aroma
जोडिनुहोस
  • होमपेज
  • काँग्रेस वरिष्ठ नेता पौडेल भन्छन्ः संस्कृतको पुनर्जागरण हुनुपर्छ

काँग्रेस वरिष्ठ नेता पौडेल भन्छन्ः संस्कृतको पुनर्जागरण हुनुपर्छ

काठमाडौँ, जेठ ३१–

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमृत भाषाका रुपमा रहेको संस्कृतको पुनर्जागरण गरिनुपर्नेमा जोड दिनुभएको छ ।
प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको ७० औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिबाट आयोजित कार्यक्रममा उहाँले संस्कृत मासिने भाषा नभएको बताउनुभयो । ज्योतिष, आयुर्वेद, दर्शनजस्ता ज्ञान, विज्ञान रहेकाले संस्कृत विश्वकै धनी भाषामध्येमा पर्ने पूर्व सभामुखसमेत रहनुभएको पौडेलले सुनाउनुभयो ।
संस्कृत भाषाकै पृष्ठभूमिमा नेपाली भाषा परिष्कृत भएकाले राजनीतिकै कारण यसलाई बिगार्नु नहुने विद्यापीठका पूर्व विद्यार्थीसमेत रहनुभएका पौडेलले बताउनुभयो । “यही क्षेत्रमा समर्पित हुने संयोजकको आवश्यकता छ, राजनीतिक क्षेत्रबाट सहयोग गर्ने काम हामी गर्छौँ, संस्कृतको पुनर्जागरण गर्न लागिपर्नुपर्छ, निराशा छोडेर आशावादी बनौँ, जयतु संस्कृतम्बाट लोकतन्त्र स्थापना भएको छ, संस्कृतका विद्वानमा एकताको भावना आवश्यकता छ, गुरु सत्यका पक्षधर बन्नुपर्छ”, उहाँले भन्नुभयो ।
विसं २०२० देखि २०२४ सालसम्म आफूले तत्कालीन संस्कृत महाविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उत्तीर्ण गरेको नेता पौडेलले सुनाउनुभयो । “मलाई राजनीतिमा स्थिर हुन संस्कृत पृष्ठभूमिले साथ दिएको छ, संस्कृत र यसका विद्वानप्रति कृतज्ञ छु”, उहाँले भन्नुभयो ।
पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले प्राज्ञिक चेतनाको कोणबाट वाल्मीकि विद्यापीठलाई सम्झनुपर्ने बताउनुभयो । चाणक्यले भारतवर्षमा चेतनाका माध्यमबाट एकता कायम गरेको उहाँको भनाइ थियो । विद्यापीठमा छिरेपछि राजनीतिक विचारको वाहकभन्दा पनि पूर्वीय संस्कृतिको वाहकका रुपमा सोचेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । बाहिरी आक्रमणबाट जोगिन पनि परिणाम दिने गरी काम गर्न उहाँको सुझाव छ ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले पश्चिम पूर्वतिर फर्किरहेका बेला विश्वविद्यालय ज्ञानको अखण्ड भण्डार हो भन्ने सन्देश दिनुपर्ने बताउनुभयो । कोरोनाकै कारण विश्वविद्यालयको दीक्षान्त गर्न नसकिएको उहाँले सुनाउनुभयो । भदौ, असोजसम्ममा दीक्षान्त समारोह गर्ने उपकुलपति लामिछानेको प्रतिबद्धता छ । विश्वका अन्य विश्वविद्यालयसँग सहकार्य गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडाले कोरोना कहरका कारण प्रविधिलाई उपयोग गरेर कक्षा चलाइएको बताउनुभयो । कुलसचिव माधवप्रसाद अधिकारीले पश्चिमाहरुसमेत संस्कृतप्रति आकर्षित भइरहेका बेला विश्वविद्यालयको महत्व बढेको बताउनुभयो । कोभिडपछि विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन लागिएको विश्वविद्यालयले जनाएको छ ।
पिण्डेश्वर र वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा चलाउँदै प्रविधिमा फड्को मार्न टेण्डरसमेत आह्वान गरिसकेका छन् । वाल्मीकि विद्यापीठको वेदशालालाई कसरी चलाउन सकिन्छ भनेर छलफल चलाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले विश्वमै संस्कृतको महत्वबोध हुन थालेको बताउनुभयो । मान्छेको फाटेको मनलाई शान्ति, उदारता, विश्वबन्धुत्वलाई टाल्न सक्ने उहाँले बताउनुभयो । प्रतिष्ठानले पूर्वीय दर्शनको नेपाली भूमिमा रचना भएका ग्रन्थको इतिहास समेटेर नेपाली दर्शन प्रकाशन गर्न लागेको सदस्य सचिव उपाध्यायले सुनाउनुभयो ।
संस्कृत वाङ्मय नेपालको पहिचान, यो नभई संस्कृति बच्दैन, राष्ट्रियता नबच्ने भएकाले यसको उन्नयनमा राज्यको ध्यान जानुपर्ने उहाँको माग छ । नेपाल प्राध्यापक सङ्घ विश्वविद्यालय समितिका अध्यक्ष शम्भुराज गौतमले लामो समयदेखि रोकिएको विश्वविद्यालयका वृत्ति विकासको विज्ञापन छिटो गर्न माग गर्नुभयो । २० वर्ष सेवा गर्दासमेत सहप्राध्यापकसमेत हुन नसकेको नाम सेवा आयोगमा लैजानुपर्ने सङ्घको माग छ ।
प्राध्यापक सङ्घ विद्यापीठ एकाईका अध्यक्ष ध्रुवप्रसाद ज्ञवालीले विद्यापीठ वर्तमानमा अव्यवस्थित भएकाले व्यवस्थित बनाउन माग गर्नुभयो । धेरै वर्षदेखि वृत्ति विकासका काम हुन नसकेको, सेवा आयोग गठन भएकाले अब त्यसको काम पनि शुरु गर्नुपर्ने सङ्घको माग छ । प्रगतिशील प्राध्यापक सङ्घका अध्यक्ष गोविन्द पौडेलले पनि वृत्ति विकासका कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष डा देवमणि भट्टराई, सह प्रा शान्तिकृष्ण अधिकारीलगायतले राजनीतिक स्वार्थभन्दा माथि उठेर शैक्षिक उन्नयनमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ विद्यापीठ एकाईका अध्यक्ष चोलेन्द्र रिजाल, अनेरास्ववियु क्रान्तिकारीका एकाई अध्यक्ष सन्तोष आचार्य, अनेरास्ववियु वाल्मीकिका अध्यक्ष लोककृष्ण दाहाललगायतले पठन पाठनको समयमा परिवर्तन गरिनुपर्ने, विश्वभरका विश्वविद्यालयसँग प्रतिष्पर्धी बनाउन थुप्रै काम गरिनुपर्नेमा जोड दिनुभयो ।
कर्मचारी प्रतिनिधि वसन्ती जोशीले पुस्तकालय जीर्ण रहेको, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थीले खोप लगाउन नपाएको, लामो समयदेखि कर्मचारीको वृत्ति विकासका लागि विज्ञापन नभएकाले छिटो गर्न विश्वविद्यालयको नेतृत्वसँग माग गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ डा देवी नेपाल, कवि ठाकुर शर्मा, सुदेश सत्याल, रामप्रसाद ज्ञवाली, रत्नावली शर्मा, प्रभा भट्टराई, उषा आचार्य, प्रियम्वदा आचार्य काफ्ले, मोहनप्रसाद तिमल्सिना, जीवन अधिकारी, वसन्त ढकाल, उत्तम पौडेल, हिमालय भट्टराई, डा माधवप्रसाद पाण्डेय, डा माधवप्रसाद लामिछानेलगायतले रचना पाठ गर्नुभएको थियो ।
विसं २००९ मा राजकीय संस्कृत महाविद्यालयका नामबाट शुरु भएको विद्यापीठ शुरुवात् भएको थियो । २०३० सालमा वाल्मीकि विद्यापीठ नामकरण भएपछि हालसम्म यही नामबाट सञ्चालनमा रहेको विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकालले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका