aroma
जोडिनुहोस
  • होमपेज
  • भरतपुर महानगरका प्रवक्ता र सेवाग्राही युवतीबीच कार्यालयभित्रै हात हालाहाल (भिडियोसहित)

भरतपुर महानगरका प्रवक्ता र सेवाग्राही युवतीबीच कार्यालयभित्रै हात हालाहाल (भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, जेठ २६
भरतपुर महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा बुधबार अर्कै दृश्य देखियो । वडाध्यक्ष तथा भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारी र सेवाग्राही एक युवतीबीच जुहारी चल्यो । एकले अर्कालाई धकेलाधकेल तथा हात हालाहालको अवस्था पनि सृजना भयो ।

यो दृश्य देख्नु अघि सेवाग्राही उक्त युवतीले मिडियालाई सूचना दिएर बोलाएकी थिइन् । वडाध्यक्षले जथाभावी बोलेका र आफूहरुलाई चोरको सन्तान भन्दै हप्काएर सिफारिस नदिइएको युवतीले बताएकी थिइन् । र हामी मिडिया त्यहाँ पुग्यौं ।

हामी पुग्दा ती युवती र उनका बालाई प्रहरीले समातेर प्रहारी कार्यालय लैजान खोज्दै थिए । तर युवती मानिनन् । यति बेला वडा कार्यालय भित्रबाट बन्द गरिएको थियो । पछि बुझ्दा थाहा भयो भित्र युवतीका भाइहरु र वडाध्यक्षबीच विवाद भइरहेको रहेछ । र भित्रबाट प्रहरीले युवतीलाई बाहिर निकालेर प्रहरी कार्यालय लान खोजेका रहेछन् ।

युवतीलाई प्रहरीले लैजान खोजे पनि उनी जवरजस्ती पुनः भित्र पसिन् र हामीलाई पनि लगिन् । भित्र निकै भिडभाड देखिन्थ्यो र चर्काचर्की भइरहेको थियो । भित्र ५/७ जना प्रहरी अधिकारीहरु पनि थिए । हामीभित्र छिरेपछि वडा अध्यक्षले ‘तपाईंहरु बाहिर जानुस्,’ भने । ती सेवाग्राही युवती र उनका साथमा रहेका भाइहरु र बुवाले हामीलाई नजान आग्रह गरे र हामी जान मानेनौं । तर प्रहरी अधिकारीहरुले वडाध्यक्षको कार्यालयबाट हामीलाई जबरजस्ती बाहिर निकाले र भित्रबाट ढोका लगाए ।

त्यतिबेलासम्म पनि हामीले यथार्थता बुझ्न पाएका थिएनौं । भित्र ठूलै आवाजमा विवाद भइरहेको थियो । एकछिनमा हामीले जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) ओम अधिकारीलाई साधेर हामी भित्र छिर्न किन नपाउने भन्यौं । उनले वडाध्यक्षको आग्रह बमोजिम सबै गरिएको बताउँदै ‘तपाईंहरुसँग वडाभित्र छिर्ने अनुमति छ ?’ भनेर सोधे । एक्कासी भएको घटनाको रिर्पाेटका लागि पत्रकारले कहाँबाट के अनुमति ल्याउनु पर्ने हो ? एसपीको कुरा हामीले बुझन सकेनौैं । यस विषयमा थप बहस नगरी फोन राख्यौं ।  हामीले वडाध्यक्षलाई फोन ग¥यौं । फोन उठ्ने बित्तिकै म मिटिङमा छु भनेर राखियो । फेरि हामी पछाडिको झ्यालमा पुगेर वडाध्यक्षलाई सोध्यौं, ‘अरुण सर हामीभित्र आउन नहुने हो ?’ उनले भने, ‘प्रहरीहरुलाई सोध्नुस् ।’ त्यसपछि झ्यालको सबै पर्दा लगाइयो । र हामीलाई प्रहरी अधिकारीहरुले झ्यालमा पनि नबस्न आग्रह गरे ।

यतिबेलासम्म वडाकार्यालयको मुल ढोका पनि भित्रबाट बन्द गरिएको थियो । एकले अर्काेलाई भन्नुस भन्दै मिडियालाई बाहिर राखियो । बाहिर अन्य सेवाग्राहीहरु अलपत्र परेका थिए । वडा कार्यालय भित्रबाट बन्द भएको देख्दा उनीहरु जिल्ल थिए ।

हामीले सेवाग्राही युवतीलाई पनि फोन ग¥यौं । उनले भनिन्, ‘तपाईंहरु सकभरभित्र आइदिनुस्, नत्र बाहिर कुरेर बस्दिनुस्, म आएर सबै भन्छु ।’ हामी उनको आग्रहअनुसार केहीबेर बाहिरै बस्यौं । फेरि एक जना वडाकार्यालयको कर्मचारी छिरेको बेला हामी उनीसँगै मुल ढोका र त्यसपछि वडाध्यक्षको ढोकाबाट पनि छि¥यौं । तर प्रहरी अधिकारीहरुले हामीलाई क्यामेरा झोलामा राख्न लगाएर बस्न दिए । युवतीले आफ्नो काम गरिदन आग्रह गरिरहेकी थिइन् भने वडाध्यक्षले गर्दिन् भनिरहेका थिए । विभिन्न कुरामा विवाद चर्किरहेको थियो । दुबैपक्ष तँत र म गर्दै विवाद गरिरहेका थिए । हामी छिरेको केही मिनेटमै वडाध्यक्ष बाहिरिन खोजे । तर युवतीले रोक्न खोजिन् । त्यतिबेला वडाध्यक्ष र युवतीबीच धकेलाधकेल र हातहालाहालको स्थिति सिर्जना भयो ।  प्रहरीहरु रमिते बनेर बसिरहेका थिए ।

त्यहीबेला हामीले क्यामेरा अन ग¥यौं । धकेलाधकेल हुँदै गरेको चारपाँच सेकण्डको भिडियो खिच्न नपाउँदै हामीलाई प्रहरीले अध्यक्षको कार्यालयबाट धकेलेर बाहिर निकाले । र ढोका लगाए । र हामीलाई कार्यालयकै बाहिर निकालियो र मुल ढोका नै बन्द गरियो । त्यसपछि करिव एक घण्टासम्म हामी बाहिर बस्यौं । भित्र होहल्ला भइरहेको थियो । यस्तो अचम्मको दृश्य वडा कार्यालयमा भइरहँदा हामी कुरेर बस्न बाध्य भयौं ।

एक घण्टापछि बाहिर निस्किएका वडाध्यक्षसँग हामीले कुुरा बुझ्न खोज्दा उनले ‘नो टाइम’ भन्दै केही नबोली कार चढेर हुँइकिए ।

हामीले युवतीसँग कुरा बुझ्यौं । वडाध्यक्षले माफी मागेका र मिडिया बोलाएपछि बल्ल आफ्नो काम गरिदिएको उनले बताइन् । ‘बिहानै म, बुवा र भाइहरु भएर एउटा सिफारिस लिन आएका थियौं, उनले भनिन्, ‘तर वडाध्यक्ष्यले तिमीहरु चोरको सन्तानको म काम गर्दिन भनेर रिसाउनुभयो । त्यसपछि निकै ठूलो विवाद भयो । र हामीले तपाईंहरुलाई बोलाएका हौं ।’

‘वडाध्यक्षले राजनितीक रिसिबीका कारण हाम्रो सिफारिस नबनाइदिनु भएको रहेछ । वडाध्यक्ष नातेदार पर्नुहुन्छ । तर चुनावको बेला हामी अर्कै उम्मेद्वारलाई जिताउनु पर्छ भनेर हिँड्यौं, उनले भनिन्, ‘वडाध्यक्षले त्यही रिसले काम नगरिदिनुभएको रहेछ । पछि हामीलाई भन्नुभयो र माफी मागेर काम गरिदिनुभयो । मिडियाहरु आएपछि बल्ल काम गर्न तयार हुनुभयो । मिडियामा कुरा जाने डर भएपछि हाम्रो काम भयो’ उनले भनिन् ।
वडा कार्यालयमा हामीसँग प्रतिक्रिया दिन नमानेका वडाध्यक्षलाई हामीले पछि फोन गर्दा पनि उनले उठाएनन् ।

उक्त घटना घटेपछि प्रेस चौतारी चितवन शाखाले आपत्ती जनाएको छ । उक्त समाचारको लागि तल क्लिक गर्नुहोस्, :

चितवन प्रहरी र भरतपुर महानगरका प्रवक्ताबाट पत्रकारमाथि भएको दुव्र्यवहारप्रति प्रेस चौतारीको गम्भीर ध्यानाकर्षण

दुई दिनपछि बल्ल वडाध्यक्षले प्रतिक्रिया दिए । हेर्नुहोस्, वडाध्यक्षको प्रतिक्रिया :

भरतपुर महानगरका प्रवक्ताले दुई दिनपछि दिए प्रतिक्रिया : भन्छन्, ‘मैले प्रशासनले नगर भनेको काम गरें’ (भिडियोसहित)

2 प्रतिक्रिया on “भरतपुर महानगरका प्रवक्ता र सेवाग्राही युवतीबीच कार्यालयभित्रै हात हालाहाल (भिडियोसहित)

  1. यस्ताे छ जनप्रतिनिधि काे चाला अनि साेझासिधा जनताले न्याए पाउला त ।

  2. भरतपुर महानगर पालीका १० नं वडाअध्यक्ष भण्ढारी जी धेरै पटक बिबादमा अाउनु भएकेाछ ,जनताकेा काम सहज,र छिटेा छरीतेा संग गरीदिन अाग्रह गर्दछु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?