जोडिनुहोस
  • होमपेज
  • चितवनमा खोपको क्रेज: अघिल्लोपटक खोप लाए मरिन्छ भन्नेहरु पनि लाइनमा देखिए

चितवनमा खोपको क्रेज: अघिल्लोपटक खोप लाए मरिन्छ भन्नेहरु पनि लाइनमा देखिए

मधुसूदन दवाडी

चितवन, जेठ २७-

चितवनमा कोरोना विरुद्धको खोपको माग अत्यधिक बढेको छ । आज जनस्वास्थ्य कार्यालयपरिसरमा देखिएको चीनको भेरोसिल खोप पहिलो डोज लगाउने मानिसहरुको भीडले पनि त्यही कुरालाई संकेत गर्छ ।

चितवनका ७९ खोप केन्द्रमा मंगलबार र बुधबार ६२ देखि ६४ वर्षका वृद्धवृद्धाले खोप लगाएका थिए । जसअन्तर्गत मंगलबार चितवनका खोप केन्द्रहरुमा तीन हजार ९४६ जना र बुधबार चार हजार ८४५ जना वृद्धवृद्धाले भेरोसिल खोपको पहिलो डोज लगाए । आज भरतपुरको जनस्वास्थ्य कार्यालयपरिसरसहित चितवनका सातवटै पालिकाको सात खोप केन्द्रमा स्वास्थ्यकर्मी, पत्रकार र वृद्धवृद्धाले खोप लगाइरहेका छन् । अघिल्लो पटक कोभिड सिल्ड खोप लगाउन बोलाउँदा पनि नआउने धेरै जना स्वास्थ्यकर्मी र पत्रकारहरु यसपटक खोप चाहियो भन्दै हतारिएर खोप केन्द्रमा आएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मानिसहरुमा कोरोनाको दोस्रो लहरले थप त्रास बढाएकोले पनि खोपप्रतिको विश्वास बढ्न गएको स्वास्थ्य कार्यालयको निष्कर्ष छ ।

पत्रकार महासंघ चितवनमा आवद्ध पत्रकारहरुलाई यसअघि नै कोभिड सिल्ड खोपको दुवै डोज दिएको भए पनि धेरै जनाले खोप ट्रायल हो वा मरिन्छ कि भनेर डराएर लगाएका थिएनन् । अहिले भने छुटेका १४० जना पत्रकारहरुलाई भेरोसिल खोपको पहिलो डोज लगाइँदै छ ।

पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले भरतपुर महानगरका १०० जना र अन्य स्थानीय तहको ४० जना गरी १४० जना पत्रकारहरुले यसपटक खोप लगाउनको लागि स्वास्थ्य कार्यालयमा नामाबली पठाइएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ अघिल्लो पटक खोप ट्रायल हो भनेर वास्ता नगर्ने पत्रकारहरु पनि यसपटक खोप लगाउन गएका छन् । पत्रकार महासंघ वाग्मती प्रदेश कमिटीको समन्वयमा स्वास्थ्य मन्त्रालयले परिपत्र गरेपछि पत्रकारहरुले खोप लगाउने अवसर पाएका हुन् । पत्रकार महासंघ चितवनले खोप लगाउन छुट्नेहरुका नामलिस्ट तयार गरेर स्वास्थ्य कार्यालयमा पठाएपछि खोप लगाउन निकै सहज भएको छ ।’ उनले पत्रकार महासंघको सदस्य नभएकाहरुले पनि सञ्चार गृहको कार्ड देखाएर खोप लगाउन गएको जानकारी दिए ।

आज मात्र भेरोसिल खोपको पहिलो डोज लगाएकी नारायणी अनलाइनकी पत्रकार मनिका विश्वकर्माले खोपप्रतिको विश्वास बढेकोले खोप लगाउन गएको बताइन् । उनले भनिन्, ‘अघिल्लो पटक खोप लगाएर काम गर्छ कि गर्देन भन्ने आशंका रहेकोले खोप लगाउन गइन तर अहिले भने खोप लगाउनुपर्छ भन्ने विश्वास बढेकोले खोप लगाए । सबै साथीहरुले पनि खोप लगाउनुपर्छ भनेर गाली गरे ।’

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले नागरिकमा खोपप्रतिको महत्व र विश्वास बढेकोले पनि खोप केन्द्रहरुमा भीडभाड बढेको बताइन् । उनले भनिन्, ‘ अघिल्लो पटक धेरै मानिस नआएर धेरै दिनसम्म खोप लगाइएको थियो । खोप लगाउन अनुरोध गर्दा पनि कतिले खोप लगाएनन् । तर, अहिले सबैले खोप चाहियो भनेर हतार गर्दै छन् । उनले कोरोनाको खोप लगाएर अन्य स्वास्थ्य समस्या नभएकाहरु कोरोना संक्रमणबाट गम्भीर बिरामी वा निधन नभएको बताइन् ।

तस्विर: पत्रकार कोमलचन्द्र भगत

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका