीश, देश राजनीतिक रूपमा लथालिङ्ग बनेको परिवेश, जनताको सार्वभौम परिचय भनिएको संसद दुईदुई पटक भंग भएको अवस्था छ । त्रिभुवन विश्वविद्यालयको एकजना सेवानिवृत्त प्राध्यापक यसबारे तपाइँसँग विमर्श गर्न चाहँदा आपत्तिजनक त होइन सर ।’

उनले सोझै भने, ‘पूर्वन्यायधीशहरूले आफ्नो कुरा राखिसक्नु भएको छ । शेर बहादुरलगायत पाँचपाँच जना पुर्वप्रधानमन्त्रीहरूले आफ्नो कुरा बारम्बार दोहोर्‍याइरहेका छन् । म सन्यासी भएर बसेको मान्छेले के भन्ने सर ?
मैले भने, ‘हिजोको दिनमा त्यस्तो उच्च ओहदाको जिम्मेवारी लिएर बस्नु भएको हजुर भित्तामा टासिएर भजन गाइरहेको टेलिभिजनबाट तपाइँले देशमा घट्दै गरेका राजनीतिक समाचार दुर्घटना अवश्य नै सुन्नु हुन्छ । मन त तपाइँको पनि दुख्छ होला सर । मन र मस्तिष्कमा विचारले पनि आक्रमण गर्छन नै होला ।’

उनले मेरो नाम साधे । मैले एलबी क्षेत्री भने । उनले भने, ‘क्षेत्री जी, लोकतान्त्रिक परिपाटीमा विकल्प रहुन्जेल संसद विघटन गर्नु उचित होइन तर धेरै नै किचलो भइ सक्दा जनतानै सार्वभौम शक्ति भएकोले जनताकै बीच गएर निर्णय लिनु भन्नु कुनै अपराध होइन ।’ जनताकै बीच गएर निर्णय लिनु भनेर उनले निर्वाचनमा जाने कदमलाई सकारात्मकरुपमा लिएका थिए ।

त्यस पछि उनीसँग सोध्ने योग्य मसँग कुनै प्रश्न वा जिज्ञासा न रहेकोले बिदा मागे । उनले भने, ‘पख्नोस् पहेल्याम्म पाकेका दुईवटा केरा दिँदै भने, ‘यो प्रसाद लिएर जानोस् । तपाइँको शुभ होस् ।’ मैले प्रणाम गरें र फर्कें । देवघाटको मुख्य पार्किंङ तिर जाँदै गरेको मूलबाटोमा लवराज सुवेदी नाम भएका एकजना विद्वानसँग मेरो पुरानो परिचय थियो र उनलाई खोजेर केहिबेर सन्यासी दामोदर शर्माबारे जानकारी लिने मनसाय राख्दा उनले भने, ‘खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा उनी कायम मुकायम प्रधानन्यायाधीश नियुक्त हुनुभएको रहेछ त्यस पछि खिलराज रेग्मी सेवानिवृत भएपछि उहाँ प्रधानन्यायाधीश नियुक्त हुनु भएको रहेछ ।

सुवेदीबाट नै मलाई २०६६–६७ देखि नै दामोदर शर्मा चितवनको देवघाट आउँदै गरेको र एउटा आश्रमको निर्माण योजनामा सक्रिय रहेको जानकारी प्राप्त भयो । उनी भारतको वृन्दावनका कुनै अखण्डानन्द महाराजबाट सन्यास दीक्षा ग्रहणगरी पूर्णरुपमा सन्यास जीवन ग्रहण गरेका रहेछन् ।’

उनका काठमाडौं र सिमरामा पनि आश्रम रहेछन र मसँग नै ‘कहिले काहीं उता पनि जाने गर्छु ।’ भन्ने गरेका थिए । लवराज सुवेदीजीको भनाइ अनुसार देवघाट बासिन्दाका लागि उनको मुख्य योगदान सरकारी लगानी आयोजनामा पारेर खाने पानी को व्यवस्थापन हो । उनले भने, ‘आज हामीले उनले गर्दा सरकारी पानी खान पाएका छौं ।’

(लेखक क्षेत्री वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका पूर्वक्याम्पस प्रमुख तथा अग्रज साहित्यकार हुन् । )

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका