जोडिनुहोस
  • होमपेज
  • सौराहका घरेलु हात्ती : वारी भोकै पारी निकुञ्जको घाँस कुहिँदै, निषेधाज्ञामा पाल्न नसक्दा भारत विस्थापित हुँदै

सौराहका घरेलु हात्ती : वारी भोकै पारी निकुञ्जको घाँस कुहिँदै, निषेधाज्ञामा पाल्न नसक्दा भारत विस्थापित हुँदै
तस्विर : बिनय आचार्य

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, जेठ २५
नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो चितवनको सौराह । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वारा सौराहमा वर्षेनी थुप्रै पर्यटक आउने गर्छन् । यद्यपी कोरोना महामारीका कारण भने पछिल्लो डेढ वर्षदेखि सौराहको पर्यटन व्यावसाय ओरालो लाग्दै गएको छ । तर आशा गरौं हाम्रो सौराहको पर्यटन पुनः फस्टाउने छ ।

घरेलु हात्ती बिनाको सौराह कस्तो होला ? देशविदेशमा प्रख्यात रहेको हात्ती महोत्सव के होला ? हात्ती चढेर राष्ट्रिय निकुञ्ज घुम्न चाहने पर्यटक सौराह आउलान ? हात्ती चढेर निकुञ्ज भित्र गइ अन्य जनावरको गणना कार्य कसरी गरिएला ? यी यावत प्रश्नहरु पढ्दा के लेख्या होला भन्ने लागेको हुन सक्छ । तर यो प्रश्नको कल्पना गर्न पर्ने अवस्था सृजना भएको हात्ती व्यवसायीहरुले बताएका छन् ।

अहिले नयाँ भेरियन्टसहित पुनः तीव्ररुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्न चितवनमा निषेधाज्ञा जारी छ । अन्र्तराष्ट्रिय उडान पनि बन्द छन् । जसले गर्दा सौराहको समग्र पर्यटन व्यवसाय ठप्प छ ।

जसले गर्दा घरेलु हात्तीको पालन पोषणमा समस्या परेको र हात्ती दोश्रो देशमा विस्थापित भइरहेकाले हात्ती अभाव हुने डर भएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । तिवारीका अनुसार पछिल्लो डेढवर्ष अघि सौराहमा ६५ वटा घरेलु हात्ती थिए । तर अहिले ५० वटामात्र छन् । युनाइटेड सहकारीसँग ३५ वटा र बाँकी केही स्थानीयको निजी र केही विदेशीको निजी रहेका छन् ।

व्यवसायीहरुले हात्ती पाल्न नसक्दा भारत विस्थापित गराउने गरेका छन् । भारत विस्थापित भएका हात्ती पछि आवश्यक परेमा सरकारले चाहेर पनि ल्याउन नसक्ने हुँदा यसलाई अहिले नै रोक्नुपर्ने तिवारी बताउँछन् । नेपालबाट अर्काेदेशमा किनबेच गर्न पाइँदैन । तर पनि विस्थापितका नाममा हात्तीहरु भारत लगिने गरिएको हो ।

हात्ती पाल्नका लागि मार्सिक ८० हजार देखि १ लाखसम्म खर्च भइरहेको तिवारीको भनाइ छ । अरु बेला हात्तीकै कारण चर्चा कमाउने र आम्दानी गर्ने सरकारले यस्तो बेला राहत दिनुपर्ने हात्ती व्यवसायीहरुको माग रहेको तिवारीले बताए ।

सरकारले चितवन राष्ट्रिय निकुञ्जमा सुकेगलेका घाँसहरु हात्तीलाई ल्याएर खुवाउन पाइने व्यवस्था मिलाइदिए पनि अहिलेको समस्या हल हुने उनको भनाइ छ । ‘निकुञ्जमा घाँसहरु कुहिएर गएका छन् । हामीले कुहिएको घाँस ल्याएर हात्तीलाई खुुवाउँछौ भन्दा पनि पाउँदैनौ, तिवारीले भने, ‘सँधै अन्न र घाँस किनेर खुवाउन सबै व्यवसायीले सकेनन । घाँस पाउन पनि गाह्रो छ । त्यसैले व्यवसायीहरु हात्ती विस्थापित गर्न बाध्य भएका छन् ।’

यस्तै अवस्था निरन्तर रही रहे र सरकारले हात्तीको विस्थापनलाई रोक्न पहल नगरे आगामी दिनमा सौराहमा हात्ती अभाव हुने तिवारी बताउँछन् । ‘यस्तो जनावरलाई अन्याय पर्दा सबैले सहयोगका लागि आवाज उठाउनु पर्छ । सहयोग गर्नुपर्छ’ उनी भन्छन् । हात्ती बिनाको सौराह कल्पना गर्न सकिन्न भन्दै तिवारीले व्यवसायीहरुलाई भारतमा हात्ती नबेच्न अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार :

पुनः सुनसान बनेको सौराह : विस्थापित हुँदै व्यवसायी, ५ हजारभन्दा बढीले रोजगारी गुमाए

  

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका